भोलि हरिबोधनी एकादशी, बुढानीलकण्ठमा मेला

707 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, १६ कात्तिक । काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा भोलिदेखि सुरु हुने हरिबोधनी एकादशी मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक बुढानीलकण्ठ क्षेत्र विकास समितिले जानकारी दिएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्षेत्र विकास समितिका अध्यक्ष जयराम थापाले मेलालाई व्यवस्थित् र भव्य रुपमा सफल बनाउन आफ्नो नेतृत्वमा १०१ सदस्यीय मूल सञ्चालन समिति गठन भएको र भोलिदेखि आगामी २० गते पूर्णिमासम्म चल्ने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।

थापाले आगामी तीन महिनाभित्र बुढानीलकण्ठ मन्दिर परिसरको धार्मिक र पर्यटकीय विकासका लागि गुरुयोजना बनाउन मेलाले सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।

हरिबोधीनी एकादशीको दिनब्रत बस्दा मनोकामना पुरा हुने धार्मिक मान्यता रहि आएको छ । मेलामा काठमाडौँ उपत्यकाबाहिरबाट पनि भक्तजन आउने समितिले जनाएको छ । समितिले मेलाका लागि मन्दिर परिसरमा सरसफाई तथा मेलाभर्न आउने भक्तजनको सुविधाकालागि स्वयंसेवक र शिविर सञ्चालन गर्ने बताएको छ ।