महेशदोभानमा रहेको अम्लेश्वर मन्दिरमा एकादशी मेला

910 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महेशदोभान– हरिबोधिनी एकादशीको अवसरमा पारेर धादिङ जिल्लाको बैरेनी गाविसको महेशदोभानमा रहेको अम्लेश्वर महादेव मन्दिरमा एकादशी मेला सम्पन्न भएको छ ।
बैरेनी गाविस वडा नं ९ महेशदोभानको त्रिशूली नदी किनारमा रहेको अम्लेश्वर महादेव मन्दिरको दर्शन तथा पूजाआजा गर्न दर्शनार्थीको ठूलो भीड लागेको स्थानीय देविवहादुर मल्लले जानकारी दिनु भयो ।
परिवार तथा आफन्तहरुको मृत्यु भएकाहरुले मृतकको सम्झनामा हरेक बर्षको हरिवोधिनी एकादशीको अघिल्लो राती यस मन्दिरमा रातभरी जाग्राम वसी वत्ती वाल्ने प्रचलन रहेको छ । यसरी बत्ती वाल्दा मृतात्माले शान्ति पाउने विश्वास रहि आएको छ । भगवान् विष्णुलाई पुज्ने दिनका रुपमा रहेको हरिबोधिनी एकादशीका दिन अम्लेश्वर महादेवको मन्दिरमा २ सय ५० वर्षअघिदेखि नै मेला लाग्दै आएको किंवदन्ती रहेको स्थानीय बुढापाकाहरुको भनाई छ ।

तत्कालीन राजा पृथ्वीनारायण शाह नेपाल एकिकरणका क्रममा यस ठाउंमा आई वास वसेको वेला सपनामा हातभरी सयौं औला भएका भगवानले शाहलाई आर्शिवाद दिएको र सो आर्शिवाद पुरा भएपछि पृथ्वीनारायण शाहले सोही ठाउंमा मन्दिर वनाएर छाडेको बताईन्छ । काठमाण्डौंको चारनारायण स्थान जान नसक्ने हरुले यस मन्दिरमा आएर पुजाआजा गर्ने गर्दछन ।
गोसाईकुण्डवाट बगेर आएको त्रिशूली नदीको किनारमा रहेका कारण मन्दिर क्षेत्रलाई पबित्र स्थलका रुपमा लिने गरिन्छ । हरिबोधिनी एकादशीको दिन पूजा गर्नाले मनोकांक्षा पूरा हुने र परिवारमा बिरामी नहुने धार्मिक विश्वास समेत रहेको छ । मन्दिरमा पुजाआजा पछि कतिपय भक्तजनले भाकल अनुसारको फुलको डोली समेत चढाउने गर्दछन ।

ठुलो एकादशी भनेर चिनिने हरिवोधिनी एकादशीका दिन ढिकी, जाँतो नचलाइने र चलाएमा भगवान् महादेवको अवमूल्यन हुने भएकाले कन्दमूल तथा फलफूल खाने चलन रहेको छ ।

अम्लेश्वर महादे मन्दिर क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गर्न स्थानीयवासी सक्रिय भएर लागि परेका छन ।