‘लेखक दुनियाँ’संग अशोक सिलवालको नयाँ पाइलो

731 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, २३ कात्तिक – आख्यानपुरुष ध्रुवचन्द्र गौतमसँगको अन्तरङ्ग समेटेर पत्रकार एवम् लेखक अशोक सिलवालले तयार गरेको कृति ‘लेखक दुनियाँ’ ऐतिहासिक साहित्यक दस्तावेज भएको टिप्पणी साहित्यकार, पत्रकार तथा राजनीतिज्ञले गर्नुभएको छ ।

घोस्ट राइटिङ नेपाल प्रालिद्वारा ‘लेखक दुनियाँ र अबको नेपाली लेखन’ विषयमा शनिबार यहाँ आयोजित अक्षर अन्तरक्रियामा उहाँहरुले सो कृतिले यसले स्थापित लेखनलाई अझ जीवन दिएको बताउँदै अन्तरङ्ग विधालाई स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राजनीतिकर्मी बलदीपप्रभाश्वर चाम्लिङ पत्रकार श्याम रिमाल, ठाकुर बेल्बासे, व्याकुल पाठक, अच्युत कोइराला, श्रीधर न्यौपाने, नवराज अधिकारी र असिम खनालले नेपाली साहित्य लेखनको अन्तरङ्ग नयाँ विधा र सम्भावना भएको बताउँदै नेपालका प्रतिष्ठित व्यक्तित्वसँगको अन्तरङ्गसम्बन्धी कृति बर्सेनि आउनुपर्ने विचार राख्नुभयो ।

पत्रकार शेखर खरेलले बिपीसँग भोला चटर्जी, तथा विभिन्न साहित्यकारसँग शङ्कर लामिछानेले गरेको कुराकानी तथा भारतीय चलचित्र निर्माता गुल्जारसँग गरिएको वातचित कृतिका रुपमा आइसकेको बताउँदै लेखक दुनियाँले साहित्यकार गौतमका बारेमा धेरै सूचना दिएको र दुवै लेखक इमानदार रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा सहजीकरण गर्दै पत्रकार तथा साहित्यकार स्वागत नेपालले प्रस्तुत कृति नेपाली साहित्यको नयाँ विधा हो कि होइन भन्नेबारे बहस चलाउनुपर्ने विचार राख्नुभयो । लेखक सिलवालले अबको साहित्य यथार्थमा पसेर समयलाई सम्बोधन गरेर लेख्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशनका तर्फबाट घोस्ट राइटिङका प्रतिनिधि कमल ढकालले नयाँ विधा भए पनि आफूले जोखिम लिएर कृति प्रकाशन गरेको र यसको दोस्रो संस्करण छिट्टै बजारमा आउने जानकारी दिनुभयो ।