‘सशस्त्र प्रहरी महानिरीक्षक प्रथम रनिङ ट्रफी प्रतियोगिता सुरु

694 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, -सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा पहिलोपटक ‘सशस्त्र प्रहरी महानिरीक्षक प्रथम रनिङ ट्रफी–२०७१’ सञ्चालन भएको छ ।

सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा सञ्चालित सो प्रतियोगिताको आज सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राईले प्रतियोगिताबारे जानकारी गराउनुभएको थियो ।

यही कात्तिक २८ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, कराते र तेक्वान्दोका खेलहरू समावेश छन् ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल प्रधान कार्यालयसहित, महानगरीय सशस्त्र प्रहरी कार्यालय, बराह बाहिनी, रुद्र बाहिनी, मुक्तिनाथ बाहिनी, महेश्वरी बाहिनी र वैद्यनाथ बाहिनी गरी सात टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा एथलेटिक्सतर्फ महिला ८०० मिटर दौडमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सानुका थापा प्रथम, तारादेवी नेपाली द्वितीय र महानगरीय सशस्त्र प्रहरी कार्यालयका रञ्जना राई तृतीय भएका छन् ।

यसैगरी पुरुष ८०० मिटरतर्फ वैद्यनाथ बाहिनीका डम्मरसिंह साउद प्रथम, मुक्तिनाथ बाहिनी पोखराका किरणसिंह बोगटी द्वितीय तथा सशस्त्र प्रहरी बल प्रधान कार्यालयका राजिन श्रेष्ठ तृतीय स्थान हासिल गरेका छन् ।