रावणकी श्रीमती शेरचनकी छोरी हुन्

1002 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Lok Krishna bhattrai

लोककृष्ण भट्टराई
नेपाली सभ्यता र संस्कृतिका अध्येता

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालसँग निकट रहेर विगतमा राजनीति गरेका लोककृष्ण भट्टराई यतिवेला नेपाली सभ्यता र संस्कृतिको अनुसन्धानरत छन् । कुनै वेला माक्र्स, एंगेल्स र लेनिनलाई सर्वोपरि आदर्श ठान्दै आएका भट्टराईका लागि अब नेपाली माटोका उपजहरू भगवान् शिव, बुद्ध, राजा जनक, वेदव्यास, वाल्मीकि, भृगु, गार्गी ऋषि आदर्शका रूपमा उभिएका छन् । पूर्वीय दर्शनका ‘नेपाली’ प्रणेताहरूका अगाडि पश्चिमा वैज्ञानिक, दार्शनिक, संस्कृतिविद्हरूको कद होचो रहेको उनको निष्कर्ष छ । नेपाललाई विश्व सभ्यताको पहिलो मुलुकका रूपमा चिनाउने गरी अहिले उनी पुस्तक लेखिरहेका छन् । भट्टराईले नेपाली सभ्यताको ओज र महत्त्वका विषयमा यसरी नयाँ पत्रिकासँग बेलिविस्तार लगाए :

यतिवेला हामी (राजनीतिज्ञ, बुद्धिजीवी, पत्रकार) पश्चिमा सभ्यताको पछि दगुरिरहेका छौँ । यो क्रम नरोकिने हो भने नेपालको सार्वभौमसत्ता जोखिममा पर्ने निश्चितप्राय: छ । पश्चिमाहरूले म्याग्नाकार्टा (पहिलो लिखित संविधान) जारी गरेपछि औद्योगिक क्रान्ति गरे र विश्वमा आफ्नो सभ्यता प्रचार गरे । त्यसकै प्रभावअनुसार नेपालमा पनि प्लेटो, अरिस्टोटल, जिनज्याक रुसो माक्र्स, मोन्टेस्क्यु, माक्र्सलगायतको चर्चा भइरहेको छ । उनीहरूभन्दा हजारौँ वर्षअगाडिका पूर्वजको हामीले खोजबिन गर्नुपर्ने भएको छ । किनभने हाम्रा पूर्वजले नै सभ्यता, संस्कृति र प्रजातन्त्रको पहिलो जग बसालेका थिए ।

संसारको पहिलो सभ्यता नेपाली सभ्यता हो । यसको बलियो आधार के हो भने संसारमा सबैभन्दा बढी हिमाल भएको देश नेपाल हो । पानी हिमालबाट आउँछ । पानीकै कारण जीवजन्तु, वनस्पतिको अस्तित्व र विस्तार सम्भव भएको हो । मानवसभ्यता आजभन्दा लाखौँ वर्ष पहिले सुरु भएको हो । मान्छे जंगलीयुगबाट खेतीको युगमा प्रवेश गर्ने वेला चेतनशील व्यक्तिका रूपमा उदाएका थिए शिव जसलाई हामी भगवान्का रूपमा पूजा गर्छौं । जंगलीयुगबाट मानवीय युगमा मानिसलाई ल्याउने काम शिवले गरेका हुन् । उनी खेतीको युगका सुरुवातकर्ता मानिन्छन् । उनी हिमालय पर्वतमा थिए । दोलखादेखि मानसरोवर सिगात्सेसम्म उनी थिए । सिगात्सेदेखि यमुना नदीसम्म नेपाली सभ्यताले नेतृत्व गरेको थियो । युद्धमा हामीले हारेपछि सिगात्से चीनतिर गएको हो । मानवसभ्यताको भ्रुण नै नेपाली सभ्यताबाट आएको हो । नेपालका पहाड, हिमालबाट आएको हो ।

नेपाली सभ्यताले कुनैवेला समग्र भारतवर्षलाई नै शासन गरेको पाइन्छ । त्यो वेला बेग्लै देश अस्तित्वमा थिएन, केवल सभ्यताले शासन गथ्र्यो ।

इजिप्ट र ग्रिसले आफूलाई पुरानो सभ्यताको दाबी गरिरहेका छन् । हामी पनि कुरै नबुझी उनीहरूको पछि लागिरहेका छौँ । तर, इतिहासले यसलाई खण्डन गर्छ । इरान र टर्कीमा शिवका पुराना मूर्ति भेटिएको समाचार आएका छन् । हखामोनी भन्ने इरानी राजाले मुस्लिम धर्म ग्रहण गरेका थिए । त्यसअघि उनी पनि सनातन धर्मका अनुयायी थिए । आर्यनहरू ककेसियाबाट आएको भन्ने यथार्थ हुँदै होइन । इतिहासले भन्छ कि नेपालबाट हिँडेर ३२ दिनमा ककेसस पुगिन्छ । आर्यहरू तिब्बतको सिल्करोड हुँदै ककेसिया गएका हुन्, उताबाट आएका होइनन् । पटनाबाट काठमाडौं आउन र काठमाडौंबाट ककेसिया पुग्न बराबरी समय लाग्दोरहेछ । ककेसियामा शिवको मूर्ति हामीले भेटाएका होइनौँ, जर्जियनहरूले भेटाएका हुन् ।

शिवगीतामा जनताको अधिकार र प्रजातन्त्रको चर्चा छ । गौतम ऋषिले शिवको व्याख्या गरेका थिए । इन्द्रले जब जनतामाथि दमन गर्न थाले, शिव आफैँ विद्रोही भएर इन्द्रलाई पदच्यूत गरेको इतिहास छ । त्यतिवेला विष्णुको प्रस्तावमा शिवले नउसलाई स्वर्गको राजा बनाए । तर, नउस पनि लम्पट हुन थालेपछि शिवले त्यसविरुद्ध भूमिगत संगठन बनाएको पाइन्छ । शिवले उत्पादनका नियम राखेका रहेछन् । उत्पादन नगर्ने मान्छेले खान पाउँदैन भन्ने शिवको शिक्षण अहिले पनि मननीय छ, आत्मसात् गर्नयोग्य छ । अहिलेको राजनीतिको आरम्भ त्यतिवेलै भएको थियो भन्ने यसले पुष्टि गर्छ । त्यसकारण आधुनिक माक्र्सवाद कुनै नयाँ विषय होइन ।

हरेक ग्रहले सूर्यको परिक्रमा गर्छन् भन्ने कुरा शिवगीतामै उल्लेख छ । पृथ्वी गोलो छ भन्ने कुरा शिवले उहिल्यै भनेका रहेछन् । वैज्ञानिक ग्यालिलियो ग्यालिलीले धेरैपछि यो कुरा भनेका छन् । तर, हामी ग्यालिलियोको पछि दगुरिरहेका छौँ । वास्तवमा जिसस क्राइस्ट र पैगम्बर मोहम्मद शिवका अनुयायी रहेको पाइन्छ । क्राइस्ट अफगानिस्तानको बाटो हुँदै बनारस आएर विश्वनाथ मन्दिर दर्शन गरेको र कपिलवस्तुमा बुद्धको आमा मायादेवीको मूर्ति दर्शन गरेर मुस्ताङ हुँदै तिब्बत गएको पाइन्छ । पैगम्बर मोहम्मद गुरुकुलका शिक्षक थिए । उनले सबैभन्दा पहिला मुस्लिम धर्मको सुरुवात अहिले चीनको उइगुर क्षेत्रमा सुरु गरेका थिए । उनी पनि बनारसमा विश्वनाथ मन्दिरको दर्शन गरेर नेपाल आए अनि यहाँबाट तिब्बत हुँदै उइगुर क्षेत्रमा गएका थिए ।

आधुनिक राजनीतिशास्त्र, समतामूलक अर्थशास्त्रको कुरा गरिरहँदा वेदव्यासले लेखेको महान्ग्रन्थ वेदको चर्चा पहिलो नम्बरमा गर्नुपर्छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वको पहिलो सभ्यता कन्फ्युसियस सभ्यता हो भनिदिए । यो सत्य होइन । बरु उनलाई हामीले किन नभन्ने कि तिमी नेपालका नाति/पनाति हौ । चीनमा नेपाली कलाकार अरनिकोका आठ श्रीमती, २१ छोरा, २८ छोरी थिए । यसैबाट उनलाई किन नाता नलाउने ? चिनियाँहरू कन्फ्युसिएसलाई मान्छन्, तर अधिकांश बौद्धमार्गी छन् । नेपालीको छोरालाई उनीहरू भगवान् मान्छन् भने उनीहरू नेपाली सभ्यताका अनुयायी हुन् । कन्फ्युसियस जन्मेको करिब १६ सय वर्ष भयो, बुद्ध जन्मेको २६ सय वर्ष भइसकेको छ ।

वेदव्यासले लेखेको वेद विश्वको सबैभन्दा पुरानो ग्रन्थ हो । अहिले पश्चिमा अर्थशास्त्री, राजनीतिशास्त्रीले वेदको अनुसरण गरेका छन् । वेदमा साम्यवाद, गणतन्त्र र जातपातको विरोध छ । तर, बाइबल, कुरान लेखिएको धेरै भएको छैन । वेदव्यास नेपाली मझिनीपुत्र हुन् । राजा परासर पनि माझी नै थिए । राजा विराट पनि माझी नै थिए । त्यतिवेला जातभात थिएन, केवल मान्छे थिए ।

खोजबिन गर्दै जाँदा रावणसँग पनि नेपाली साइनो भेटिन्छ । रावणकी श्रीमती हाम्रो मुस्ताङतिरकी शेरचनकी छोरी हुन् । उनी मन्दोदरी हुन् । रावण मानसरोवरमा शिवलाई भेट्न जाने बाटो मुक्ति क्षेत्रको थियो । भगवान् विष्णु मुक्तिक्षेत्रमा बसेका थिए । त्यहाँ आउँदा मन्दोदरी सबैभन्दा राम्री देखे । शिवले लंकाको राज्य गर्न यतैबाट पठाएको भन्नेसम्मका चर्चा हुन थालेका छन् । यसको खोजबिन जारी छ । बुटवलमा लाखौँ वर्ष पहिलेका मानवकंकाल, हतियार, इँटा भेटिएका छन् ।

संसारको पहिलो लोकतन्त्र नेपाल हो । जनकपुर र कपिलवस्तु लोकतन्त्र संसारका सबैभन्दा पुराना हुन् । जनक एउटा पदवी हो उनी गणपति थिए, तर राजाका रूपमा चिनिए । उहिल्यै हामीकहाँ गणतान्त्रिक व्यवस्था थियो भन्ने उदाहरण जनकपुर र कपिलवस्तु काफी छन् । जनकपुरको मिथिला त्रेतायुगको हो । जनक आफैँ हलो जोत्थे । उनको संसद्का प्रमुख थिए यज्ञवल्क्य ऋषि ।

यज्ञवल्क्य भौतिकवादको पहिलो व्याख्याता थिए । जनकपुरका यज्ञवल्क्यले नै व्यासले लेखेको वेदको व्याख्या गरेका थिए । गार्गी उपसभामुख थिइन् । उनी विज्ञानका व्याख्याता थिइन् । भृगु पनि नेपाली धर्तीका सन्तान थिए । वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका छन् कि विदाउट भृगु, देयर उड नट बी साइन्स एन्ड म्याथम्याटिक्स इन दी वल्र्ड (भृगु थिएनन् भने यो संसारमा विज्ञान र गणित हुने थिएन ।) भृगुले गोसाइँकुण्डमा तपस्या गरेर सिद्धि प्राप्त गरेको विश्वास गरिन्छ । युद्धविज्ञानका प्रणेता विश्वामित्र ऋषि बराहक्षेत्रका थिए । वाल्मीकि नवलपरासीका हुन् । रामले पाल्पा नवलपरासी क्षेत्रमा वनवास बसेको पत्ता लागेको छ । वास्तवमा अयोध्या त्यहाँबाट टाढा छैन । त्यो वेला जनकपुर तुलनात्मक रूपमा ठूलो राज्य तथा जनकको प्रतिष्ठा धेरै माथि रहेछ ।

नेपाल तीनपटक टुक्रियो, तीनपटक एकीकरण भएको इतिहास छ । नेपालीले तीनजना राजालाई सधँै सम्झिनुपर्छ । पहिलो यलम्बर नेपालको पहिलो एकीकरणकर्ता थिए जसले बागमतीको किनारमा पशुपति मन्दिर निर्माण गरे । वैदिकयुगमा विभाजित नेपालको एकीकरण उनले गरेका थिए ।

दोस्रो, अंशुवर्मा जो एसियाभरिकै असल र विद्वान् शासकका रूपमा परिचित थिए । चिनियाँहरूले धेरै ठाउँमा उनको व्याख्या गरेका छन् । त्यो वेलाको नेपाली वैभवमा उनको ठूलो देन थियो । तेस्रो, पृथ्वीनारायण शाह । जसले आधुनिक नेपालको एकीकरण गरे ।

पृथ्वीनारायण शाहले देशको एकीकरण अभियान आरम्भ गरेपछि सभ्यताको रक्षार्थ भीनसेन थापा, अमरसिंह थापा, बलभद्र कुँवर, बहादुर शाहहरूले ठूलो योगदान दिएका हुन् । कोतपर्वबाट राणाहरू नेपालमा शासनमा आएपछि र शाह परिवारका मान्छेलाई अंग्रेजले किनेर बहादुर शाहलाई थुनेपछि नेपाली सभ्यता कमजोर भयो । बेलायतीको व्यापारिक लाइनमा शासक कमजोर भएपछि नेपाल कमजोर भएको हो । यो यथार्थलाई कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले उत्खनन् गर्न खोजेका हुन् ।

अहिले हाम्रा नेता पश्चिमा लोकतन्त्रलाई समातिरहेका छन् । तर, उनीहरू आफ्नो सभ्यतालाई अध्ययन गर्न चाहेका छैनन् । कपिलवस्तु र जनकपुर डेमोक्रेसी, लिच्छवि डेमोक्रेसी र यलम्बरको इतिहास नेपाली नेताले पढ्नुपर्दैन ? माक्र्सले भौतिकवादको व्याख्या गरेका हुन् । तर, यो बिर्सनु हुँदैन कि माक्र्सले वेदबाट पाठ सिकेका हुन् । किनभने माक्र्सले गरेको व्याख्या वैदिककालमै भएको थियो । तर, माक्र्स पनि सम्मानित हुन् । वास्तवमा हामीले बुद्ध र शिवको फोटो बेचेर खर्बौं रकम आर्जन गर्नसक्छौँ ।

नेपालमा भएका सबै जातिजनजाति, मधेसी, दलित ओमकार परिवारभित्रका हुन् । शिव किरातका थिए, पार्वती क्षेत्रीयका छोरी । त्यो वेला जातभात थिएन । सबै एक । यो यथार्थ हामीले किन स्वीकार नगर्ने ? नरेन्द्र मोदीले भनेको ऋषिमन हाम्रो सम्पत्ति हो । अब शिव सभ्यतालाई आत्मसात् गर्नैपर्छ । चाणक्यले नेपाल चौथो शताब्दीको औद्योगिक नगरी भनेका छन् त्यतिवेला नेपालमा मूर्तिकला, काष्ठकलाको प्रचुर विकास भएको पाइन्छ । अरनिको नेपाल र चीनका राष्ट्रिय विभूति । भृकुटी पनि नेपाली र चिनियाँ विभूति । नेपालको लिच्छविकाल युरोपभन्दा धेरै माथि थियो । त्यसकारण हामी सभ्यता, संस्कृति, दर्शन र साहित्यमा विश्वका सबैभन्दा पुराना हौँ ।