मूल्यसूची नटाँस्ने पसलेलाई कालोबजारीको मुद्दा

952 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गोरखा – राहदानी नागरिकता तथा अन्य सरकारी कामका लागि तस्विर खिच्न आउने सर्वसाधरण ठगिने क्रम बढ्दै गएपछि गोरखा जिल्ला प्रशासन कार्यालय वरपर राहदानी फारम भर्ने, फोटो खिच्ने र फोटोकपी गर्ने व्यवसायीले अब अनिवार्य मूल्यसूची टाँस्नुपर्ने भएको छ ।

व्यवसायीहरूले मनलाग्दी मूल्य लिँदा सेवाग्राही ठगिएको भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले आइतबारदेखि अनिवार्य सूची टाँस गर्नुपर्ने नियम लागू गरेको हो ।

व्यवसायीलाई भेला गराएर मूल्यसूची सबैले देख्ने ठाउँमा टाँस्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले जानकारी दिनुभयो ।

“रु एक सय ५० पर्ने फारमलाई व्यवसायीले रु ६०० सम्म लिएको भन्ने गुनासो बढ््यो”, स प्रजिअ पौडेलले भन्नुभयो, “फोटोकपी गरेकै एकप्रतिको रु १५ सम्म लिएको सेवाग्राही बताउँछन् ।”

प्रशासन नजिकै सेवाग्राही दिनहुँ ठगिएपछि मूल्यसूची टाँस्न निर्देशन दिएको पौडेलले बताउनुभयो । प्रशासन कार्यालय वरपर करिब एक दर्जनभन्दा बढी फोटो पसल छन् ।