नेपालमा जनसंख्याको बीस प्रतिशतमा मानसिक रोगी

826 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

frutastionबुटवल, ११ मङ्सिर । नेपालको कुल जनसङ्ख्याको करिब २० प्रतिशतमा कुनै न कुनै मानसिक रोगको समस्या रहेको मानसिक रोगका विज्ञहरूले बताएका छन् । यस्ता मानसिक रोगीमध्ये कडा समस्यामा झण्डै दुई प्रतिशत रहेको समेत विज्ञहरूले औँल्याएका छन् ।

बुद्ध जन्मस्थल लुम्बिनीमा विहीवारदेखि सुरु भएको आठौँ अन्तर्राष्ट्रिय सार्कस्तरीय मानोरोग चिकित्सक सम्मेलनमा मानसिक रोग विशेषज्ञ डा. कपिल उपाध्यायले नेपालमा मनोरोगको उपचार सर्वसाधारण जनताको पहुँचमा नरहेका कारण जनता यस रोगबाट प्रभावित भएको बताउनुभयो ।

उहाँका अनुसार नेपालमा ग्रामीण क्षेत्रका जनतामा उपचारको सहज पहुँच छैन सहरबजारका मानिसमा सामाजिक लान्छनाका डरले उपचारमा नआउने गरेकाले यसका बिरामी प्रभावित छन् ।

डा. उपाध्यायले मानसिक रोग मानिसलाई वंशाणुगत, मनोवैज्ञानिक र सामाजिक कारणले लाग्ने गरेको बताउँदै नेपालमा भने मनोवैज्ञानिक कारणले बढी यस्ता रोगी हुने गरेको बताउनुभयो ।

उहाँले नेपालमा गरिबी, हिंसा, द्वन्द्व, घरेलु हिंसा, व्यस्ततालगायत कारणले मनोवैज्ञानिक मानसिक रोगी बढ्दै गएको बताउँदै पछिल्लोपटक नेपालको दशबर्से द्वन्द्वको पीडा र वैदेशिक रोजगारीमा गएका परिवारमा यस्तो समस्या बढी देखिएको स्पष्ट पार्नुभयो ।

मनोचिकित्सक सङ्घ नेपालका महासचिव निर्मल लामिछानेले नेपालमा आत्महत्या गर्ने मानसिक रोगी अधिकांश डिप्रेसन, लागुऔषध तथा मादकपदार्थ प्रयोगकर्ता बढी भएको अध्ययनमा पाइएको बताउनुभयो ।

सार्क मनोचिकित्सा फेडरेसनका सचिव डा. रणोदीपरञ्जन घोस रायले मानिस जति सामाजिक बन्दै जान्छ त्यति नै मानसिक तनाब बढ्दै जाने बताउँदै यसका आधारमा मानसिक रोगीको सङ्ख्या पनि बढ्दै गएको बताउनुभयो ।

कार्यक्रममा भिक्षु विवेकानन्दले योग, ध्यान र शान्तिले तनाब कम हुने बताउँदै यसबाट मानसिक रोगीको सङ्ख्या पनि न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो ।

सम्मेलनमा सार्क राष्ट्रलगायत १२ देशका झण्डै ४०० मनोचिकित्सकहरुले सहभागिता रहेको नेपाल मनोचिकित्सक सङ्घका सहसचिव डा मनोज ढुङ्गानाले जानकारी दिनुभयो ।

सहभागीमध्ये नेपालका १५० र विदेशबाट २५० जनाको सहभागिता रहनेछ । सम्मेलनमा सार्क राष्ट्रबाहेकका अमेरिका, जापान, सिङ्गापुर, अस्ट्रेलिया, क्यानाडालगायतका राष्ट्रका प्रतिनिधि सहभागी छन् ।

‘मानसिक स्वास्थ्यका लागि शान्ति’ भन्ने नाराका साथ सुरु यस सम्मेलन तीन दिनससम्म चल्नेछ ।

विश्वमा मानसिक रोगको कारण समाजमा हुने विभिन्नखाले अशान्ति नै भएको विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनले देखाएकाले विश्व शान्तिको सहर, शान्तिका प्रवद्र्धक बुद्ध जन्मस्थल लुम्बिनीमा कार्यक्रम आयोजना गरेर शान्तिको सन्देश दिने प्रयास गरिएको मनोचिकित्सक सङ्घ नेपालका अध्यक्ष डा. नवराज कोइरालाले बताउनुभयो ।