सहकारीको साइन बोर्ड ६×३ फिट मात्र !

1175 पटक पढिएको

सम्पादक: Dhadingnews.com

ourकाठमाडौं । तपाईको सहकारीको साइन बोर्डको आकार कत्रो छ ? यदि ६×३ फिट भन्दा ठूलो छ भने त्यसलाई परिवर्तन गरिहाल्नुस् । नत्र कारबाहीमा पर्नु होलानी फेरी । त्यति मात्र कहाँ हो र, साइन बोर्डमा हरियो रङ्ले पोतेको पृष्ठभूमिमा सेता अक्षरले संस्थाको नाम, दर्ता नम्बर, दर्ता भएको कार्यालय मात्र लेख्नुपर्ने छ ।

त्यसमा पनि नेपालीमा मात्र । हो, यस्तै निर्देशन सहकारीका नियमक निकाय सहकारी विभागले दिएको छ । आइतबार देखि लागू हुने गरी १५ दिन भित्रमा सम्पूर्ण सहकारीले यो नियम पालना गर्नुपर्नेछ । नत्र भने सहकारी विभागले कारबाही गर्ने प्रतिवद्धता जनाएको छ ।

त्यस्तै नेपाल सरकारद्वारा अनुमतिप्राप्त भनेर पनि लेख्न पाउने छैनन् । यसैगरी सहकारीले संस्थाको नाममा बैंक, फाइनान्स, इन्भेष्टमेन्ट, डेभलपमेन्ट, वित्तीय संस्था वा कम्पनी जनाउने शब्द समेत राख्न पाउने छैनन् । यसअघि यस्तो शव्द राखेर दर्ता भएका सहकारीले पनि १५ दिन भित्र हटाउन समेत निर्देशन दिएको छ ।

आकर्षक र ठुलो साइन बोर्ड राखेर सर्वसाधारणलाई भ्रमित गराई ठगी गर्ने क्रम बढेको भन्दै विभागले यो कदम चालिएको विभागका रजिष्ट्रार केदार न्यौपानले बताउनु भयो । सदस्यलाई संस्था यहाँ छ भन्ने जानकारी दिन सानो बोर्ड राखे पुग्ने भएकाले अनावश्यक ठूला– ठूला बोर्ड आवश्यक नपर्ने उहाँले बताउनु भयो ।

सहकारी दर्ता तथा नियमन मापदण्ड–२०६८ मा सहकारीले दर्ता प्रमाणपत्रमा उल्लेख भएअनुसार साइनबोर्डमा संस्थाको नाम, दर्ता नम्बर, दर्ता मिति, भौगोलिक कार्यक्षेत्र र दर्ता भएको कार्यालयको नाम समेत खुलाई नेपाली भाषामा लेख्नुपर्ने व्यवस्था गरेको थियो तर कार्यान्वयन भने भएको छैन ।