खेल्दाखेल्दै ज्यान गुमाउनेहरू

578 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

Phillip-Hughessविपक्षी बलरले फालेको ‘बाउन्सर’ टाउकोमा बज्रिदा अस्ट्रेलियाली ब्याट्सम्यान फिलिप ह्युजको मृत्यु भयो । खेल्ने क्रममा चोट लागेर मृत्यु हुनुलाई एकदमै दु:खदायी घटनाको रूपमा लिइन्छ । इतिहासमा ह्युजको जस्तो नियति भोग्ने अरू पनि खेलाडी छन् । विदेशमा मात्रै होइन, नेपालमै पनि यस्ता दु:खदायी घटना भएका छन् नयाँ पत्रिका दैनिकले खबर लेखेको छ । ।

एड सान्डर्स
सन् १९५० ताका एड सान्डर्सलाई एक सामान्य बक्सरका रूपमा लिइन्थ्यो । १९५२ को ओलम्पिक गेम्समा उनले सनसनी मच्चाउँदै स्वर्णपदक जित्न सफल भए । ओलम्पिकमा प्राप्त स्वर्णपछि मात्र उनको नाम चर्चामा आयो । निरन्तर अभ्यासपछि सन् १९५४ मा उनले आफूलाई एक प्रोफेसनल बक्सरका रूपमा ढाल्ने कोसिस गरेका थिए । सोही वर्ष सान्डर्सले नौ महिनाभित्र आठ प्रोफेसनल बक्सिङ प्रतिस्पर्धा गरे । तर, १२ डिसेम्बर १९५४ मा विलिए जेम्सविरुद्धको भिडन्त उनको जीवनकै अन्तिम प्रतिस्पर्धाका रूपमा रह्यो ।

दशौं चरणसम्म सान्डर्सले जेम्सलाई चुनौती दिएका थिए । ११औँ चरणमा जेम्सको एक शक्तिशाली पन्च सान्डर्सको टाउकोमा पर्‍यो । त्यो पन्च यति कडा थियो कि सान्डर्स एकै छिनमै रिङमा लड्न पुगे । रेफ्रीले दश काउन्ट गर्दा पनि सान्डर्स उठेनन् । त्यसपछि उनलाई तत्कालै अस्पताल पुर्‍याइयो । तर, अस्पतालमा पुग्नुअगाडि बाटोमै सान्डर्सको मृत्यु भइसकेको थियो । जेम्सको अचुक मुक्का सान्डर्सको ब्रेनमै परेको थियो । चिकित्सकका अनुसार ब्रेनभित्र रगत जमेका कारण सान्डर्सको मृत्यु तत्कालै भएको थियो ।

डेल अर्नहार्ट
डेल अर्नहार्ट अमेरिकाका चर्चित रेस ड्राइभर हुन् । अमेरिकाको नास्कार डिभिजनमा उनले आफ्नो समयमा आधिपत्य जमाएका थिए । जीवनमा उनले ७६ कार रेस सिरिज जिते । सन् २००१ मा अर्नहार्टले डायटोना ५०० रेसिङमा सहभागिता जनाएका थिए । प्रतिस्पर्धाको अन्तिम ल्याप चलिरहेको थियो । कठिन मोडमा उनको कार अचानक नियन्त्रणभन्दा बाहिर गयो । अनियन्त्रित अर्नहार्टको कार १५० प्रतिघन्टाको स्पिडमा सीधै भित्तामा ठोक्कियो । त्यसवेला अर्नहार्टको कारसँगै अन्य ३६ वटा कार ठोक्किएका थिए । तीन दर्जन कारको ठक्करपछि उनको कार पूरै क्षतिग्रस्त भयो । ट्याकमा रहेका सबै कार हटाएर अर्नहार्टलाई बाहिर ल्याउने प्रयास गरियो । तर, कार स्टेरिङमा उनी रगताम्य अवस्थामा भेटिए । त्यसवेलासम्म उनले आफ्नो प्राण त्यागिसकेका थिए ।

रे च्यापम्यान
रे च्यापम्यान अमेरिकन मेजर लिग बेसबलका खेलाडी थिए । अमेरिकी बेसबल इतिहासमा चोटका कारण मृत्यु हुने उनी दोस्रो खेलाडी हुन् । सन् १९१२ मा उनी क्लेभेल्यान्ड नाप्ससँग अनुबन्धित भएका थिए । अहिले पनि च्यापम्यानलाई बेसबलकै सबैभन्दा राम्रो खेलाडी मानिन्छ । सन् १९२० मा खेल्दाखेल्दै मृत्यु हुनुअगाडिसम्म च्यापम्यानलाई अमेरिकन बेसबलकै एक नम्बर खेलाडीका रूपमा लिइन्थ्यो । १७ अगस्ट १९२० का दिन याककिजविरुद्धको प्रतिस्पर्धा उनको जीवनकै अन्तिम खेल बन्यो । याककिजका बलर कार्ल मायसले फ्याँकेको बल सीधै च्यापम्यानको टाउकोमा बजारियो । बल च्यापम्यानको टाउकोमा लाग्दा त्यसको आवाज ठ्याक्कै ब्याटले बलमाथि हिर्काएको जस्तो थियो । दर्शक र खेलाडीले यस्तै सुने । समर्थकहरूले च्यापम्यानले लामो सट खेलेको सम्झेका थिए । तर, बल लागेको केही सेकन्डमै उनी मैदानमा ढल्न पुगे । तत्कालै उनलाई अस्पताल लगियो । १२ घन्टापछि उनको निधन भयो । च्यापम्यानको निधनपछि बेसबलमा हेलमेट लगाउनु र स्पाटबल प्रतिबन्ध गरिएको हो ।

लिभान्डर जोन्सन
लिभान्डर जोन्सन अमेरिकी लाइटवेट विधाका च्याम्पियन बक्सर थिए । १७ सेप्टेम्बर २००५ मा निधन हुनुअघि जोन्सनले कीर्तिमानी रूपमा ३४ भिडन्तमा जित हात पारेका थिए । उनले आफ्नो करिअरमा पाँच हार र दुई बराबरी रेकर्ड बनाए । नौ वर्षअघि आइबिएफ उपाधिका लागि उनले जेसुस चाभेजसँग प्रतिस्पर्धा गरेका थिए । ११औँ चरणमा जोन्सनले चाभेजको कडा मुक्का सामना गरे । त्यतिवेलासम्म उनलाई केही भएन । जेसुससँग हार स्वीकार गर्दै उनी आफ्नो कोठातिर लागे । कोठामा पुगेको केही घन्टापछि नै जोन्सनलाई होटेलका कर्मचारीले लडेको अवस्थामा भेट्टाए । तत्कालै उनलाई लस भेगासको एक अस्पताल लगियो । अस्पतालले पनि आपतकालीन स्थिति जनाउँदै उनको शल्यक्रिया गर्‍यो । शल्यक्रिया भएको पाँच दिनपछि उनको निधन भयो । डाक्टरहरूले उनको निधन टाउकोमा लागेको गम्भीर चोटका कारण भएको जनाए ।

पिटर विक्सान्जुला
भारतको क्लबस्तरीय खेल्ने पिटर विक्सान्जुलाको निधन मैदानभित्र कुनै खेलाडीसँग ठोक्किँदा भएको होइन । विजयी गोलको खुसी मनाउँदै गर्दा उनको निधन भएको हो । गत महिना वेथ्लेहेम क्लबलाई निर्णायक गोल गरेपछि उनले खुसी मनाए । अन्तर्राष्ट्रिय फुटबलले झैँ पिटरले जम्प गर्दै खुसी मनाए, एक्रोबाइटिक शैलीमा । तर, पिटरले आफूलाई नियन्त्रणमा लिन नसक्दा भुइँमा बज्रारिए । उनको टाउको सीधै भुइँमा बजारिएको थियो । जसका कारण उनी तत्कालै अचेत अवस्थामा पुगे । अस्पतालमा उनको उपचारकै क्रममा निधन भयो ।

जर्ज समर
जर्ज समर क्रिकेट खेल्दाखेल्दै निधन हुने पहिलो व्यक्ति थिए । सन् १८७० ताका इंग्लिस काउन्ट्रीमा जोन प्लेट्स खुबै नाम चलेका फास्ट बलर थिए । उनले फ्याँकेको सबैजसो बल बाउन्सर नै हुन्थ्यो । प्लेट्सको खतरनाक बललाई ठम्याउन नसक्दा समरले आफ्नो जीवन नै गुमाए । प्लेट्सले फ्याँकेको बल पिचको मध्य भागमा बाउन्स हुँदै समरको टाउकोमा लाग्यो । समरलाई तत्काल अस्पताल पुर्‍याइएन । घरमै उनको उपचार भएको थियो । चार दिनपछि समरको निधन भयो ।

रमन लाम्बा
सन् १९९८ मा भारतीय क्रिकेट इतिहासमा दुखद घटना भयो । १६ वर्षअघि भारतले क्लबस्तरीय क्रिकेटर रमन लाम्बालाई गुमाएको थियो । कुनै रोग वा हर्टअट्याकका कारण उनको मृत्यु भएको थिएन । क्रिकेट बलकै कारण लाम्बाको दुखद निधन भएको थियो । त्यसवेला लाम्बा बंगलादेशको अबहानी लिमिटेड क्लबबाट खेल्ने गर्थे । अबहानी र मोहमद क्लबबीचको प्रतिस्पर्धा उनको जीवनकै अन्तिम खेल बन्यो । सट लेगबाट फिल्डिरले थ्रो गरेको बल क्रिजमा रन लिइरहेका लाम्बाको सीधै टाउकोमा लाग्यो । तत्कालै उनलाई ढाकास्थित पोस्ट ग्रेजुएट अस्पतालमा उपचार गरियो । २१ फेब्रुअरी १९९८ मा लाम्बाले ३८ वर्षको उमेरमा संसारबाट बिदा लिए ।

नेपाली खेलाडी पनि
ग्याल्जेन लामा
नेपाली खेलकुदमा पनि प्रतिस्पर्धाकै दौरानमा खेलाडीहरूले आफ्नो ज्यान गुमाएका केही घटनाहरू छन् । यस्ता अभागीमध्ये फुटबलर ग्याल्जेन लामा एक हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा कोकाकोला कप अन्तरविद्यालय पुरुष फुटबल प्रतियोगिता जारी थियो । गोर्खाका ग्याल्जेन बौद्धस्थित मंगलदीप माध्यमिक विद्यालयमा अध्ययनरत थिए । कक्षा ८ मा अध्ययनरत १५ वर्षीय ग्याल्जेन आफ्नै विद्यालयमार्फत प्रतियोगितामा सहभागी थिए ।

प्रतियोगिताअन्तर्गत (०६७, २१ असारमा) प्रभात माध्यमिक विद्यालयविरुद्धको खेल जारी थियो । आकासिँदै आएको ‘एरियल’ बललाई रोक्ने प्रयास गर्दै गरेका ग्याल्जेन एकाएक मैदानमा ढल्न पुगे । उनी त्यसलगत्तै बेहोस बने । आयोजक एन्फाले उनलाई उपचारका लागि नजिकै रहेको ‘बी एन्ड बी’ अस्पतालमा पुर्‍याएको थियो । तर, अस्पतालले उनलाई तत्कालै मृत घोषित गर्‍यो । नेपाली फुटबल इतिहासमा प्रतिस्पर्धाकै दौरानमा कुनै पनि फुटबलरको मैदानमै मुत्यु भएको यो नै पहिलो घटना थियो ।

राजु बुढामगर
नेपाली बक्सर राजु बढामगर प्रतिस्पर्धाकै कारण ज्यान गुमाउने अर्काे नेपाली खेलाडी हुन् । गत ०६७ पुसको चौथो साता हेटौंडामा अन्तर नगर बक्सिङ प्रतियोगिता चलिरहेको थियो । उनी धरान नगरपालिकाका प्रतिद्वन्द्वीविरुद्ध रिङमा प्रतिस्पर्धा गरिरहेका थिए । प्रतिद्वन्द्वीको प्रहारका कारण उनी अचेत भई रिङमै ढल्न पुगे । केही समयसम्म पनि उनको होस नखुलेपछि उपचारका लागि तत्कालै हेटौंडाको स्थानीय अस्पतालमा पुर्‍याइएको थियो । यद्यपि, त्यहाँ पनि उनको होस खुल्न सकेन ।

तत्कालै डाक्टरको सल्लाहअनुसार उनलाई भरतपुर मेडिकल कलेजमा पुर्‍याइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई बाँसबारीको न्युरो अस्पताल पुर्‍याइएको थियो । यद्यपि, उनलाई न्युरो अस्पतालमा पुर्‍याइएलगत्तै (०६७) २२ पुसमा डाक्टरले मृत घोषणा गरे । अस्पतालले उनलाई ‘ब्रेन’मा रगत जमेका कारण मुत्यु भएको जनाएका थिए । सीतापाइला काठमाडौंका २१ वर्षीय बुढामगर ५२ केजी तौल–समूहमा प्रतिस्पर्धा गरिरहेका थिए ।

उनी प्रतिस्पर्धा वा ट्रेनिङकै क्रममा ज्यान गुमाउने दोस्रो नेपाली बक्सर हुन् । यसअघि झन्डै तीन दशकअघि पनि ट्रेनिङका क्रममा एक नेपाली बक्सरको मृत्यु भएको नेपाल बक्सिङ संघले जनाएको छ । यद्यपि, तीन खेलाडीको नाम संघसँग सुरक्षित छैन । कमलपोखरी बक्सिङ क्लबमा ट्रेनिङका क्रममा ती बक्सरको मृत्यु भएको जनाइएको छ ।