दलीय प्रतिनिधिका रुपमा कार्यक्रममा जाने शिक्षकमाथि विभागीय कारबाही

549 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भक्तपुर, १९ मङ्सिर । जिल्ला शिक्षा कार्यालय भक्तपुरले राजनीतिक दललाई शिक्षकहरुलाई दलीय प्रतिनिधिका रुपमा विभिन्न कार्यक्रममा नपठाउन अनुरोध गरेको छ ।

शिक्षक दलीय प्रतिनिधिका रुपमा विभिन्न कार्यक्रममा जाँदा विद्यालयको पठनपाठनमा प्रतिकूल प्रभाव परेको भन्दै जिशिकाले दलीय प्रतिनिधिका रुपमा शिक्षकलाई नपठाउन अनुरोध गरेको हो ।

जिल्लास्थित सबै राजनीतिक दललाई पत्र पठाउँदै जिशिकाले शिक्षा मन्त्रालय विद्यालय शाखा र शिक्षा विभागको निर्देशनअनुसार राज्यको कोषबाट तलब भत्ता खाने तर विद्यालय समयमा राजनीतिक दलका प्रतिनिधिका रुपमा विभिन्न कार्यक्रममा सहभागी हुनेलाई विभागीय कारबाहीसमेत हुने चेतावनी दिएको छ ।

त्यसैगरी, जिशिकाले स्थानीय निकाय जिल्ला विकास समिति, नगरपालिका र गाविसलाईसमेत पत्र पठाई कुनै पनि शिक्षकलाई दलीय प्रतिनिधिका रुपमा स्वीकार नगर्न अनुरोध गरेको छ ।

बाल अधिकारको संरक्षण गर्दै बालबालिकाहरुको गुणस्तरीय शिक्षा हासिल गर्न पाउने अधिकारको रक्षा गर्ने दायित्व अभिभावक र राज्यको मात्र नभएर सचेत समुदाय सबैको भएको उल्लेख गर्दै पत्रमा शिक्षकलाई विद्यालयको काममाबाहेक विद्यालय समयमा कुनैपनि सामाजिक कार्य, उपभोक्ता समिति र सार्वजनिक समितिका कार्यमा नलगाउन अनुरोधसमेत गरिएको छ ।