एउटै उद्योग वाणिज्य संघ र एउटै महोत्सवको सम्भावना

875 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ– प्रचार प्रसार र महोत्सवको तयारीमा युद्धस्तरमा सक्रिय रहेका धादिङका उद्यमी व्यवसायीहरुले वार्ता र सम्वादको माध्यमवाट दुई बर्ष अघि दुईवटा हुन पुगेको उद्योग वाणिज्य संघलाई एउटैै वनाएर संयुक्त महोत्सवको आयोजना गर्ने सोचलाई पनि अघि बढाएका छन । महोत्सवको तयारी संगै निरन्तर चलिरहेको द्धैपक्षिय वार्ताले निकास खोजिरहेको बैठकमा सहभागी एक सदस्यले वताएका छन ।
दुई बर्ष अघि औपचारिक रुपमा विभाजित हुन पुगेका धादिङका उद्यमी व्यवसायीहरु  अन्ततः एउटै मञ्चमा देखिने सम्भावनाको नजिक पुग्न लागेका छन । यस पटकको पहलले सार्थकता पाए दुई बर्ष देखि दुई तिर फर्किएर रहेका व्यवसायीहरु एकै ठाउंमा संगठित भएर साझा कार्यक्रमका साथ अघि बढ्ने सम्भावना समेत देखिएको छ ।
दुई बर्ष अघि विधिवत रुपमै दुईवटा उद्योग वाणिज्य संघ वनाएर फरक फरक धारवाट अघि बढीरहेका धादिङका उद्यमी व्यवसायीहरुले प्रतिस्पर्धाका रुपमा एक साताको फरकमा दुईवटा महोत्सवको तयारी अघि बढाईरहेको वेला दुई संस्थालाई एकै ठाउंमा ल्याउने प्रयास अघि बढेको हो । दुईवटा धारवाट अघि बढिरहेका संस्थालाई एउटै मञ्चमा ल्याउन स्थानीय प्रशासनले दुवै संस्थाका पदाधिकारीहरुलाई एकै ठाउंमा राखेर वार्ता शुरु गरेको छ । पटक पटकको वार्ताले दुई बर्ष देखि छुट्टिएर छुट्टाछुट्टै कार्यालय र गतिविधि संचालन गरिरहेका संस्थालाई एकै ठाउंमा ल्याएर जिल्लामा एउटै उद्योग वाणिज्य संघ वनाउने सम्भावनाको नजिक पु¥याएको वार्तामा सहभागी एक सदस्यले धादिङ न्यूजलाई वताए ।
दुई बर्षको गतिविधि जे जस्तो रहेपनि अवका दिनमा मिलेर एउटै संस्थामा रहेर अघि बढ्नुपर्छ भन्नेमा दुवै संस्थाका पदाधिकारीहरुको सहमती देखिएकाले केही प्राविधिक बिषयमा सहमती जुटे एउटै संस्था र एउटै महोत्सवको सम्भावना देखिएको वार्तामा सहभागी ति सदस्यको भनाई छ । सोमवार विहानै देखि चलिरहेको वार्ताले निकास पाएमा अब हुने महोत्सवको नाम समेत परिवर्तन हुनेछ । महोत्सवको नाम र मिति परिवर्तन गर्न समेत सहमत देखिएका दुवै उद्योग वाणिज्य संघका पदाधिकारीहरुले अव हुने महोत्सवको नाम ‘मध्यमाञ्चल क्षेत्रीय घरेलु,कृषि पर्यटन मेला तथा चौथो धादिङ महोत्सव २०७१’ राख्ने प्रस्ताव समेत अघि सारेका छन ।

दुवै संघ एउटै भएमा ‘मध्यमाञ्चल क्षेत्रीय घरेलु,कृषि पर्यटन मेला तथा चौथो धादिङ महोत्सव २०७१’ को आयोजना गरिने र त्यसका लागि दुईवटा संघका अध्यक्ष मध्ये एक जनालाई संरक्षक र एकजनालाई मुल आयोजक समितिको संयोजक तोकिनेछ । संरक्षकले महोत्सव उदघाटनमा स्वागत मन्तव्य राख्नेछन भने संयोजकले उदघाटन कार्यक्रमको अध्यक्षता गर्नेछन । यस अघि पनि दुईवटा संघलाई एउटै वनाउन पटक पटक गरिएको प्रयास असफल भएकाले यस पटकको वार्ताले कुन मोड लिने हो व्यवसायीहरु समेत प्रतिक्षारत देखिएका छन । दुवैसंस्थाको जित हुने गरी वार्तालाई निष्कर्षमा पु¥याउनुपर्ने वार्तामा सहभागीहरुको भनाई छ । व्यवसायीहरुको हितका निम्ति काम गर्ने संस्था भएकाले फ्ुटेर भन्दा जुटेर अघि बढ्न सके जिल्लाको आर्थिक विकास र सम्बृद्धि सम्भव रहेको अगुवा उद्यमी व्यवसायीहरुको भनाई छ ।
जिल्लाका उद्यमी व्यवसायीहरुको  पुरानो संस्था धादिङ उद्योग वाणिज्य संघले सदस्यता बितरण तथा नविकरणमा विभेद गरी सयौं व्यक्तिलाई संस्थामा आवद्ध हुन वाट रोकेको भन्दै २०६९ मंसिर ३० गते करिव १ हजार व्यवसायीले  धादिङ उद्योग वाणिज्य संघ छाडेर उद्योग वाणिज्य संघ धादिङको गठन गरेका थिए ।
एउटै संस्थामा आवद्ध व्यवसायीहरु विभाजित भई दुईवटा संस्था गठन गरी अलग अलग गतिविधि संचालन गर्दै आएका कारण जिल्लाका सामान्य उद्यमी व्यवसायी समेत विभाजित हुन वाध्य भएका थिए । प्रतिष्ठाको लडाई लडिरहेका जिल्लाका उद्यमी व्यवसायीहरु आगामी पुस महिनामा दुईवटा महोत्सवमा जुटेपछि दुवै संस्थालाई एउटै वनाउनु पर्छ भन्नेहरु पनि जुर्मुराउन थालेका छन । फरक फरक स्थानमा महोत्सवको आयोजना गर्ने तयारी गरिरहेका व्यवसायीहरुले मिति घोषणामा एकले अर्कोलाई उछिनेर अघि बढ्न थालेपछि दुवै महोत्सवका नाममा व्यवसायीहरु बिच अस्वस्थ प्रतिस्पर्धा हुंदा शान्ति सुरक्षामा समेत चुनौती हुने सुरक्षा अधिकारीहरुको बिश्लेषण छ । एकातिर महोत्सवको नाममा आयोजक संस्था घाटामा जाने अवस्था बढ्दै गएको छ भने एउटै समयमा दुईवटा महोत्सवको आयोजना गर्दा हुन सक्ने खतराहरुको अहिले पुर्व समिक्षा समेत गर्न थालिएको छ ।
उद्योग वाणिज्य संघ धादिङले पुस ७ गते देखि १७ गते सम्म धादिङवेसी खुल्लामञ्चमा मध्यमाञ्चल क्षेत्रीय महोत्सवको आयोजना गर्ने तयारी गरिरहेको बेला धादिङ उद्योग वाणिज्य संघले पुस २ गते देखि १३ सम्म धादिङबेसीकै रायटारमा चौथो धादिङ महोत्सवको आयोजना गर्ने घोषणा गरेपछि दुई उद्योग वाणिज्य संघ आमने सामनेको अवस्थामा पुगेका हुन । आंफुहरुले एक बर्ष अघि चौथो धादिङ महोत्सवको घोषणा गरेर तयारी गरिरहेको बेला उद्योग वाणिज्य संघ धादिङले पुर्व निर्धारित मिति सच्याएर मिति अघि सारेपछि आंफुहरु पनि तोकिएको मिति परिवर्तन गर्न वाध्य हुनु परेको धादिङ उद्योग वाणिज्य संघका पदाधिकारीहरुको भनाई छ । उद्योग वाणिज्य संघका पदाधिकारीहरु भने यो भनाई सत्य नभएको वताउँछन । एउटा संस्थाले मिति तोकेर तयारी शुरु गरेपछि अर्कोले पुर्व निर्धारित मितिलाई अघि सार्नु राम्रो काम नभएको उनिहरुको तर्क छ ।
औपचारिक रुपमा विभाजित भएपछि अघिल्लो बर्ष उद्योग वाणिज्य संघ धादिङले धादिङबेसी खुल्ला मञ्चमा र  धादिङ उद्योग वाणिज्य संघले पिडा गाविसको गलौंदीमा महोत्सवको आयोजना गरेका थिए । अघिल्लो बर्ष फरक फरक समयमा फरक स्थानमा महोत्सव सम्पन्न गरेका व्यवसायी यस बर्ष भने आमने सामनेको अवस्थामा देखिएपछि दुईवटा संघलाई एएटै वनाएर अघि बढाउने प्रयास गरिएको हो ।