दुई उद्योग वाणिज्य मिलेर महोत्सवको घोषणा

549 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

_eakataa 2धादिङ,२३ मंसिर- विभाजन भएको २३ महिना २२ दिन पछि एकिकरण हुन पुगेका धादिङका उद्यमी व्यवसायीहरुको संस्था एउटै भए लगत्तै मध्यमाञ्चल स्तरीय क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवको घोषणा गरिएको छ ।
सोमवार जिल्ला प्रशासन कार्यालय धादिङमा भएको द्धैपक्षिय वार्ताले दुईवटा उद्योग वाणिज्य संघ एउटै हुने निर्णय गरेको थियो । दुई वटा संस्था एकीकृत भएपछि मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी पुस ७ देखि १७ गते सम्म धादिङबेसीमा मध्यमाञ्चल स्तरीय क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवको आयोजना गरिएको जानकारी गराईएको हो । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीको अध्यक्षतामा संघको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरेका साथै एकीकरण भएको उद्योग वाणिज्य संघका अध्यक्ष कल्पना अधिकारी र अन्य पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो । पत्रकार सम्मेलन अघि बसेको दुई संस्थाको संयुक्त कार्य समिति बैठकले महोत्सव मुल आयोजक समितिको संयोजकमा चन्द्रकान्त अधिकारी र सह संयोजकमा वद्रिकुमार श्रेष्ठलाई जिम्मेवारी तोकेको वताईएको छ ।
धादिङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ७ गतेदेखि १७ गते सम्म धादिङबेसी रायटारमा मध्यमाञ्चल स्तरीय क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले जानकारी दिनु भयो । दुईवटा संस्थाका बिच देखिएको दरारलाई कम गर्न प्रमुख जिल्ला अधिकारी घिमिरेको पहलमा सोमवार दिनभर भएको वार्ताले व्यवसायीहरुका बिच एकता सम्भव भएको थियो । एकीकृत संस्थामा सदस्यता बितरणलाई व्यवस्थित र पारदर्शी वनाउन दुवै संस्थावाट ३ –३ जना प्रतिनिधि रहने गरी ६ सदस्यिय छानविन समितिको गठन गरिएको छ । सदस्यता छानविन समितिमा गोपिलाल श्रेष्ठ,वोधनाथ दुवाडी,लोकनाथ डल्लाकोटी,बिष्णुप्रसाद थपलिया,अशोक अधिकारी र राजकुमार श्रेष्ठ रहेका छन । समितिले दिएको सिफारिशका आधारमा उद्योग वाणिज्य संघका सदस्यहरुले एकमुष्ट रुपमा धादिङ उद्योग वाणिज्य संघको सदस्यता पाउने सहमती भएको छ ।
दुईवटा संघ मिलेपछि हुन लागेको महोत्सवको उदघाटन कार्यक्रमको अध्यक्षता धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले र समापनको अध्यक्षता एकीकरणमा गएको उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष कल्पना अधिकारीले गर्ने वताईएको छ ।
सदस्यता बितरण र नविकरणमा राजनैतिक आस्थाका आधारमा विभेद गरिएको भन्दै धादिङ उद्योग वाणिज्य संघको अधिबेशन त्यागेर १ हजार भन्दा बढी सदस्य वाहिरिएपछि २०६९ साल मंसिर ३० गते उद्योग वाणिज्य संघ धादिङको गठन भएको थियो ।