ध्रुवे भूमिगत भएपछि रोनाल्डोको राज !

535 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

hatti(2)चितवन निकुञ्जमा पहिले ध्रुवे हात्तीको चर्चा थियो । ध्रुवे एकाएक भूमिगत भएपछि अहिले रोनाल्डो नामको अर्को भाले हात्तीले राज गर्न थालेको छ । जंगली र घरपालुवा हात्तीको बथानमा भालेको संख्या निकै कम रहेको र भएका भाले हात्ती पनि निम्छरो भएकाले रोनाल्डोले ‘हिरो’ हुने अवसर पाएको हो ।

जंगलमा मात्र होइन, घरपालुवा पोथी हात्तीलाई पनि रोनाल्डोले प्रेमजालमा फसाउने गरेको छ । निकुञ्ज आसपासमा पालिएका पोथी हात्तीलाई भेट्न उ पालो मिलाएर आउने गर्छ । कहिलेकाहीँ त उसले पोथीलाई जंगलभित्र सँगै लैजाने र दुईचार दिन राखेर मात्र फिर्ता पठाउने गरेको छ ।

जैविक विविधता संरक्षण केन्द्रको प्रकृतिकली नामको पोथी हात्तीलाई पनि रोनाल्डोले केही महिना सँगै लगेको थियो । अहिले प्रकृतिकली रोनाल्डोको सन्तानको आमा बन्ने अवस्थामा पुगेकी हात्तीको रेखदेख गर्ने कर्मचारीले जानकारी दिए । त्यसो त प्रकृतिकलीकी आमा मानकलीले दुईवर्षअघि जन्माएकी हेमगज नामको बच्चा भाले हात्तीको बाबु पनि रोनाल्डो नै हो । विद्युत्तीय तारबार लगाइएको कारण घरपालुवा पोथी हात्ती भेट्न रोनाल्डोलाई हिजोआज गाह्रो छ । तर पनि बेलाबेला उ घरपालुवा पोथी हात्तीलाई हेर्न आइरहन्छ । कहिले भेटेर जान्छ, कहिले हेराहेर मात्रै गरेर फर्किन्छ ।

सौराहा आसपासमा अहिले जन्मिएका घरपालुवा र जंगली हात्ती धेरैका बाउ उही रोनाल्डो भएको वरिष्ठ वन्यजन्तु प्राविधिक विष्णुबहादुर लामाले बताउनुभयो । रोनाल्डोले फकाउन सक्नेलाई मायाजालमा फसाउने र नसक्नेलाई जबर्जस्ती पनि गर्ने गर्छ । जंगल आसपासका बासिन्दालाई पनि रोनाल्डोले दुःख दिने गरेको छ ।

रोनाल्डो यहाँको ‘डन’ भएकाले उसलाई केही गर्न नसकिने स्थानीयबासिन्दा बताउँछन् । अहिले सौराहा घुम्न आउने स्वदेशी र विदेशी पर्यटकले रोनाल्डो बारेमा सोधीखोजी गर्छन् र सकेसम्म उसलाई नजिकबाट हेरेर मात्र फर्कन खोज्छन् ।

-उज्यालो बाट                      

  तस्विर सौजन्य : विष्णुबहादुर लामा