खोज्छन् मान्छे खाडी खाडी -पैसा लुक्छन झाडी झाडी

826 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गोपाल फ्युवा
gopaal fyuvaaधादिङ, नुवाकोट र रसुवाका चिसो र लेकाली क्षेत्रमा तामाङहरुको घना वस्ती छ । आर्थिक हिसावले निम्न वर्गीय किसानहरुको बसोबास रहेको छ । यहाँका धेरै युवाहरु विदेश जान घरघडेरी बन्धकी राखेर खाडी उडि रहेका छन् । साहुँलाई धनी बनाइरहेका छन् । खाडीको कमाइ सुखद छैन दुखत पनि छ । २ वर्ष आफुले लगेको खर्च तिर्दैमा ठिक्क हुने कारण पहिलो छुट्टी बेकारमा जान्छ । वर्गीय खाडल फराकिलो हुदैछन् । पारिवारिक विघटन अर्को ठूलो समस्याको रुपमा रहेको छ । जसले सामाजिक विकृति बढाएको छ । दस नङ्ग्रा खियाउने हो भने आफ्नै गाउँवस्ती, पाखापखेरो र झाडीमा मनग्गे आम्दानीका सम्भावनाहरु लुकेर रहेका छन् । स्थलगत भ्रमण पश्चात गोपाल फ्युवा तामाङ लेख्छन् ः
नुवाकोट जिल्ला किम्ताङ गाविसका ख्याचरोङ तामाङले यस वर्ष ३० किलो चिराइतो उत्पादन गरेर १ लाख ३० हजार कमाए । धादिङ जिल्ला सत्यदेवी गाविस माहुरका च्याङ्वा तामाङले अलैची उत्पादन गरेर १ लाख ३४ हजार आम्दानी गरे । ग्याजरोङ तामाङले सिजनमा चियापत्ती बेचेर मासिक ३० हजार कमाउछन् । धादिङ जिल्ला दार्खा गाविस ब्युर्चेतका उर्च तामाङले भेडा बाख्रा बेचेर वार्षिक १ लाख कमाउछन् । रि गाविस चोकेका मनबहादुर तामाङले डोको, डालो, थुन्से र भकारी बेचेर यस वर्ष ८३ हजार कमाए । तिप्लिङका मनसिङ घलेले चौरी पालनबाट १ लाख कमाइ गरे । रसुवा ठूलो भार्खुका अगुवा कृषक च्याङ्बा दोर्जे तामाङले तरकारी र जडिबुटीबाट वार्षिक १ लाख कमाउछन् ।
यी केही नमुना हुन् झाडीमा पैसा फलेको । पछिल्ला केही वर्षहरुमा उत्तरी रसुवा, नुवाकोट र धादिङमा ब्यावसायिक नगदे खेती गर्न थालेका छन् । नुवाकोट जिविसको एक गाउँ एक उत्पादन कार्यक्रम नीतिको राम्रो प्रभाव परेको देखिन्छ । अहिले पासाङल्हामु राजमार्ग आसपासमा ब्यावसायिक तरकारी र जापनिज ट्राउट माछा पालन गरेको पाइन्छ । साथै विदुर बाट देउराली म्यगङ किम्ताङ हुदै माहुर कुरी सम्म पुग्ने ग्रामिण सडक आसपासमा थुप्रै व्यावसायिक फर्महरु पाइन्छन् । बुङताङमा कफी उत्पादन भइरहेको छ भने देउरालीमा चियापत्ती तथा अलैचीको बेर्ना र धसिङ्ग्रेको तेल उत्पादन भइरहेको छ । किम्ताङमा आलु, चिराइतो, अलैची, चियापत्ती, भुइ स्याउ, ट्राउट माछाको उत्पादन भइरहेको छ ।
सबै जना विदेश विदेश भन्छन् खाडी बराबर मिहीनेत गरे यही दोब्बर आम्दानी हुने दरसिङ तामाङ बताउछन् । उनले साउदीमा रहदा अलैचीबारे इलामेली साथीहरुबाट सुनेको र आफ्नो गाउँमा बेर्ना ल्याएको थियो । लगाएको ३ वर्षपछि मात्र उत्पादन दिने हुनाले सुरुमा धेरैले चासो दिएनन् । पछि वर्षेनी १० हजार, २० हजार हुदै आम्दानी बढ्दै गएकले गाउँलेको आकर्षण बढेको उनी बताउछन् । अहिले माहुर गाउँको ५५ घरले केही न केही अलैची उत्पादन गरिरहेको छ । यस वर्ष प्रत्यक घर धुरीले न्युनतम ५ हजार र अधिकतम १ लाख ५० हजार गरी औसत प्रति घर ५० हजार आम्दानी गरेका छन् । यो कमाइ नियमित कामभन्दा अन्य हो । यो अतिरिक्त कमाइ हो । खेर गएको झाडी फाडेर रोपेको ठाउँमा यत्ति कमाइ हुदा धेरै खुसी भएको माहुर कै साइली तामाङले बताइ ।
लङलङमा ट्राउट माछा पालन गरिरहेका लालबहादुर तामाङले लाङटाङबाट चिराइतोको विउ ल्याएर छरेका छन् । ३ रोपनी जग्गाबाट उत्पादन भएको बेर्ना नजिकका गाउँहरुमा प्रसार गरिरहेका छन् । उनका अनुसार तामाङ म्हेम्हेहरुले सोच विचार गरेर खोरिया फार्दै लेक चढेका रहेछन् । प्रति केजी धानसँग तुलना गर्ने हो भने धेरै महङ्गो वस्तु उत्पादन भइरहेको छ ।
अहिलेसम्म अनुभवको आधारमा यी व्यावसायिक खेती गरिरहेका हुन् । तालिम, औषधी र बजार व्यवस्थापन सरकारले गरिदिने हो भने हरेक युवाहरु व्यावसयिक रुपमा कृषि तथा पशुपालन क्षेत्रमा लाग्ने कुरा निम्ताङका मदन तामाङले बताए । अहिले परमपरागत आलु उत्पादनलाई आधुनिकीकरण गर्नुपर्ने उनको जोड छ । गोलभेडा, खुर्सानीमा पनि मनग्गे आम्दानी भएको किम्ताङकै धनबहादुर तामाङको अनुभव छ ।
अहिले गाउँबाट निर्यात बढेको अनुभव एक दशकदेखि मिनिट्रक चलाउदै आएका सोम्बर तामाङको छ । पहिला फर्किदा खाली हुन्थ्यो अहिले केही न केही स्थानीय उत्पादन थोरै भए पनि लगिरहेको हुन्छ । बजार सहज नभएको र गाउँको उत्पादनलाई एकदम सस्तोमा बेच्नु परेको देउराली फासङका कृषक अन्तरे तामाङको अनुभव छ । गरे आम्दानी हुन्छ भनने थाहा भए पनि आफ्नो जग्गा र क्षेत्रमा कुन उत्पादनले बढी फाइदा दिन्छ थाहा नभएको त्रिशुली कोलोनीमा बस्दै आएका माहुरका फुलबहादुर तामाङले बताए ।
यी तथ्यहरुलाई हेर्दा झाडी भनेर हेला गरेका स्थानहरुमा अल्छी नगरी काम गर्ने हो भने मनग्गे आम्दानी छ । धादिङ, नुवाकोट र रसुवाका चिसो र लेकाली क्षेत्रमा तामाङहरुको घना वस्ती छ । आर्थिक हिसावले निम्न वर्गीय निसानहरुको बसोबास रहेको छ । यहाँका धेरै युवाहरु विदेश जान घरघडेरी बन्धकी राखेर खाडी उडि रहेका छन् । साहुँलाई धनी बनाइरहेका छन् । खाडीको कमाइ सुखद छैन दुखत पनि छ । २ वर्ष आफुले लगेको खर्च तिर्दैमा ठिक्क हुने कारण पहिलो छुट्टी बेकारमा जान्छ । पारिवारिक विघटन अर्को ठूलो समस्याको रुपमा रहेको छ । दस नङ्ग्रा खियाउने हो भने आफ्नै गाउँवस्ती, पाखापखेरो र भाडीमा मनग्गे आम्दानीका सम्भावनाहरु लुकेर रहेका छन् ।
(लेखक ल्हाप्साङकर्पो क्षेत्रका तामाङ जनजीवनको अध्यता हुन् ।)