धादिङका महिला सहकारीमा पहिला

697 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

mahilaa sahaakariधादिङ, -धादिङ जिल्ला सहकारी क्षेत्रमा अग्रणी जिल्ला हो । महिलाहरुले आर्थिक अधिकार पाएन भनेर विभिन्न किसिमका आन्दोलनहरु भईरहेका वेला धादिङे महिलाहरु सहकारी अभियानमा पुरुषहरुलाई पछि पादै अघि बढिरहेकाछन् । आर्थिक वर्ष २०७०÷७१ मा सहकारीका शेयर लिने तथा आवद्ध हुने ९५ हजार ९ सय ६७ जना मध्ये महिलाहरु ५५ हजार ५ सय महिला छन् भने पुरुष ४० हजार ४ सय ६७ जना मात्र छन् । तथ्यांकलाई हेर्दा धादिङका महिला सहकारीमा पहिला भएकाछन् । यति मात्र होइन नेपाल वचत तथा ऋण सहकारी केन्द्रिय संघ लि सञ्चालक सदस्यमा सहारा वचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष पार्वती खाँण र केन्द्रिय दुग्ध सहकारी संघ लि.सञ्चालक सदस्यमा देविस्थान महिला दग्ध उत्पादक सहकारी संस्था लिमिटेडकी अध्यक्ष गंगा विसुराल रहेकी छिन् ।
अन्यत्र दर्ता भएका १ सय ५१ र डिभिजन सहकारी कार्यालय धादिङमा दर्ता भएका ३ सय २४ गरी जिल्लामा ४ सय ७५ सहकारी संस्था रहेकोमा ६२ सहकारी यस अघि खारेजी भईसकेकाछन् । खारेजी हुनेमा सवै पुरुषहरु नै अध्यक्ष रहेका सहकारीहरु रहेकाछन् । जिल्लामा महिलाहरु मात्र शेयर सदस्य रहेको तथा व्यवस्थापन गरेको सहकारीको ७८ वटा सहकारी संस्था रहेको छ । महिलाहरुबाट मात्र सञ्चालन गरिएको ७८ सहकारी संस्थामा ५ करोड ७८ लाख ६९ हजार शेयर पूजीँ र १८ करोड ९५ लाख ७५ हजार निक्षेप संकलन गरेकाछन् । यसैगरी दलित समूदायहरुले मात्र सञ्चालन गरेका ६ सहकारी संस्थामा ३२ लाख ७७ हजार शेयर पूजीँ र ५ लाख ६३ हजार निक्षेप सकलन गरेकाछन् । २ सय ११ कृषि सहकारी संस्थामा १२ करोड ७१ लाख ७६ हजार शेयर पूजीँ र ३२ करोड २६ लाख ९३ हजार निक्षेप संकलन गरेकाछन् । जिल्लाका प्रारम्भिक सहकारी संस्था तथा संघ सहित ४ सय १३ को कुल शेयर पूजीँ ३६ करोड ३३ लाख १७ हजार र निक्षेप १ अर्व १६ करोड १५ लाख ९९ हजार रहेको संगठन फाँटका नायव सुव्वा महेश्वर ढकालले बताए ।
जिल्लामा ५ करोड भन्दा बढी करोवार गर्ने सहकारी संस्थाहरु जनकल्याण वचत तथा ऋण सहकारी संस्था लि. वेनिघाट १, छहारी वचत तथा ऋण सहकारी संस्था लि। फलखर्क ६, श्रोत परिचालन वचत तथा ऋण सहकारी संस्था लि. नीलकण्ठ नगरपालिका ३, नवज्योती वचत तथा ऋण सहकारी संस्था लि. नौविसे १ रहेकाछन् । यसैगरी साना किसान कृषि सहकारी संस्था लि सलाङ ७, साना किसान कृषि सहकारी संस्था लि कुम्पुर ३ र साना किसान कृषि सहकारी संस्था लि चैनपुर ४ रहेकाछन् ।