सात बुंदे साझा घोषणा पत्र जारी गर्दै सकियो प्रथम सरसफाई सम्मेलन

741 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0311धादिङबेसी–बुधवार देखि धादिङबेसीमा शुरु भएको प्रथ सरसफाई सम्मेलन सात बुंदे साझा घोषणा पत्र जारी गर्दै विहीवार धादिङबेसीमा सम्पन्न भएको छ । सम्मेलन समापन कार्यक्रमको क्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरुले सामुहिक रुपमा धादिङ जिल्लालाई २०७२ साल भित्र खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नका लागि सामुहिक प्रतिबद्धता व्यक्त गरेका थिए । यसरी प्रतिबद्धता व्यक्त गर्नेहरुमा राजनैतिक दल,संचारकर्मी,गाविस सचिव तथा नगरपालिका कार्यकारी अधिकृत,शिक्षक,नागरिक समाजको टोली रहेको थियो ।
सम्मेलनको दोश्रो दिनको सत्रको अध्यक्षता एकीकृत नेकपा माओवादीका अध्यक्ष रामवहादुर भण्डारीले गर्नुभएको थियो । सम्मेलनमा नेपालमा सरसफाई अभियानको गतिशिलता र अग्रगमनका आधारहरुका बिषयमा कमल अधिकारी,सरसफाई सामाजिक आन्दोलनको लागि स्थानीय निकायको भूमिका,दायित्व र जिम्मेवारीका बिषयमा चक्रपाणि शर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसैगरी सरसफाई सामाजिक आन्दोलनका लागि क्षेत्रगत सरोकारवालाहरुको भूमिका,जिम्मेवारी र प्रतिबद्धताका बिषयमा नमस्तेलाल श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सम्मेलनमा धादिङ जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्नका लागि सम्पन्न गर्नुपर्ने दायित्व र जिम्मेवारीहरुका बिषयमा स्थानीय निकाय,स्वास्थ्य तथा अन्य सरोकारवाला सरकारी कार्यालय,शिक्षा क्षेत्र संग सम्वन्धित निकाय र संघ संस्था,राजनैतिक क्षेत्र र महिला सञ्जाल,आम संचारमाध्यम,नागरिक समाज, उपभोक्ता समिति र निजी क्षेत्रका प्रतिनिधिहरुका बिच समूह कार्य गराई तयार पारिएको निचोडलाई समेत प्रस्तुती गरिएको थियो ।
धादिङ घोषणापत्र पौष ३, २०७१
जिल्लाखानेपानी, सरसफाइतथा स्वच्छता समन्वय समितिधादिङको आयोजनामा“पूर्ण सरसफाइ सबैको अभियान, समृद्ध धादिङ हाम्रो पहिचान”भन्ने मूलनाराकासाथ २०७१ सालपौष २ र ३ गते सम्पन्नजिल्ला सरसफाई सम्मेलनबाट जारी भएको ७बुँदे साझा

घोषणा–पत्र

१. हामी सम्पूर्ण धादिङ जिल्लावासी सरोकारवाला राजनीतिक पार्टी, सबै कार्यालय,संघसंस्था, ब्यवसायीहरुले खुला ठाँउमा दिसा गर्ने कार्यलाई सामाजिक अपराध मानी आजैको मितिदेखि लागु हुने गरि सामाजिक नियम तथा आचारसंहिता तर्जुमा तथाकार्यान्वयन गर्नेछौ र सोको लागि स्थानीय संघसंस्थालाई समेत अधिकार दिनेछौ ।
२. जि.वि.स. एवं नगरपालिकाले न्यूनतम कूल वजेटकोे १० प्रतिशत, आन्तरिक स्रोतको कम्तीमा १० प्रतिशत, ग्रामीण खानेपानी कार्यक्रमको कम्तिमा २० प्रतिशत,गाविसको लक्षित वर्गतर्फ तोकिएको अधिकतम वजेट, र निर्वाचन क्षेत्र विकास कार्यक्रमको (सांसद कोष) न्यूनतम रु १ लाख, आ.व. २०७१÷७२ देखि नै खुला दिसामुक्त एवं पूर्ण सरसफाई अभियानमा खर्च गर्नेछौ । जिल्ला स्थित गैरसरकारी संस्था, सामुदायिक संस्था एवं निजीक्षेत्रको स्रोत र सार्धनलाई अधिकतम रुपमा यस अभियानमा परिचालन गर्नेछौं ।
३. जिल्लावासीकोसमृद्धिलाई माथि उठाउन जिल्लाको संस्कृति, परम्परा, रितीरिवाज, सामाजिक परिचालनसँग एकीकृत गरीविना अनुदान घरायसी चर्पी निर्माण अभियान सञ्चालन गर्नेछौ । तर समाजका अति अशक्त, असहाय,सीमान्तकृत वर्ग, एकल महिला, अपाङ्ग, पिछडिएको क्षेत्रका गरिब घरपरिवारलाई गा.वि.स.तथा नगरपालिकास्तरीय, जिल्लास्तरीय समन्वय समितिको निर्णय बमोजिम स्थानीय स्रोत साधन परिचालन गरि विशेषसहयोग गर्नेछौ ।
४. सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, स्वास्थ्य संस्थाहरु, राजनीतिक दलकाकार्यालय, विद्यालयहरुमा सेवाग्राहीहरुलाई समेत हुने बाल, लैंगिक र अपांगमैत्री चर्पी, खानेपानी र साबुन पानीले हात धुने सुविधाहरुको व्यवस्था सम्बन्धित निकायले गर्नेछौं ।
५. जिल्ला शिक्षा कार्यालयबाट विद्यालयलाई अनुमति प्रदान गर्दा खानेपानी र चर्पी सुविधालाई अनिवार्य शर्तको रुपमा लिइनेछ । उक्त सुविधा नभएका विद्यालयलाई अनुमति प्रदान गरिने छैन भने खानेपानी र सरसफाई सुविधा भएर पनि समुचित प्रयोग नगराउने र फोहोर गर्ने विद्यालायहरुलाई थप वजेट तथा कार्यक्रम दिइने छैन ।
६. साझा लक्ष्य, एउटै योजना, एकै प्रकारको वजेट र एकैप्रकारको अनुगमन तथा प्रतिवेदन प्रणाली अवलम्बन गरी जिल्लामा विभिन्न निकायबाट सञ्चालन भैरहेका खानेपानी र सरसफाई कार्यक्रमलाई एकद्धार माध्यमबाट क्षेत्रगत नेतृत्वमा नगर, गाविसस्तरीय तथा जिल्लास्तरीय खानेपानी तथा सरसफाई समन्वय समिति मार्फत सरसफाई अभियान सञ्चालन गर्नेछौ ।
७. जिल्ला विकास समिति, नगरपालिका, गाविसहरु, राजनीतक दल, सभासद्, सरकारी कार्यालयहरु, सञ्चार गृह तथा संचारकर्मीगैर सरकारी संस्था, निजी क्षेत्र, वित्तीय संस्था, नागरिक समाज, सुरक्षाकर्मी, प्रशासन, सामुदायिक संस्था, सहकारी संस्था,खानेपानी तथा सरसफाई उपभोक्ता समिति, सामुदायिक वन, वडा नागरिक मञ्चहरुको साझा नेतृत्व र सहभागितामा जिल्लालाई २०७२ साल चैत्र मसान्तभित्र खुला दिसामुक्त र वि.सं. २०७७ सालअसार मसान्तभित्र पूर्ण सरसफाई जिल्ला घोषणा गर्नेछौ । खुला दिसामुक्त भैसकेका गाविसहरुमा पूर्ण सरसफाइ अभियान पनि सँगसँगै सञ्चालन गरिनेछ । यस सरसफाई तथा पूर्ण सरसफाईअभियानमा उत्कृष्ट कार्यगर्ने ब्यक्ति, संघसंस्था, कार्यालयहरुलाई जिल्लास्तरमा सरसफाई पुरस्कार कोष स्थापना गरी सम्मानित र कदर गर्नेछौ ।

प्रतिवद्धता हस्ताक्षरः
माननीय संविधान सभा सदस्यः
१.  राजेन्द्र प्रसाद पाण्डे ने.क.पा. एमाले संविधान सभा सदस्य, पूर्व  मन्त्री
२.  गुरु प्रसाद बुर्लाकोटी ने.क.पा. एमाले संविधान सभा सदस्य
३.  परशुराम तामाङ रा.प्र.पा. संविधान सभा सदस्य

धादिङ जिल्लाका प्रमुख राजनीतिक पार्टी प्रमुख÷प्रतिनिधी

४. राम नाथ अधिकारी नेपाली काँग्रस सभापति, पूर्व सभाषद
५.  खेम प्रसाद लोहनी ने.क.पा. एमाले वैकल्पीक केन्द्रिय सदस्य÷पूर्व जि.वि.स. सभापती
६.  राम बहादुर भण्डारी ने.क.पा.एमाओवादी अध्यक्ष
७. नन्द प्रसाद काप्री रा.प्र.पा. धादिङ केन्द्रिय परिषद सदस्य
८.  शिवनिधि खनाल ने.क.पा. एकीकृत अध्यक्ष

“पूर्ण सरसफाइ सबैको अभियान, समृद्ध धादिङ हाम्रो पहिचान”
धादिङ जिल्लाको सरसफाइ सम्बन्धी आचार संहिता २०७१

सबैका लागिः
– सधैं सुरक्षित र सफा चर्पीमा दिसा गरौं । खुला स्थानमा दिसा गरी ईज्जत नफालौं ।
– आफ्नो दिसा धोएपछि र बच्चाको दिसा धोइदिएपछि, आफूले खाना खानु र बच्चालाई खाना खुवाउनु अघि र खाना तयार गर्नु अगाडि सधैं सावुन पानीले मिची मिची हात धुने गरौ ।
-विस्कुट, चाउचाउ, चक्लेटका खोल लगायतका पलाष्टिकजन्य फोहोर र आफ्नो घरबाट निस्कने सबै प्रकारका फोहोरहरु सधैं व्यवस्थित गरौं, जथाभावी नफालौ ।
– घरमा खानेपानी छोपेर राखौं र पानी राख्ने भाँडा सधैं सफा राखौं ।
– आ–आफ्नो घर नजिकको सार्बजनिक स्थानहरु जस्तै मठ, मन्दिर, गुम्बा, चौतारो, धारा आदिलाई नियमित सफा राखौं ।
– तरकारी, फलफूल सधैं पखालेर मात्र खाऔं, ताजा र सफा खानेकुरामात्र खाऔं र ब्यक्तिगत सरसफाइमा नमूना बनौं ।
– खुला दिसामुक्त गरिएको क्षेत्रमा खुला दिसा गरेमा स्थानीय समितिहरुले निर्णय गरी रु. एकसयसम्म जरिवाना गर्ने सक्नेछ । उक्त जरिवानाको रसिद दिनु पर्नेछ भने जरिवाना सोही समितिको आम्दानी हुनेछ ।

घरधनी, जग्गाधनी, उद्योगपति तथा ब्यवसायीहरुका लागिः
– घर भाडामा दिने घरधनीहरुले भाडामा बस्नेहरुको लागि, आफ्नो जग्गाभित्र बिभिन्न प्रयोजनमा बसोवास गर्ने व्यक्तिहरुका जग्गा धनीले, उद्योग, कलकारखाना सञ्चालकहरुले मजदुरहरुको लागि आवश्यकता अनुसार शौचालय सुबिधा उपलब्ध गराउनु पर्नेछ ।
– उद्योग धन्दा,कल कारखाना, अस्पताल र व्यवसायबाट निस्कने सबै प्रकारका प्रदूषणजन्य र मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने फोहरमैलाहरुको उचित व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित ब्यक्ति, संस्था तथा व्यवसायीको नै हुनेछ ।

राजमार्ग र यातायात मजदुरहरुको लागिः
-राजमार्ग वा गाडी गुड्ने सडकको छेउ किनारामा होटल, व्यापार व्यवसाय (जस्तैः वर्कसप, क्रसर, पेट्रोल पम्प, कुखुरा फर्म) गर्ने व्यक्तिहरुले ग्राहकको संख्याअनुसार आवश्यक शौचालयको प्रबन्ध आफ्नै खर्चमा गर्नु पर्नेछ त्यहाँबाट निस्कने फोहोरको ब्यबस्थापन आफैले गर्नुपर्नेछ ।
– जिल्ला भित्र र बाहिर लामो तथा छोटोदुरीमा चल्ने नीजि÷सार्वजनिक सवारी साधनहरुले जङ्गलक्षेत्र वा खुला इलाकामा गाडी रोकी यात्रुहरुलाई शौच गर्न लगाउने परिपाटीलाई निषेध गरिएकोले यात्रुहरुलाई दिसापिसाव सार्वजनिक शौचालय वा होटलहरुको शौचालयमा गराउनु पर्नेछ । यदि यो नियमको उल्लंघन भएमा स्थानीय सरसफाई समितिले तयार गरेको आचारसंहिता बमोजिम गाडीचालकलाई जरिवाना गर्नेछ ।
– यात्रुहरुले गाडीमा प्लाष्टिकको झोलामा उल्टी गरेपछि जथाभावी फाल्न नदिने र ब्यबस्थित स्थानमा फाल्नका लागि गाडीका कर्मचारीले यात्रुलाई सुसुचित र सहयोग गर्नु पर्नेछ । हरेक गाडीहरुले फोहोर फाल्नका लागि डष्टविन राख्नुपर्नेछ ।
-हाट–बजार, मेला, महोत्सव, चाडपर्व सञ्चाल गर्दा आवश्यकता अनुसार चर्पीको ब्यबस्था पनि आयोजकले नै गर्नुपर्नेछ भने त्यहाँबाट निस्केका फोहोरको ब्यबस्थापन गर्नुपर्नेछ ।

शिक्षण संस्थाहरुका लागि ः
शिक्षण संस्थाहरुमा भएका खानेपानी, शौचालय, हातधुने स्थान, फोहोर ब्यबस्थापन विद्यालयले नियमित रुपमा समुचित ब्यबस्थापन गर्नुपर्नेछ । यदि भएका सुविधाहरु प्रयोगमा नल्याएमा त्यस्ता शिक्षण संस्थाहरुलाई थप वजेट र कार्यक्रम दिइने छैन ।