धादिङ लगायत विश्वभर अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइयो

701 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0554धादिङ– ‘सुरक्षित आप्रवासनको आवश्यकता ः हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ बिहीवार अन्तर्राष्ट्रिय आप्रवासन दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

धादिङमा सुरक्षित आप्रवासनका लागि सचेतना कार्यक्रम संचालन गर्दै आईरहेको चन्द्रज्योती एकीकृत ग्रामीण विकास समाज (सिर्डस) धादिङले जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सिर्डस धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले सुरक्षित आप्रवासनका बिषयमा जानकारी गराउनु भएको थियो । हेल्भेटास स्विस इन्टरकोअपरेशनको सहयोगमा धादिङ जिल्लामा पनि आप्रवासन परियोजना ( सामी) संचालनमा आएको छ । सिर्डस धादिङ र आवाज अभियान नेपालले जिल्लामा सामी परियोजना अन्र्तगत बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई आवश्यक परामर्श तथा सुरक्षित आप्रवासनका बिषयमा परामर्श तथा सहयोग गर्दैआईरहेको छ । प्रथम जिल्ला सरसफाई सम्मेलन स्थलमा आयोजना गरिएको सुरक्षित आप्रवासन दिवस कार्यक्रममा सामी परियोजनाको जिल्ला कार्यक्रम समन्वय समितिका संयोजक एवम स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङका साथै जिल्लाका विभिन्न राजनैतिक दलका प्रमुख एवम प्रतिनिधि,अन्तरपार्टी महिला सञ्जालका प्रतिनिधि, सरकारी कर्मचारी एवम संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
यसैगरी सुरक्षित आप्रवासन दिवसकै अवसर पारेर सिर्डस धादिङ, आवाज अभियान नेपाल र पौरखी नेपाल धादिङको आयोजनामा विहीवार सांझ धादिङबेसी पुछारवजार चोकमा मैनवत्ती प्रज्वलन गरिएको थियो ।

सन् २००० डिसेम्बर ४ मा बसेको संयुक्त राष्ट्र सङ्घको महासभाले आप्रवासी कामदार र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिन डिसेम्बर १८ लाई आप्रवासी दिवसको रूपमा मनाउने निर्णय गरे पछि यो दिवस संसारभर मनाउने गरिएको छ ।

हाल विश्वमा दुई अर्ब ३२ करोड आप्रवासी कामदारका रूपमा कार्य गरिरहेका तथा नेपालबाट बर्सेनि पाँच लाख व्यक्ति आप्रवासी कामदारका रूपमा वैदेशिक रोजगारीमा जाने गरेका छन् ।