संविधान जारी गर्न प्रचण्डलाई पत्रकार महासङघको स्मरणपत्र

694 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 DSC_0499धादिङ– नेपाल् पत्रकार महासङघ जिल्ला शाखा धादिङले संविधान निर्माणका लागि देखिएका समस्याहरु समाधान गरी मुलुकलाई निकास दिन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुुष्पकमल दहाल प्रचण्डलाई स्मरण पत्र बुझाएको छ ।
संविधान निर्माणमा दबाब दिने अभियान अनुसार विहीवार धादिङबेसी आईपुग्नु भएका एमाओवादी अध्यक्ष प्रचण्डलाई महासङघका जिल्ला शाखा अध्यक्ष नवराज छत्कुलीले स्मरण पत्र बुझाउनु भएको हो ।
स्मरण पत्र यसप्रकार रहेको छ ।

स्मरण पत्र यसप्रकार रहेको छ ।
२०७१।०९।१७

श्री अध्यक्ष ज्यू,
एकिकृत नेकपा माओवादी, केन्द्रिय कमिटि
एवं पूर्व प्रधानमन्त्री नेपाल सरकार

विषय ः स्मरणपत्र ।
श्री अध्यक्ष ज्यू,
नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ र यस अन्तरगतको जिल्ला शाखा धादिङ अहिले पत्रकारको पेशागत तथा भौतिक सुरक्षा र समग्र पत्रकारिताको व्यावसायिक विकाससँगै संविधान निर्माणकोे विशेष अभियानमा छ ।

श्री अध्यक्ष ज्यू,
२०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनको एउटा प्रमुख पक्षसमेत रहेको नेपाली प्रेस जगत र त्यसको अगुवाइ गर्ने नेपाल पत्रकार महासंघ परिवर्तनका एजेण्डालाई संस्थागत गर्ने प्रमुख दस्तावेज संविधान निर्माणमा संविधानसभाबाट भैरहेको पहलको स्वागत गर्दछ । तर, पछिल्ला दिनमा दलहरूबीच बढ्दै गएको असहमति र धु्रवीकरणले संविधानसभा आफैले बाचा गरेको समयसीमा २०७१ माघ ८ भित्र संविधान दिन फेरि पनि असफल हुन लागेकोे त हैन भन्ने गम्भीर आशंका उत्पन्न भएको छ । यस गम्भिर घडिमा नेपालको राजनीतिक आन्दोलन र मुलुकमा दीगो शान्ति स्थापना सहित संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकासमा तपाईको महत्वपूर्ण भूमिका र जिम्मेवारी रहेको हामीले महसुस गरेका छौं ।
महासंघ लोकतान्त्रिक आन्दोलन र संघर्षको उपलब्धी स्वरूप प्राप्त भएको लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता जस्ता महत्वपूर्ण परिवर्तनलाई संस्थागत गर्न पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सहितको लोकतान्त्रिक संविधान निर्माणमा ध्यान केन्द्रित गरी ‘नेपाली जनतासँग गरेको बाचा नतोडौं, २०७१ माघ ८ भित्रै संविधान निर्माण गरौं’ भन्ने मूल आह्वान सहित धादिङ जिल्लाका सम्पूर्ण पत्रकार, शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल र यस अभियानमा संलग्न नागरिक समुदायको तर्फबाट यहाँ र सिंगो संविधानसभाकोे गम्भीर ध्यानाकर्षणका लागि यो स्मरणपत्र प्रस्तुत गरेका छौं ।
तोकिएको समयसीमा २०७१ माघ ८ भित्रै संविधान जारी गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्न पुनः विशेष आग्रह गर्दछौं ।

…………………..
नवराज  छत्कुली
अध्यक्ष