आयोजकवाटै ठगिएको धादिङ तारा चेपाङको गुनासो

748 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

aakaash chepaangधादिङ,२५ पुस – गित संगित क्षेत्रका अग्रज देखि जिल्लाका सिकारुहरुलाई एउटै मञ्चमा निर्णायकमा राखेर घोषणा गरिएको धादिङ तारा २०७० बन्न सफल भएका भनिएका आकाश चेपाङले आंफु आयोजकवाटै ठगिएको वताएका छन । शान्तिका लागि संगित भन्ने नारा अघि सारेर २०७० चैत महिनामा धादिङबेसीमा आयोजना गरिएको एकल गायन प्रतिस्पर्धाबाट छुट्टाछुट्टै दुईविधामा जिल्लाका दुईजनालाई धादिङ तारा घोषणा गरिएको थियो ।
गत बर्षको चैतमा धादिङ तारा २०७० को नाम दिएर आयोजना गरिएको एक महिना लामो एकल गायन प्रतिस्पर्धामा लोकगीत तर्फ धादिङ धुषाका आकाश चेपाङ र फुलखर्कका धनबबहादुर गुरुङलाई विजेता घोषणा गरिएको थियो । प्रतियोगिताको आयोजक संस्था सि ग्रीन मिडिया हाउसले प्रतियोगितामा विजेता बन्न सफल दुईजनाको एक÷एक ओटा म्युजिक भिडियो निर्माण गर्न सहयोग गर्ने र उत्कृष्ठ ५ मा पर्न सफल सबै प्रतियोगिको एक÷एक ओटा गीतको म्युजिक भिडियो बनाउने मिडिया हाउसका निर्देशक सिसन तामाङले कार्यक्रममा घोषणा गरेका थिए । प्रतियोगिता समापनका लागि आयोजना गरिएको कार्यक्रममा आयोजकवाट घोषणा गरिएको प्रतिबद्धता एक बर्ष पुग्न लाग्दा पनि पुरा नभएपछि चेपाङले आंफु ठगिएको वताएका हुन । सार्वजनिक कार्यक्रममा धादिङ तारा घोषणा गरिएपनि औपचारिक रुपमा कुनै प्रमाण पत्र समेत नपाएका कारण जिल्लामा हुने कार्यक्रमहरुमा धादिङ तारा बनेर सम्वोधन गरिदिंदा आफैंलाई असहज हुने गरेको चेपाङको भनाई छ ।
सिग्रिन मिडिया हाउसका निर्देशक भनिएका तामाङ लामो समय देखि सम्पर्क वाहिर रहेपछि धादिङ तारा बनेका आकाश ठगिएका हुन । घोषणा भएको एक बर्ष बितिसक्दा पनि मिडिया हाउसका संचालकहरुलाई भेट्न नपाएको चेपाङले वताएका छन । काठमाण्डौंमा दर्ता भएको भनिएको सि ग्रिन मिडिया हाउसको ठेगाना समेत पत्ता लाग्न नसकेको र निर्देशक तामाङले सम्पर्कका लागि भनेर दिएको मोवाईल नम्बर लामो समय देखि प्रयोगमानै नआएको कारण मिडिया हाउसले ठगि गरेको आकाशको भनाई छ । आयोजकको घोषणापछि उत्साहित वन्न पुगेका चेपाङले म्युजिक भिडियोको लागि ऋण खोजेर गित रेकर्ड गराएपनि घोषणा कार्यान्वयन गराउने संस्थानै सम्पर्क वाहिर रहेपछि आफ्नो लगानी खेर गएको भन्दै सहयोगका लागि आग्रह गरेका छन ।
धादिङ जिल्लाको दक्षिणी भेगको विकटमा रहेको धुषा गाविसको दुमवाङमा जन्मिएका आकाश चेपाङ सिमान्तकृत चेपाङ समुदायका प्रतिनिधि हुन । उनि धादिङबाट प्रसारित रेडियो धादिङ १०६ मेगाहर्जमा चेपाङ भाषाका समाचार बाचक, कार्यक्रम प्रस्तोता एवं प्राविधिकको रुपमा कार्यरत छन । धादिङ तारा घोषणाका लागि आयोजना गरिएको कार्यक्रममा स्थानीय स्तरवाट सहभागी भएका व्यक्तिहरुले पनि अहिले वेवास्ता गरेको आकाशको गुनासो छ ।