साइकल सहित भैंसीलाई पानी दिने भाँडो चोरिँदा

615 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

– रामचन्द्र भट्ट

1420914124_ramchandra dai  photo‘ओऊ, हाउ नाइस इज योर कार’ (ओहो, तिम्रो कार कति राम्रो ।)’
बिहीबार कामबाट घर फर्कनका निम्ति कारमा चढ्दै गर्दा एक अपरिचित व्यक्तिले मेरो कारको निकै प्रशंसा गर्‍यो । मैले दुई वर्ष पुरानो भन्दा उसले मरिगए पत्याएन ।
‘मलाई पनि होण्डाको सिआरभी कार सार्है मन पर्छ । यो कार बेचेर तिम्रो जस्तै किन्ने विचारमा छु,’ उसले आफ्नो योजना समेत सुनाउन भ्यायो मलाई ।
गाडी पार्किङ गर्ने ठाउँमा अरू अधिकांश कारहरु कुनै धुलाम्य, कुनै हिलाम्य त कुनै कुच्चिएका छन् । मेरो कार भने उसको अनुहार समेत देखिने गरी टल्किएको थियो । त्यही भएर हुनुपर्छ उसले मेरो कारको प्रशंसा गरेको ।
बरु म आफू खाने, लगाउने मामिलामा त्यति ख्याल राख्दिन । तर आफ्ना सामान भने निकैनै हिफाजत गर्छु । आफूसँग सम्बन्धित चिजहरु कुच्चिएका, फोहोर मैलाले भरिएका मेरा आँखाले सहनै सक्दैन । दुई वर्ष पुरानो भएर पनि शायद मेरो कार नयाँ जस्तै लागेछ त्यो अमेरिकनलाई । गाडी स्टार्ट गरेर हिड्नु अघि उसले प्रस्ताव राख्यो–‘यो कार बेच्छौ भने म किन्छु । कतिमा बेच्छौं ?’
२०३८÷३९ साल हुनुपर्छ जतिखेर म ४ कक्षामा पढ्थे । सँगै पढ्ने केही साथीहरूले ज्यामिती बक्स (त्यतिखेर हामी इन्टुमेन बक्स भन्थ्यौं, तर वास्तविक नाम इन्स्ट्रयुमेन्ट बक्स) लिएर आएको देखेर मलाई पनि रहर लाग्यो । आवश्यकै भने परिहालेको थिएन ।
‘इन्टुमेन बक्स चाहिने भयो, सरले अर्को हप्ता लिएर आउन भन्नुभएको छ,’ एकदिन बासँग भने । छोराछोरीले आफ्नो पढाइका लागि भनेका चिजहरु किन्नमा बाले कहिल्यै कन्जुस्याई गरेको मलाई जानकारी छैन । उहाँले पनि भोलिपल्टै ल्याइदिनुभयो । बक्स किनेर ल्याउँदै गर्दा ९ कक्षामा पढ्ने गाउँकै टंकप्रसाद न्यौपानेले देखे । मलाई बडो डर थियो–‘कतै टंक दाइले अहिले ४ कक्षामै त यो बक्स चाहिदैन भनिदिए भने नराम्रोसँग बाको गाली खाइने भयो ।’
‘यो बक्स चाहिन्छ ४ कक्षादेखिनै । निकै राम्रो किनिदिनुभएछ छोरालाई । कति रुपैयाँ प¥यो नि ?’ टंक दाइले बासँग सोधे ।
‘२० रुपैयाँ ।’ त्यो समयको २० रुपैयाँ निकै ठुलो रकम थियो । सँगै कक्षाका साथीहरूले किनेको बक्स ५÷१० रुपैयाँभन्दा बढी मूल्यका थिएनन् । मेरो बक्समा पेन्सिल, इरेजर, कम्पासदेखि लिएर सामान राख्ने छुट्टाछुट्टै ठाउँ थिए । त्यही हुँदा पनि महँगो परेको थियो शायद ।
एकाध पटक बक्स बोकेर स्कुल गए । तर त्यतिखेर कक्षामा निकै चोरी हुन्थ्यो । साथीहरूको कापी, किताब, डटपेन नहराएको दिनै हुन्थेन । बक्सबाट कुनै चिज चोरी भयो भने नमज्जासँग बाको गोदाई भेटिने डरले गर्दा मैले बक्सलाई स्कुल लान छाडे । साँच्चै भन्ने हो भने बक्सको राम्रो उपयोग ८ कक्षामा नपुगेसम्म हुँदै भएन । तैपनि गणितका विभिन्न च्याप्टरहरुमा थोरैथोरै प्रयोग भने ५ कक्षाबाट हुन्थ्यो ।
४ कक्षामा छँदा किनेको बक्सबाटै मैले २०४५ सालमा एसएलसी परीक्षा दिए । सात वर्षसम्म चलाउँदा केही पुरानो देखिन्थ्यो, स्केलको धार बिग्रिएर दुई पटक नयाँ किनेर राखियो । तर बक्स भने उही थियो । अधिकांश सामानहरू सात वर्षसम्म मैले लगातार चलाए ।
ज्यामिती बक्समात्र होइन ८ कक्षामा किनेको झोला बोकेर मैले १० कक्षासम्म पार गरे । मैले अरूका पुराना किताबहरू कहिल्यै कहिल्यै पढिन । मैले कक्षा पार गरिसकेपछि मेरो किताब किन्नका लागि गाउँका धेरैले हानथाप गर्थे । तर ४ कक्षादेखिनै मेरो किताब किन्दै आएको यज्ञरथ पुडासैनीलेनै पाउँथ्यो । ‘यसपालि त तेरो किताब मलाई दे है रामचन्द्रे’ यसो भन्दै ६ महिना अघिदेखिनै बुकिङ गर्न खोज्नेहरु धेरै हुन्थे ।
–०–
एसएलसी पास गरिसकेपछि घर नजिकैको बट्टार क्याम्पस भर्ना भए । ५ किलोमिटर टाढा दिनदिनै बिहान हिँडेर जान सम्भव थिएन । बिहान ६ बजेनै क्याम्पस पुग्नुपथ्र्यो । केही दिन हिडेर गएपछि बाले साइकल किनिदिनुभयो ।
त्यतिखेर समयको निकै राम्रो थियो एटलस साइकल । बिहान अँध्यारैमा क्याम्पस जानुपर्ने भएकोले डाइनामो सहितको बत्ती पनि थियो साइकलमा । क्याम्पसमा मेरो साइकलमा सबैको आँखा लाग्थ्यो । ‘खै खै, यसो चलाइ हेरौ त’ भन्दै साथीहरूले मागेर हैरान । त्यही भएर बिहान पढाइ नहुने कक्षाकोठाभित्र लगेर साइकल लुकाउँथे । एकपटक पिएनले साइकल कक्षाकोठाभित्र राखेको देखेछन् । ‘अरूको साइकल बाहिर राखेपनि हुने तिम्रो साइकल चाँही किन भित्र ?’ पिएनले झपार्यो । मैले बाहिर राख्दा साथीहरूले मागेर हैरान पारेको भनेपछि उ पनि निरुत्तर भयो ।
हरेक दिन क्याम्पसबाट आएपछि साइकललाई पुछेर चिटिक्क पारेर राख्थे म । कतिसम्म भने तोरीको तेललाई कपडामा भिजाएर त्यसले पुछ्थे । अनि साइकल टिलिक्क टल्किथ्यो । तर सडकको धुलो टिपेर भने हैरान ।
झण्डै पाँच वर्षसम्म निरन्तर बोक्यो त्यो एटलस साइकलले मलाई । मलाई बि.ए. (स्नातक) सम्म पास गरायो त्यही साइकलले । जाइकाको एउटा प्रोजेक्टमा केही महिना काम गर्दा कल्याणपुरको डेउडीसम्म जान आउन समेत त्यसले मलाई मद्धत गर्‍यो ।
घरमा एउटा साइकलले मात्र नपुग्ने भएपछि मैले २०५१ सालमा नयाँ साइकल किने । उद्योग वाणिज्य सङ्घमा काम गर्थे म त्यतिखेर । दसैँ खर्च समेत आएको मौका छोपेर मैले नयाँ साइकल किनेको थिए काठमाडौँको असन कमलाक्षी गएर । अनि बसको छतमा राखेर ल्याएको थिए मैले त्यो साइकललाई ।
बाङ्गो परेको ह्याण्डल र अगाडि ‘शक’ थियो त्यो साइकलमा । शकले गर्दा साइकल चलाउँदा हात त्यति थर्कदैनथ्यो ।
यो साइकललाई पनि मैले कम्ती मायाँ गरिन । चिटिक्क पारेर सफा गर्थे काममा जानुभन्दा पहिले । उद्योग वाणिज्य सङ्घको कार्यालय त्यतिखेर बिदुरको सिडिओ कार्यालय जाने चोकमा थियो । बाहिर साइकल राख्दा मान्छेले मागेर हैरान भएपछि भित्र बरण्डामा राख्न थाले । रत्नलाल श्रेष्ठको घरमा थियो वाणिज्य सङ्घ । त्यो घरमा पछाडि बरण्डा भएकोले साइकल राख्न कुनै समस्या थिएन । बरण्डामा साइकल राख्दा दुईवटा फाइदा थियो । पहिलो, कसैले पनि साइकल देख्दैनथे अनि माग्न सक्दैनथे । दोस्रो धुलो, पानीले पनि असर पु¥याउँदैनथ्यो ।
झण्डै ६ वर्ष चढेँ होला त्यो साइकल पनि मैले । हिउँदको समयमा बेलुकी अफिसबाट घर फर्केपछि साइकललाई आँगनमा ताल्चा समेत नलगाई त्यत्तिकै राख्थे म । एक बिहान आमा उठ्दा नत साइकल छ, नत गाई भैँसीलाई पानी दिने ठुलो भाँडोनै थियो । अर्थात् राति चोरले साइकल, गाईभैसीलाई पानी दिने भाँडो चोरेछ ।
केही दिनसम्म त हामीले खोजी गर्‍यो । तर साइकल पत्ता लाग्न सकेन । साइकल नहुँदा दैनिक काममै समस्या हुन थाल्यो । त्यतिखेर मैले पत्रकारिता सुरु गरिसकेको थिए । त्रिशूली प्रवाह साप्ताहिक निकाल्न पनि सुरु गरिसकेका थियौँ मैले र शरण उत्सुक भएर ।
मोटरसाइकल किन्नसक्ने क्षमता मेरो थिएन । साइकल नभै पेशानै नचल्ने भयो । बिहेमा प्राप्त सिक्री र औंठी नेपाल बैङ्कमा धितो राखेर आठ हजार रुपैयाँ ऋण निकाले मैले । अनि त्रिशूली प्रवाह छाप्न काठमाडौँ गएको मौकामा सातहजार ६ सय रुपैयाँमा अगाडि, पछाडिनै ‘शक’ भएको माउन्टेन बाइक किने मैले । नयाँ साइकल किनेको केही दिनमै हराएको साइकल पनि धादिङको गल्छी नजिकै एक घरमा फेला पर्‍यो ।
त्यो साइकल त्यतिखेर विदुरमा ‘वान पिस’ थियो । निलो रङ्गको त्यो साइकललाई आँखा नलगाउने शायद कोही भएनन् । कहीँ राख्दा सफा, चिटिक्क अनि टल्किएको साइकल देखेर ‘यसो चढि हेरौं न’ भन्ने त कतिकति ?
२४ गिएरको साइकल हुँदा पहिलाको जसरी जो पायो त्यहीलाई मैले दिइन चलाउनका लागि । किनकि गिएर चेन्ज गर्दा फँस्यो भने मिलाउन निकै कठिन हुन्थ्यो । असार, साउनमा सडक हिलाम्य हुन्थ्यो । गंगटेनिर सडकमा साइकल आधा डुबाउने हिलो हुन्थ्यो । साइकललाई पुछ्दा र सफा गर्दैको हैरान । तर पनि मैले कहिल्यै साइकललाई फोहोर, हिलो र धुलोले छोपिन दिइन । सधैभरि सफा अनि टिलिक्क टल्किनेनै हुन्थ्यो मेरो साइकल । त्यो साइकललाई नुवाकोटको घरमै छाडेर म २०५८ सालमा राजधानी काठमाडौँ पसे ।
तीन वर्ष सार्वजनिक सवारी साधन चढेर पत्रकारिता गरेपछि मोटरसाइकल बाध्यता बन्यो काठमाडौँमा । त्यतिखेर कार्यरत नेपाल समाचारपत्रको कार्यालय थियो सोल्टी होटलको गेट अघिल्तिर । रिपोर्टिङको केन्द्र हुन्थ्यो सिंहदरबार अनि घरी बानेश्वर, घरी दरवारमार्गका होटलहरु त कहिले बौद्ध स्थित हायात होटल । सार्वजनिक सवारी साधन एक त समयमा नपाइने, पाइहाले पनि रुट नमिल्ने कारणले कार्यक्रममा जानुपर्दा तीन घण्टा पहिलेदेखिनै निस्कनुपर्ने ।
२०६१ सालमा जुन बेला तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिए दिनदिनै जसो आन्दोलन हुन्थ्यो दलहरूको । रत्नपार्क केन्द्रित आन्दोलनले गर्दा सोल्टीमोडबाट बानेश्वर जान चढेको टेम्पोलाई ट्राफिक प्रहरीले कालीमाटी चोकबाट बल्खुतिर पठाउँथे । अनि त ओर्लेर बानेश्वरसम्म लुखुर लुखुर हिड्नुको विकल्पनै रहेन ।
पत्रकारिता पेसा धान्नका लागि पनि मोटरसाइकल बाध्यता बन्यो । किन्न त किन्ने तर हातमा एक पैसा बचत छैन । जे पर्ला त्यही टर्ला भन्ने सोचेर साथीभाई, आफन्त हरेकसँग १०÷२० हजार सापट गरेर बजाजको डिस्कभर मोटरसाइकल किने । नपुग ५० हजार एनएमबी फाइनान्स (हालको एनएमबी बैङ्क) सँग ऋण लिए ।
एकलाख ११ हजार रुपैयाँ प¥यो मोटरसाइकलको । त्यति धेरै मूल्य परेको मोटरसाइकललाई मैले मायाँ नगर्ने कुरै भएन । त्यतिखेर बाफलमा बस्थे । मोटरसाइकललाई टिलिक्क टल्काउनका लागि ‘वाक्स’ लगाएर पुछ्थे दैनिक । घरबाट निस्कनु अघि आधा घण्टाजति मोटरसाइकललाई पुछपाछ गरेपछिमात्र हिड्थे ।
मैले आठ वर्ष बजाजको त्यो डिस्कभर बाइक चढे । म अमेरिका आउनु अघिसम्म पनि त्यो मोटरसाइकल आठ वर्ष पुरानो भन्ने सङ्केत कतैबाट दिँदैनथ्यो । मोटरसाइकललाई अरूले बाहिर घाम र पानीमा राख्थे । तर मैले जहिलेपनि भएसम्म ओत लाग्ने ठाउँमै राख्थे । त्यसो गर्दा एकातिर घामपानीले चाडो बिगार्नेमात्र नभएर पेट्रोल पनि उडेर जाँदैनथ्यो । समाचारपत्रको सोल्टीमोड अफिसमा अण्डरग्राउण्ड राम्रो पार्किङ थियो । तर अधिकांशले चाहे चर्को घाम होस् या असार साउनको ठुलो वर्षा, बाहिरनै राखिदिन्थे मोटरसाइकल । अनि स्टार्ट गर्ने बेलामा स्टार्ट नभएपछि तिनीहरूको चेत खुल्थ्यो । त्यतिमात्र कहाँ हो र ? किक हानेर स्टार्ट हुने छ भने एक किक हान्यो, स्टार्ट ग¥यो र दौडाई हाल्ने प्रवृत्ति अधिकांशको देखिन्छ । अनि सेल्फ (इलेक्ट्रिक) स्टार्ट हुने बाइक छ भने पनि स्टार्ट बटन थिचेर दौडाइहाल्ने । स्टार्ट भएको दुई मिनेटसम्म इन्जिनलाई तात्न दिँदा बाइकको आयु लामो हुन्छ भन्नेतिर कसैको ध्यान पुग्दैनथ्यो ।
मेरो त्यो बाइकमा सेल्फ स्टार्टटर भएपनि बिहान सुरुको स्टार्ट गर्दा कहिल्यै त्यो बटन प्रयोग गरिन । किक हान्थे म बिहानको पहिलो स्टार्टमा । त्यसो गर्दा व्याट्रीको आयु लामो हुन्छ भनेका थिए एकजना निकै पुराना मेकानिकले । मैले केही समय ‘अटो नेपाल’ नामक अटोमोबाइल्स सम्बन्धी मासिक पत्रिकामा काम गर्दा धेरै गाडी मेकानिक्सहरुसँग अन्तरवार्ता लिएको छु । त्यही क्रममा उनीहरूको त्यो टिप्स मेरो जीवनमा निकै उपयोगी पनि रह्यो ।
बाइकको साह«ै ख्याल गरेको अनि सफा चिटिक्क राखेको देखेर अफिसका साथीहरू लोभिन्थे पनि । अफिसका गार्डहरु कहिलेकाँही जिस्काउँदै भन्थे–‘सर, आज त पानी परेको छ । बाइक चढेर जानु भयो भने हिलैहिलो लाग्ला । हिडेरै जानुस कि त अफिसको गाडीमा जानुस ।’ साँच्चै हो, म पानी परेको समयमा अरूले जसरी हिलो अनि सडकको पानी अन्य सवारी साधन र पैदलयात्रुलाई छ्यापिनेगरि कहिल्यै चलाइन । दुई नम्बर गियरमा बिस्तारै चलाएर जाँदा बाइक पनि फोहोर नहुने र अरूलाई पनि छ्यापिदैनथ्यो ।
आपूmलाई भन्दा पनि सवारी साधनलाई बढ्ता ख्याल गर्ने मेरो बानीले कति पटक त जीवनसँगिनीसँग पनि बाझाबाझ परेको छ । ‘कति सुम्सुम्याउनु परेको त्यो मोटरसाइकल, यसो छोराछोरीलाई स्कुल पठाउन तयार पारिदिए पनि त ठुलै सहयोग हुन्थ्यो नि,’ उनको सधैँ गुनासो हुन्थ्यो । कहिलेकाँही त सारै रिसाएर पत्नीले मोटरसाइकललाई सफा गर्दैगर्दा व्यङ्ग्य पनि गर्थिन–‘कान्छी स्वास्नीलाई सुम्सुम्याएर सकिएन भन्या ।’ सवारी साधनलाई अलिकति पनि समय दिएर सरसफाइ अनि दुरुस्त राख्ने हो भने दुख पाइदैन । अनि बेच्नैपर्दा पनि किन्नेहरु राम्रै मूल्य तिर्न तयार हुन्छन् ।
सिलिकन भ्यालीमा छँदा माउन्टेन बाइक किनेको थिए कहिलेकाँही काममा आउँछ भनेर । धेरैजसो त काममा जाँदा आउँदा साथीकै गाडी प्रयोग हुन्थ्यो । तर उनको छुट्टी हुँदा साइकलमा जाने आउने गर्थे । झण्डै चार माइल थियो काम र घरको दूरी । झण्डै दुईसय डलर तिरेर किनेको त्यो साइकल निकै राम्रो थियो । पहिलेको अपार्टमेन्टमा छँदा आफ्नै बेडरुममै हुन्थ्यो त्यो साइकल । योगेश रुम पार्टनरमा आएपछि साइकल बरण्डामा स¥यो ।
एक बर्षजति चढियो होला त्यो साइकल । हप्तामा एक वा दुई पटकमात्र प्रयोगमा आउँथ्यो । त्यसलाई यता ल्याउन मन नगरेको पनि होइन । दुईसय डलरको साइकललाई यहाँ (ओक्लाहोमा) ल्याउननै तीनसय डलर खर्च लाग्ने भयो । अति मायाँ गरेको मेरो साइकल साथीलाई जिम्मा लगाएर यता उडेको थिए म ।
म सामानलाई अत्यन्तै हिफाजतसाथ चलाउँछु । पाँच वर्ष अघि अमेरिकाकै वासिङटन डिसीको बेस्टबाइमा किनेको मेरो ल्यापटप देख्ने जो कसैले पनि यति पुरानो भनेर सोच्न पनि सक्दैन ।
‘कति भयो यो किनेको ? ६ महिना ?’ सँगैको अपार्टमेन्टमा बस्ने एक भारतीय विद्यार्थीले केही दिन अघि सोधे । मैले पाँच वर्ष अघि किनेको बताउँदा उस्ले विश्वासै गरेन । यसलाई मैले नेपालमा तीन वर्ष र अमेरिका आएपछि दुई वर्ष प्रयोग गरिसकेको छु । पाँच वर्ष अघि आठसय डलर भन्दा केही बढी तिरेर किनेको यो ल्यापटपलाई मैले हिफाजत गरेको देखेर केही महिना अघि कम्प्युटर मर्मत गर्ने कम्पनी ग्रीकस्क्वाडका प्राविधिकहरुनै जिल्ल परेका थिए ।
नेपालबाट आउँदादेखि एन्टीभाइरस नराखेको हुँदा तीन महिना अघि कम्प्युटरमाथि एक्कासि भाइरसको आक्रमण हुनेभन्दा अरू पाँच वर्षको अवधिमा कुनै समस्या मैले व्यहोर्नु परेको छैन । यो मेरो हिफाजतकै परिणाम हो ।
मेरो शरीरको जति मायाँ छ मेरा सामानलाई पनि म त्यत्तिकै माया गर्छु । मैले यिनीहरूलाई मायाँ गरेर हिफाजत गरेमा न यिनीहरूले धोका दिदैनन् । शायद यही कारणले होला मैले आफ्ना यी सामानहरुबाट जिन्दगीमा धोका पाउनु परेन । मेरो अनुभवले सिकाएको यथार्थता हो यो ।

– हिमालय खबर डट कमबाट