धुन्चे–गोसाइँकुण्ड केबुलकार निर्माण माग

772 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रसुवा- तीर्थस्थल गोसाइँकुण्ड केबुलकार निर्माणको कार्य अगाडि बढाउन समाजसेवीले माग गरेका छन् । चर्चा चलेको १० वर्ष बितिसक्दा पनि केबुलकार निर्माण गर्नेतर्फ कुनै पनि सरकारी एवं गैसस अघि नबढ्दा यहाँका बासिन्दा माझ निरास छाएको छ ।

Cable-Carकेबुलकार निर्माणको प्रक्रिया छिटै अगाडि बढाइदिन सरकारसमक्ष आग्रह गर्दै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले केबुलकार लगानीकर्तालाई स्थानीयस्तरको सहयोग पूर्ण रुपमा मिल्ने बताए । धुन्चेको च्यानडाँडादेखि नागुको कुना खर्क हुँदै भैरवकुण्ड र सरस्वतीकुण्डलाई बायाँ पार्दै गोसाइँकुण्डको हेलिप्याडसम्म १८ किमी दूरीको केबुलकारको संरचना बनाउन रु एक अर्ब ८३ करोड लागत अनुमान यसअघि नै सार्वजनिक भइसकेको छ । स्याफ्रुबेंसीमा २२ मेगावाट क्षमताको विद्युत्गृह निर्माण भएपछि धार्मिक क्षेत्रको महत्व बढाउने र केबुलकार प्रयोगकर्ताको चहलपहल बढाई स्थानीयस्तरको आय वृद्धिमा समेत टेवा दिने काममा योगदान दिन आफ्नो संस्था तत्पर रहेको चिलिमे जलविद्युत् कम्पनीका निर्माता पूर्वप्रबन्ध सञ्चालक डा डम्बरबहादुर नेपालीले २०६० सालमा बताएका थिए । धुन्चे निवासी साङ्तेम्बा तामाङले सबस्टेसन बनाउन धुन्चेको स्याउबारी डाँडामा आफ्नो नाउँमा रहेको १० रोपनी जमिन निःशुल्क उपलब्ध गराउने वचन दिएका थिए ।