पर्यटकीय क्षेत्र खाल्टेमा कसरी पुग्ने ?

1016 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dhadomgधादिङ– माघे संक्रान्तिको अवसर पारेर धादिङको खाल्टे गाउँ विकास समिति को फ्याक्सेमा पहिलो पटक  गोरु जुधाई प्रतियोगिता हुने भएको छ । खाल्टे गाउँ विकास समितिलाई पर्यटन क्षेत्रमा विकास गर्ने र स्थानीय पहिचानहरुलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । खाल्टे गाउँ विकास समितिको फ्याक्सेमा हुने प्रतियोगितामा सहभागी हुनको लागि आयोजकले सबैलाई आग्रह गरेको छ । एक दर्जन भन्दा बढी हल गोरु जुधाईने प्रतियोगितामा बिजयी गोरु धनीलाई नगद सहित पुरस्कृत गरिने छ । खाल्टे गाउँ विकास समितिमा विभिन्न ऐतिहासिक र पर्यटकीय क्षेत्रहरु पनि रहेका छन्
कसरी पुग्ने खाल्टे गाविसमा ?
धादिङबेसीबाट मोटरमा एक घन्टा लाग्छ। धादिङबेसीबाट हिँडेर जाने हो भने साढे दुई घन्टा लाग्छ। गल्छी हुँदै केउरिनी पुगेर पाँच घन्टा पदयात्रा गरे पनि हुन्छ। धादिङबेसीबाट जाँदा अरुण खोला किनारै किनार पानीको कलकल आवाज र पाइलैपिच्छे छाँगाबाट छङछङ बग्ने संगीतमय फोहराले बाटो काटेको पत्तै पाइन्न। पानीघट्ट, चरा, वनजंगल र फूलले यात्रा अविस्मरणीय बन्छ।
खाल्टे गाउँ विकास समितिमा हेर्न लायक स्थानहरु
गाउँका सात तले चमेरे गुफा, लामागुरु गुम्बा, टोड्के चुली र तुप्चेडाँडा प्रख्यात छन्। त्यस्तै २२ मिटर लम्बाइको चमेरे ओडार, ऐतिहासिक पैसा तथा हतियार पाइने नारनडाँडा, शंखादेवी मन्दिर, बौद्ध गुम्बा, रघुनाथ चुली, लिफ्टिङ प्रोजेक्ट पर्यटकीय आकर्षण हुन्।
गुफामा पर्यटक बढ्दै गएपछि होमस्टे परिकल्पना गरिएको। होमस्टे दर्ता प्रक्रियामा छ। ६ घरमा यो सुविधा छ। प्रत्येक घरमा ६ जना बस्न मिल्छ।
खाल्टे–७ मा नाकढुंगा गुफा छ। होमस्टेबाट एक घन्टामा त्यहाँ पुगिन्छ। गुफाका प्रत्येक तलामा शिव पार्वतीका मूर्ति, देवदेवी र मादल तथा बाजाका आकृति छन्। सबै तला घुम्न दुई घन्टा लाग्छ।
गुफाको भित्तामा चमेरा झुन्डिएका देखिन्छन्। गुफा प्रवेश गर्न साहसिक मुटु चाहिन्छ। एकैपटक ५र७ जनाभन्दा बढी जाँदा अक्सिजन कम हुन्छ। टर्च लाइट बोक्नुपर्छ।
मध्य भागमा पुगेपछि चढ्ने ठाउँ साँघुरो र चिप्लो छ। सावधानीपूर्वक हिँड्नुपर्छ। गुफा प्रवेश गर्ने कपडा छुट्टै भए राम्रो।
गुम्बा पुग्न पनि एक घन्टा लाग्छ। त्यहाँ लामागुरु पद्मसंभवको चित्र छ। ढुंगामा भोटे भाषामा मन्त्र लेखिएको छ। नजिकै झुमाले नुहाउने कुमारी धारा छ।
पात्लेको अर्को रमणीय ठाउँ टोड्के चुली। गुम्बाबाट लामागुरुदेखि एक घन्टामा टोड्के चुली। टोड्के आफैंमा खाल्टे भ्युटावर हो। त्यहाँबाट गणेश, मनास्लु, लाङटाङ, माछापुच्छे्र, निलगिरी, धौलागिरी, अन्नपूर्णलगायत हिमशृंखला देखिन्छ। गाउँबाट दुई घन्टा लाग्छ त्यहाँ पुग्न। त्यहाँबाट सूर्योदय देखिन्छ।
बस्तीमा गुरुङ समुदायको कौरा, चुड्का, मारुनी, सोरठी, घाटुनाच हेर्ने सुविधा छ। देउराली गाउँमा मगरको घाटु, फ्याक्सेमा नेवारको टाकटुके र लाखे, काउलेमा तामाङको घोडचढी, पतेनिमा बाहुनको भजन र डाँडागाउँमा वाहुनवाजा, मगर वाजा छ।
कसरी पुग्ने ?
काठमाडौंबाट धादिङबेसीसम्म ८५ किलोमिटर कालोपत्रे र धादिङबेसीदेखि पात्लेसम्म साढे ९ किलोमिटर ग्राभेल सडक छ। काठमाडौं–धादिङ बससेवाबाट धादिङबेसी पुगेपछि खाल्टे रुटमा चल्ने बस, ट्रक, जीप चढ्नु पर्छ । पृथ्वी राजमार्गको गल्छीबाट डुम्रिचौर, कल्लेरी, पोखरीगाउँ सुनौला बजार हुँदै पनि पात्ले पुग्न सकिन्छ।
होमस्टे प्याकेज
नेपालीका लागि एक रात प्याकेज मूल्य १,३३५ रुपैयाँ। प्याकेजमा स्वागत, बिदाई, सुकुटी वा साँधेको गुन्द्रुक, भटमाससँग (कोदोको रक्सी), लोकल कुखुराको मासुसहित बेलुका र बिहानको खाना एवं बास सुविधा हुन्छ। भरिया र सांस्कृतिक कार्यक्रमको थप शुल्क तिर्नुपर्छ।