राजधानीका सडकमा एक एक सिक्का उठाएर जोगिमाराका विपन्नलाई कपडा

808 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,३ माघ-  राजधानीका सडकमा सर्वसाधारण संग एक सिक्का संकलन गरी जम्मा गरिएको रकमले धादिङको जोगिमाराका विपन्न चेपाङ र दलित समुदायलाई न्यानो कपडा बितरण गरिएको छ । रचनात्मक कार्यवाट समाजसेवा गर्ने लक्ष्यका साथ चार महिना अघि स्थापना भएको नविनतम नेपालको समाजले राजधानीका सडकहरुमा संचालन गरेको ‘हामी नेपाली एक ढिक्का सहयोगका लागि एक सिक्का’ अभियान अन्र्तगत शनिवार जोगिमाराका विपन्न ८१ घर परिवारलाई न्यानो कपडा बितरण गरिएको हो ।
DSC_0278शनिवार जोगिमारा गाविसको पिपलडाँडामा एक कार्यक्रमको आयोजना गरी स्थानीय ८१ घर परिवारका ४० जना अति विपन्न जेष्ठनागरिकलाई कम्वल र अन्य २ सय ९ जना महिला पुरुषका लागि छुट्टाछुट्टै कपडाहरु हस्तान्तरण गरिएको थियो । यसरी दिईएका कपडाहरुमा महिलाका लागि ४० थान नयाँ सारीका साथै ज्याकेट र पुरुषका लागि सर्ट,पाईन्ट ज्याकेट लगायतका ७० हजार रुपैयाको नयाँ कपडाहरु रहेको संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।
DSC_0320स्थानीय पिपलडांडा प्राविमा आयोजना गरिएको लत्ताकपडा वितरण कार्यक्रममा स्थानीय अगुवा चेपाङका साथै शिक्षक र सहयोगी संस्थाका सदस्यहरुको समेत उपस्थिती रहेको थियो । चिसोका कारण राजधानीको छेवैमा रहेका चेपाङ बस्तीका वासिन्दा अत्यन्तै कष्टकर जिवन विताउन वाध्य भएको सुनेपछि आँफुहरुले राजधानीको सडकमा वसेर ‘हामी नेपाली एक ढिक्का सहयोगका लागि एक सिक्का’ अभियान संचालन गरी सहयोग संकलन गरेको र अभियानवाट प्रभावित भई केही सहयोगी दाताहरुले कपडानै सहयोग गरेपछि विपन्न परिवारलाई उक्त कपडा बितरण गरेको संस्थाका कार्यक्रम संयोजक भोला तिमिल्सिनाले वताउनु भयो । दाताहरुले जाडोमा ओढ्ने र न्यानो कपडा दिएपछि विपन्न चेपाङहरुले खुसीमा नाचेर दाताको स्वागत गरेका थिए । पिपलडाँडा प्रा.वि. व्वयस्थापन समितिका अध्यक्ष रामवहादुर चेपाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल चेपाङ संघ धादिङ जिल्ला कार्य समिति सदस्य विश्वनाथ चेपाङ,बिद्यालयका शिक्षक राजेश्वर पोखरेल र लालवहादुर चेपाङ लगायतको आतिथ्य रहेको थियो ।