१० वर्षमै त्रिशूली नदीमा एक हजार मेगावाट बिजुली

821 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  • chilime_Hydro_Layout-2

  • रामहरि गजुरेल

hydro
रसुवागढी, माघ ५ – विद्युत् उत्पादनको प्रशस्त सम्भावना रहेको त्रिशूली (नुवाकोट र रसुवा) मा एकपछि अर्को साना र ठूला जलविद्युत् आयोजनाहरुको निर्माणले तिव्र गति लिइरहेको छ । अबको १० देखि १५ वर्षभित्रमा धेरै विद्युत् आयोजनाहरुको नदीको रुपमा त्रिशूलीलाई देख्न सकिन्छ ।

अहिले यहाँ सुरु भएका र प्रस्तावित आयोजनाहरुको निर्माण सम्पन्न हुँदा नुवाकोट र रसुवाको त्रिशूली नदीमा मात्रै २० आयोजना हुने र त्यसबाट एकहजार १ सय ६० मेगावाटको जलविद्युत् उत्पादन हुनेछ । यसपछि ¥याफ्टिङ (जलयात्रा), माछा लगायतका प्रसिद्धीले चिनिएको त्रिशुली नदीलाई अबको केही वर्षभित्रै विद्युत करिडोरको नामलेसमेत चिनिने छ ।

chilime_Hydro_Layout (2)

आगामी दुई वर्षको अवधिमा नुवाकोट र रसुवा जिल्लाबाट तीन सय ३९ मेगावाट जलविद्युत उत्पादन हुने देखिएको छ । यहाँबाट उत्पादित विद्युतले देशमा बढ्दो लोडसेडिङको भार कम गर्नमा ठूलो मद्दत पुग्नेछ । सन् २०१६ को अन्त्यसम्ममा यी दुई जिल्लाबाट उक्त बिजुली उत्पादन हुने भएको हो ।

जसमा पहिलो भोटेकोसी हुँदै बगेको त्रिशूली नदीबाट मात्रै तीन सय २४ मेगावाट बिजुली उत्पादन हुने छ । यसमा हाल विद्युत उत्पादन गरिरहेका चिलिमे जलविद्युत् कम्पनीको २० मेगावाट, त्रिशूली जलविद्युत् केन्द्रको २१ मेगावाट र देविघाट जलविद्युत् केन्द्रको १४.१ मेगावाट समेत रहेका छन् ।

ती बाहेकका निर्माण सुरु भएको र निर्माणको अन्तिम चरणमा रहेको ६० मेगावाट क्षमताको त्रिशूली ३ ए, १०१ मेगावाटको रसुवागढी, ३७ मेगावाटको त्रिशूली ३ बी, ४२.५ मेगावाटको साङ्जेन र १४.६ मेगावाट क्षमताको अपर साङ्जेन, ६ मेगावाटको मैलुङ रहेका छन् । यी बाहेक त्रिशूली नदीबाट २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १, १०२ मेगावाट क्षमताको माथिल्लो त्रिशूली २ र ६५ मेगावाट क्षमताको मध्ये त्रिशूली आयोजना निर्माण हुने भएको छ ।

chilime_Hydro_Layout (2)

यसरी जलविद्युत् क्षेत्रमा नुवाकोट र रसुवामा भएको कार्यलाई र लगानीलाई प्रोत्साहन गर्दै उर्जा मन्त्रालयले दुई वर्षअघि नै त्रिशूली नदीको नुवाकोट र रसुवा क्षेत्रलाई विद्युत् करिडोर घोषण गर्ने तयारी समेत गरेको थियो । मन्त्रालयका अनुसार अबको केही समयमै यसलाई विद्युत करिडोर घोषणा गर्ने योजना बनाएको छ । पुर्व उर्जामन्त्री स्व. पोष्टबहादुर बोगटीले आफ्नो पालामा करिडोर घोषणा गरी विद्युत विकास गर्ने कार्यक्रम ल्याएका थिए । तर, उनको कार्यकाल समाप्तीपछि सरकारले त्यसलाई खासै चासो दिन सकेको छैन ।

तत्कालिन समयमा बोगटीले लाइसेन्स लिएर निर्माण सुरु नगरेकाहरुलाई जलाशययुक्त आयोजना निर्माण गर्न उत्प्रेरित गर्ने तथा निर्माण थालिएका हरुका लागि दुईसय २० केभी ट्रान्समिसन लाइनको क्षमता वृद्धि गर्ने योजना साथ करिडोर घोषण गर्ने तयारी भएको थियो ।

भारतीय लगानीमा बनेको त्रिशूली र देविघाटपछि निजी क्षेत्रको ठ”लो र पहिलो सफल परियोजना रुपमा देखापरेको चिलिमेले रसुवामा थप तीन आयोजना निर्माण गर्न काम सुरु गरिसकेको छ । अहिले चिनियाँ लगानीकर्ताको आकर्षण बनेको त्रिशूलीमा चीनकै सहुलियतपूर्ण ऋणमा माथिल्लो त्रिशूली ३ ए निर्माण करिब ५० प्रतिशतभन्दा बढी भैसकेको छ ।

चीनकै नीजि क्षेत्रको कम्पनी हाइड्रो चाइना कर्पोरेसनले १०२ मेगावाटको माथिल्लो त्रिशूली २ निर्माण गर्ने तयारी थालेको छ । यससँगै हाइड्रो चाइनाले २ सय २९ मेगावाटको माथिल्लो त्रिशूली २ ए निर्माण गर्न विद्युत विकास विभागमा दुई वर्षअघि नै प्रस्ताव पेश गरि प्रकृया अघि बढाइसकेको छ । पछिल्लो समय जलविद्युतमा लगानी ह्वात्तै बढेपछि मध्यम खालका आयोजना निर्माण गर्न त्रिशूली नदी धेरैको रोजाईमा परेको छ ।

विद्युत् विकास विभागका अनुसार चीन सीमानादेखि बग्ने त्रिशूली नदीको रसुवागढीदेखि नुवाकोट र धादिङ जिल्लाको सिमानानजिक देविद्याटसम्म नयाँ आयोजना निर्माणका लागि थप अनुमति लिने ठाउँ नै बाँकी छैन । थप पाँचवटा आयोजनाले प्रारम्भिक सर्वेक्षण अनुमति लिएको र सात आयोजनाले अनुमतिका लागि विभागमा प्रस्ताव पेश गरिसकेको विभागले जनाएको छ । सुरु भएका र प्रस्तावित आयोजना निर्माण सम्पन्न हुँदा नुवाकोट र रसुवाको त्रिशूली नदीमा मात्रै २० आयोजना हुने र एकहजार १ सय ६० मेगावाटको जलविद्युत् उत्पादन हुनेछ ।

 – See more at: http://www.ratopati.com/2015/01/19/200975.html#sthash.jHRE77dL.dpuf