उत्तरी गोरखाको तीन गाउँ लालपूर्जाविहीन

687 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

VillageNepalगोरखा । गोरखा जिल्लाका उत्तरी भेगका दुई गाविसका तीन गाउँ लालपूर्जाविहीन छन्। तिब्बतसँग सिमाना जोडिएका सामागाउँ गाविसको वडा नं १, २, ३, ४, ५ र ६ मा रहेको सामागाउँ, सोही गाविसको वडा नं ७, ८ र ९ मा रहेको साम्दो गाउँ तथा ल्हो गाविसको स्याला गाउँका सबै घर लालपूर्जाविहीन भएका हुन्।


सामागाउँ गाविसका करिब सय घर, साम्दो गाउँका करिब ३५ घर र स्याला गाउँका करिब १०० घरको लालपूर्जा नभएको स्थानीय बासिन्दाको भनाइ छ। ‘२०३८ देखि यहाँ बनेका सबै घरको लालपूर्जा छैन,’ स्थानीय छिरिङ हिराचनले भने, ‘जनसङ्ख्या बढ्दैछ, बस्ती थपिँदैछ तर ३० वर्षदेखि गाउँमा नापी आएको छैन। हामीले सरकार फेरिएपिच्छे जग्गा नापी गर्न माग गरेका छौँ।’

त्यस भेगका स्थानीय बासिन्दाले जिल्ला तहमा पटक–पटक नापी पठाउन आग्रह गरे पनि स्थानीय प्रशासनको सहयोग नपाएको गुनासो गर्दै आएका छन्। त्यसैगरी ३५ घरधुरी रहेको सोही गाविसको वडा नं ७, ८ र ९ को साम्दो गाउँका सबै घर लालपूर्जाविहीन छन्। हिराचनका अनुसार गाविसका जनप्रतिनिधिले दामासाहीले सार्वजनिक जग्गा बाँडफाँड गरेर बसोवास गरेका हुन्।

‘गाविसका जनप्रतिनिधि बसेर लम्बाइ सात मिटर, चौडाइ तीन मिटर भएको घडेरी बाँडेको हो,’ उनले भने,’जङ्गलमा बस्न जाने कुरा भएन, बस्ती मिलेको र मूलबाटो परेको ठाउँमा दर्ता भएको जग्गा छैन। त्यही भएर बाध्य भएर सार्वजनिक जग्गा दामासाहीले बाँडेर लिएका हौँ। यसलाई सरकारले नीति बनाएर लालपूर्जा बनाइदिनुपर्छ। त्यस्तै ल्हो गाविसको स्याला गाउँका करिब सय घर पनि सार्वजनिक जग्गामा छन्। लार्केपास गर्ने र मनास्लु हिमाल आरोहण गर्ने मूलबाटोमा रहेको यो बस्तीमा अहिले बनेका र अझै बन्दै गरेका घरको पनि लालपूर्जा नभएको स्थानीय प्रेमबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार अहिले बस्ती बस्न सुरु गरेको अर्को वञ्जम गाउँको पनि कुनै पनि घरको लालपूर्जा छैन। प्रोक गाविसको नाम्रुङ गाउँमा नयाँ बन्दै गरेको नौवटा घरको पनि लालपूर्जा छैन। लामो समयदेखि जग्गा दर्ता गर्ने र लालपूर्जा बनाउने काम बन्द भएकाले यस्तो समस्या भएको नाम्रुङका छिरिङ याङ्जुम लामाले बताए।

सरकारले ३० वर्षदेखि जग्गा दर्ता गर्ने क्रम रोकेकाले गोरखामा मात्र नभएर देशैभरि यस्तो समस्या भएको जिल्लास्थित मालपोत कार्यालयले जनाएको छ।