माघ १६ र १७ गते खहरेमा स्वास्थ्य शिविर आयोजना हुने

653 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

eeeeeeeeeeeeeeeeeeeeeeeeeeधादिङ, ७ माघ – विपी हेल्थ फाउण्डेशन र विपी चिन्तन प्रतिष्ठानद्वारा संयुक्तरूपमा धादिङ जिल्लाको त्रिपुरेश्वर गाविसको खहरेस्थित नेत्रवती बहुमुखी सामुदायिक क्याम्पसको हातामा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।

माघ १६ र १७ गते हुने सो दुईदिने शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्त्रीरोग, छाती, पेट तथा छाला रोग, मुटु, मिर्गाैला, नाक, कान, घाँटीलगायतका सेवा प्रदान गरिनुका साथै निःशुल्क रूपमा औषधिसमेत वितरण गरिने कार्यक्रम संयोजक ध्रुवबहादुर पाण्डेले जानकारी दिनुभयो ।

शिविरमा छाती रोग विशेषज्ञ प्रा कविरनाथ योगी, छाला रोग विशेषज्ञद्वय प्राडा दिनेशविनोद पोखरेल र प्राडा सुदिप पोखरेल, स्त्रीरोग विशेषज्ञद्वय प्राडा देवी गुरुङ र प्राडा उमाकान्त भट्टराई, फिजिसिनद्वय प्राडा विनोद गुप्ता र प्राडा सुशील शाक्यलगायतले १५ जना चिकित्सक टोलीले स्वास्थ्य सेवा प्रदान गर्नु हुनेछ ।

शिविरमा रगत, दिशापिसाबको सामान्य परीक्षण गर्न प्रयोगशालाको व्यवस्थासमेत मिलाइएको छ ।

साथै शिविरमा आएका बिरामीको शल्यक्रिया गर्नुपरेमा त्रिविवि शिक्षण अस्पताललगायत अन्य अस्पतालमा गरिने व्यवस्था मिलाइएको संयोजक पाण्डेले जानकारी दिनुभयो । ग्लोबल मेडिकल फाउण्डेसन र नवलपरासी जिल्लामा रहेको पेनेसिया हर्बल्स कम्पनी प्रालिले निःशुल्क औषधिको व्यवस्थापन गरेको छ ।

स्वास्थ्य शिविरबाट विशेष गरी धादिङ क्षेत्र नं १ का त्रिपुरेश्वर, आगिञ्चोक, गुम्दी, सल्यानकोट,  सल्यानटार का साथै क्षेत्र नम्बर २ का ज्यामरुङ,चैनपुर, मैदी,लगायतका गाविसका बासिन्दा लाभान्वित हुनेछन् ।

संयोजक पाण्डेले राजधानीसँग जोडिएको जिल्ला भएर पनि स्वास्थ्यका दृष्टिकोणले अति पछाडि रहेकाले अति विपन्न जनतालाई स्वास्थ्य सेवा दिन शिविर आयोजना गरिएको हो बताउनुुभयो ।