घरमा खानेकुरा छैन- जाडो छल्न रातभरी अँगेनाको छेउमा बास

881 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

chepang bal balikaaकेशव अधिकारी

सिम्थली (धादिङ),   – कटुसको स्याउलाले छाएको सानो झुपडी,छानोमा राखेको कटुसको स्याउला सुकेर छानोबाट घाम र पानी बाहिर नगएको दुई चार बर्ष बितिसक्यो । दुईजना मान्छे सजिलै बस्नलाई निकै सांघुरो हुने स्याउलाले बारिएको झुपडी भित्र चार बालबच्चा सहित बुद्धिमाया चेपाङको ६ जनाको परिवार बस्दै आईरहेको छ । खेती गरी खाने पाखोबारी भएपनि त्यहां उब्जने अन्नले डेढ महिना धान्न मुस्किल पर्ने भएपछि बुद्धिमायालाई बर्षैभरी वालबच्चालाई के खुवाउने र आफु के खाने  भन्ने चिन्ता हुने गर्दछ ।

भर्खरै २२ बर्ष टेकेकी बुद्धिमायाले चार सन्तान जन्माई  सक्नुभएको छ । घरमा खानेकुराको मात्रै होइन, एकसरो ओढ्ने ओछ्याउने समेत नहुँदा अँगेनाको छेउमा पराल ओछ्याएर माघको चिसो काट्दै आएको यो परिवारमा फेरि नयाँ सन्तान थपिने बेला भईसकेको छ ।

chepang dhading 1232 - Copyचार सन्तानकी आमा बुद्धिमाया अहिले गर्भवती हुनुहुन्छ । बर्षेनी सन्तान जन्माउँदा आमाको ज्यान खतरामा पर्ने हेक्का समेत छैन बुद्धिमाया र उहाँका श्रीमानलाई । घरमा खानेकुरा नहुँदा बच्चालाई के खुवाउने भन्ने पिरलो त उहाँलाई सँधैभरी छँदैछ, गर्भवती भएकाले पोषिलो खानेकुरा खान नपाएकोमा होइन, ज्यालामजदुरी गर्न जान नसक्दा बालवच्चालाई पेटभरी ख्वाउन नसकेकोमा बुद्धिमाया निकै चिन्तित देखिनुहुन्छ   ।

सोमबार बिहान बुद्धिमायाले घरमा पुग्दा घर भित्र अन्नका नाममा दुईमाना कोदोको पिठो बाहेक घर भित्र अरु केही थिएन । पाहुना लाग्न आएका बुद्धिमायाका मामा सन्चो नभएर अंगेनाको छेउमा पराल ओछ्याएर सुतिरहनुभएको थियो ।

दक्षिणी धादिङको महादेवस्थान गाविसको वडा नम्बर २ सिम्थली गाउँका अधिकांश चेपाङ परिवार अति विपन्न अवस्थावाट जीवन गुजारा गरिरहेका छन । तीमध्ये बुद्धिमायाको परिवार गाउँभरीकै सबैभन्दा दुःख पाउनेमा पर्दछ ।

घरमा न्यानो ओड्ने ओछ्याउने नभएकाको कारण छोरा छोरी रातभरी चिसोले रुने गरेको बुद्धिमायाले बताउनुभयो । जाडो भएपछि केटाकेटी रातैभर रोएपनि ओढ्नलाई न्यानो लुुगा छैन । बाक्लो लुगा किनिदिन पैसा छैन । ज्याला, मजदुरी गरेर परिवारको छाक टार्नै मुश्किल भएको उहाँले दुखेसो पोख्नुभयो ।

बुद्धिमायाको परिवार बर्षौदेखि परालमाथि पातलो कपडाले बेरिएर सुत्ने गरेको छिमेकीहरु बताउँछन । रात छिप्पिदै जाँदा चिसो बढ्दै गएर अँगेनाको आगो पनि निभ्ने हुनाले राती उठेर आगो बाल्ने गरेको बुद्धिमायाले बताउनुभयो ।

खानेकुरा मात्रै होइन लगाउने लुगापनि गतिलो नभएकोले बालबच्चा पुरानो भईसकेको मैलो कपडाको भरमा बस्न वाध्य छन ।  गाउँका सबै चेपाङको हालत उस्तै भएको र कसैसँग पनि पनि जगेडा कपडा नभएको स्थानीय मंगलसिंह चेपाङले बताउनुभयो ।