एउटै चितामा जलेर विदा भए दम्पत्ती

1214 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

chita_186933161फोटो :फाइल फोटो
इलामः जीवनको पुर्वाद्धमा ‘सँगै बाँच्ने सँगै मर्न गरेको बाचाअनुसार सँगै मर्ने संयोग कमैलाई मिल्छ । यस्तै संयोग जुरेर इलामको सुर्योदय नगरपालिका–९ गहिरी गाउँका पराजुली दम्पत्ती एउटै चितामा जलेर विदा भएका छन् ।
दुई महिनादेखि सामान्य विरामी ९१ वर्षीय काशीनाथ पराजुली र उनकी  पत्नी ७८ वर्षीया दिलकुमारी पराजुली बुधबार एउटै चितामा जलेर संसारबाट विदा भए ।
काशीनाथको मंगलबार बेलुका ९ बजे निधन भएको थियो । उनको शव रुँघ्न घरमा छोराछोरी आफन्त र छिमेकीहरु भेला भएका थिए । रात छिप्पिदै जाँदा दिलकुमारीको पनि टाउको दुख्न शुरु भयोे । पतिको निधनबाट मर्माहत बनेकी उनी पति राति साढे ११ बजे संसारबाट विदा भइन् ।
छोराहरु जय र टिका प्रसाद गौतम तथा छोरी पुष्पा रिजालले दुई घण्टाको फरकमा बुवाआमा गुमाए । बुवाआमालाई एकैपटक गुमाउनुपरेपछि छोराछोरीलाई दोहोरो शोक परेको छ ।
छिमेकी कृष्ण ढुङ्गानाका अनुसार मृतक दम्पत्तीको स्थानीय त्रिवेणी घाटमा बुधबार दिउँसो ११ बजे एउटै चितामा दाहसंस्कार गरिएको छ । यो घटना पहिलो पटक सुनेका सुनपा–४ का दाताराम आचार्यले आश्चर्य व्यक्त गरे । ‘मैले जीवनमा यस्तो घटना कहिल्यै सुनेको थिइन’, उनले भने ।
अर्का छिमेकी दुर्गाप्रसाद खतिवडाले एउटै चितामा जलेका दुबैलाई ‘भाग्यमानी दम्पत्ती’ को संज्ञा दिए । भारतको दार्जिलिङ माइत भएकी दिलकुमारी र काशीनाथले विहे गरेको मिति समेत छोराछोरीलाई थाहा नभएको छिमेकी यादव भट्टराईले बताए ।
उनीहरुलाई त्रिवेणी घाटसम्म लगेर दाहसंस्कार गर्न सयौं मलमीको लर्को लागेको थियो । विवाहपछि गरेको बाचा पुगेको भन्दै कतिपयले ‘भाग्यमानी दम्पत्ती’ ठानेर आफ्नो पनि त्यस्तै मृत्युको कामना गरे ।

-अन्नपूर्ण पोष्ट बाट