भेटेरिनरी औषधिमा व्यवसायीको ब्रह्मलुट

539 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, -भेटेरिनरी औषधि व्यवसायीहरुले किसानलाई ठगी गर्दै औषधिको जथाभावी मूल्य असुली गरेर ब्रह्मलुट गरिरहेको फेला परेको छ ।
Pesticide-Shop-jpg-300x200राजधानी तथा देशका प्रमुख सहरहरुमा बिक्री हुने पशुपक्षीका औषधि तथा बीउबीजनमा व्यवसायीहरुले पाँच सय गुणासम्म बढी मूल्य लिएर ठगी गरेका हुन् । चार सय रुपैयाँ लागत पर्ने ‘कोलस्टिन’ नामक कुखुरालाई खुवाउने औषधिको मूल्य नेपाली बजारमा दुई हजारभन्दा बढी छ । धेरै औषधि कम्पनीहरुले आयात गर्ने उक्त औषधि युरोपियन भन्दै किसानलाई व्यापक मात्रामा ठगी गर्ने गरिएको छ ।

भेटेरिनरी औषधि व्यवसायीहरुले मल्टिभिटामिनमा समेत उल्लेख्य मात्रामा ठगी गर्ने गरेका छन् । अधिकांश भेटेरिनरी औषधिमा अत्यधिक मूल्य कायम गरेर किसानलाई ठगी गर्ने गरिएको औषधि व्यवसायीहरु नै स्वीकार गर्दछन् ।

व्यवसायीहरुले मिलेमतोमा व्यापक मात्रामा ठगी गर्ने गरेको किसानहरुको गुनासो छ । एउटै औषधिको पसलैपिच्छे फरक–फरक मूल्य कायम गरी व्यापकमात्रामा ठगी गर्ने गरिएको ललितपुर चापागाउँका कुखुरा व्यवसायी रामचन्द्र खड्काले बताए । एउटै औषधिका फरक–फरक मूल्य असुली हुँदा समेत राज्य प्रशासन निरीह बनेको खड्काको भनाइ थियो ।

त्यस्तै भक्तपुर झौखेलका कानुकान्छी थापाले गाईलाई प्रयोग गर्ने भिटामिनमा अत्यधिक मूल्य असुली गर्ने गरिएको बताइन् । राजधानीआसपास किसान मात्रै होइन, देशैभरिका किसानलाई भेटेरिनरी औषधि व्यवसायीहरुले व्यापकमात्रामा ठगी गर्दै आइरहेका छन् । एक पशु चिकित्सक भेटेरिनरी औषधि व्यवसायमा भएको लुटलाई सरकारले नै छुट दिएको आरोप लगाउँछन् ।

-हलो खबरवाट