कानुनबाट ‘स्वास्नी’ शब्द नहटाउन प्रस्ताव

652 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nepali_women-300x215

काठमाडौं । कानुनमा ‘स्वास्नी’ शब्द नराख्ने निर्णय पारित भएन । संसदको एक उपसमितिले कानुनमा ‘स्वास्नी’ शब्द निरन्तर गर्ने निर्णय लिएको हो न्युज भित्ताले खबर लेखेको छ ।

लैंगिक समानता कायम गर्न तथा लैंगिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न विधेयकमा ‘स्वास्नी’ शब्दलाई निरन्तरता दिइन प्रस्ताव गरिएको हो ।

विधेयकमा दफाबार छलफल सकिएपछि सभासद रेवतीरमण भण्डारी संयोजकत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा ‘स्वास्नी’ शब्दलाई निरन्तरता दिने निर्णय गरेको हो ।

विधेयकमा संशोधन गरेर तेजाब जस्ता पदार्थहरुले आक्रमण गरेर शारीरिक यातना दिनेलाई एकदेखि तीन लाख रुपैयाँसम्म जरिवाना र पाँच देखि आठ वर्षसम्म कैद गर्नुपर्ने प्रस्ताव पनि प्रतिवेदनले गरेको छ ।

अंगभंग हुनेगरी शारिरिक यातना या यौनजन्य हिंसा गर्नेलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना गर्ने व्यवस्गा गर्न प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।

संसदको विधायन समिति अन्तर्गतको उपसमितिले महिला बाँझोपन र पुरुषलाई पुरुषत्वहिन हुनेगरी संवेदनशील अंगहरु भंग गरिदिएमा यो कारवाही गर्ने गर्नुपर्ने गरी प्रतिवेदन तयार पारेको हो ।

‘स्वास्नी’ मा आपत्ति

विधेयकबारे विशेषज्ञहरुसँगको छलफल र दफावार छलफलका क्रममा पनि ‘स्वास्नी’ शब्दमा कडा आपत्ति जनाइएको थियो । धेरै संशोधनकर्ता र सुझावकर्ताहरुले पनि ‘स्वास्नी’ शब्दको ठाउँमा ‘श्रीमती’ वा ‘पत्नी’ शब्द राख्नुपर्ने सुझाव दिएका थिए । तर, उपसमितिले भने ‘स्वास्नी’ शब्दलाई निरन्तरता दिने गरी प्रतिवेदन ल्याएको हो ।

उपसमिति सदस्य रत्नदेवी गुरुङले देवानी कानुनको संशोधन विधेयक पनि समितिमा आइपुगेको र त्यसमा धेरै शब्दहरुको संशोधन गर्नुपर्ने भएकाले यो विधेयकमा स्वास्नी नै शब्द राखिएको बताइन् ।

प्रतिवेदनमा दोस्रो विवाह गर्ने महिलाले पहिलो पतिलाई सम्पत्ति फिर्ता दिनुपर्ने प्रावधान पनि प्रस्ताव गरिएको छ ।

उपसमितिको प्रस्ताव समितिले पारित गरेपछि संसदले पनि पारित गरयो भने कानुनको रुप लिनेछ ।