धादिङ जिल्लाका सहकारीहरुका बिचमा सहकार्य आवश्यक–कोईराला

976 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बाबुराम श्रेष्ठ
धादिङ -धादिङ जिल्लाका अधिकांश सहकारीहरुका बिचमा सहकार्य अति आवश्यक रहेको सहकारीकर्मीहरुले सुझाव दिएका छन ।
डिभिजन सहकारी कार्यालय धादिङले विहीबार धादिङ बेसीमा सञ्चालन गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्नु हुँदै सहकारी विकास बोर्डका सदस्य सिताराम कोइरालाले सहकारी बिकास गर्न सहकारीहरुका बीच सहकार्यको भावनालाई विकास गर्न जरुरी रहेको बताउनु भयो । धादिङ जिल्लाका कति पय सहकारीहरु मापदण्ड, नीति नियम र सहकारी निर्देशिका विपरीत सञ्चालन भईरहेको पाइएकाले यस्तो कार्य तत्काल सच्याएर अघि बढ्न कोईरालले सहकारी सञ्चालकहरुलाई आग्रह गर्नु भयो ।
यसै गरी धादिङ जिल्लाका सहकारीहरुले सैद्धान्तिक दायित्वलाई ख्याल गरी अगाडि बढ्न सके मात्र सहकारी क्षेत्रको विकास हुने कार्यक्रमका सहभागिहरुको भनाई रहेको थियो । सहकारीहरुको गुणस्तर विकास गर्न सरकारी तथा गैर सरकारी संस्थाहरु बीचको समन्वय गर्न जरुरी रहेको उनिहरुको सुझाव छ । २०४८ सालमा ६ वटा सहकारीहरु स्थापना भएकोमा अहिले जिल्लाभर ४ सय १६ वटा सहकारीहरु दर्ता भई सञ्चालनमा रहेपनि ६९ वटा सहकारी संस्था नीति नियम र नियमित रुपमा सञ्चालन हुन नसकेको डिभिजन सहकारी कार्यालय धादिङका सहकारी अधिकृत कृष्णबहादुर बोहोराले कार्यक्रममा बताउनु भयो ।
पछिल्लो समय जिल्लामा सहकारीको संख्या बढ्दै गएपनि उद्धेश्यअनुसारको कार्य नगर्ने सहकारीहरुलाई नियमत अनुगमन गरी सुधारका लागि पहल गरिने बोहोराले जानकारी दिनु भयो ।
राजमार्ग आसपासका बहुउद्धेश्यीय ,बचत तथा ऋण सहकारी र साना किसान सहकारी गरी ३० वटा सहकारीहरुको अनुगमन भैरहेको ,सदरमुकाम धादिङबेसी लगायत अन्य स्थानमा रहेका ९० सहकारीहरुको सदन अनुगमन गर्ने संस्थाको लक्ष्य रहेको कार्यक्रममा वताईएको थियो । जिल्लामा रहेका सहकारी संस्थाको शेयर पुँजी ३६ करोड ४२ लाख ९३ हजार र बचत १ अरब ३ करोड, २९ लाख ७५ हजार रहेको डिभिजन सहकारी कार्यालयले जनाएको छ । यसैगरीे अहिले सम्म कुल ९५ हजार ९ सय ६७ जना सहकारीको शेयर सदस्य रहेकोमा ५५ हजार ५ सय पुरुष र ४० हजार ४ सय ६७ जना महिला रहेका छन् ।
बिषयगत सहकारी समेत गरी जिल्लाभर ४ सय १६ वटा सहकारी सञ्चालनमा रहेका छन् । कार्यक्रममा धादिङ जिल्ला सहकारी विकासको लागि भावी कार्य दिशााको बारेमा डिभिजन सहकारी कार्यालय का प्रमुख बोहोरा, सहकारी संघ संस्थामा सुशासन र पारदर्शिता सम्बन्धी बिषयमा सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा र धादिङ जिल्लामा अन्तर सहकारी सहयोग र समन्वय सम्बन्धी जिल्ला सहकारी संघ धादिङका सचिव शान्तविक्रम बानिँयाले सयुक्त रुपमा कार्य पत्र प्रस्तुत गर्नु भएको थियो । धादिङ जिल्ला सहकारी संघका उपाध्यक्ष गंगादत्त तिमिल्सनाको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी विकास वोर्डका सदस्य सिताराम कोइरालाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा, नेपाल बचत तथा ऋण सहकारी संघका सञ्चालक पार्वती राई खाँड, सूचना तथा सञ्चार सहकारी केन्द्रिय सघंका सदस्य दिपक कोइराला, डिभिजन सहकारी कार्यालय धादिङका सहकारी अधिकृत बोहोरा, जिल्ला बचत तथा ऋण सहकारी संघ धादिङका अध्यक्ष कृष्ण लाल उप्रेती लगायतले मन्तव्य राख्नु भएको थियो ।