सहर पस्नुअघि…

665 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

TAMPOO_20150213091319

धादिङ, – कोपिला तामाङ । उमेर १६ । पढ्न जाने त परैको कुरा । दिनरात घरमा घोटिँदा पनि सुख छैन । बुबा रक्सीले रातदिन मातेर घर आउने, यता सौतेनी आमाको सधैंको कचकच । यो कचकचले बिहीबार दिउँसो धादिङको मझुवा गाउँमा ठूलै रूप लियो । रमिता हेर्न गाउँलेहरू चारैतिरबाट जम्मा भएका थिए । सौतेनी आमालाई मुख छाडेको आरोपमा बुबाको चड्न खानुपरेकी कोपिला उल्टै गाउँको एक खराब केटोबाट तानिनु पर्‍यो । इच्छा नहुँदा पनि जबर्जस्ती तानिएर बिहे गर्नुपर्ने परिबन्दमा फसेकी कोपिला रुँदै थिइन्, ‘नाइँ मलाई छोडिदिनुस् । म अहिले बिहे गर्दिनँ ।’

कोपिलाकै जँड्याहा बाबुको आड पाएको केटो भने झन् झन् हौसिन्छ, ‘खुरुक्क हिँड् सहरमा । तिम्रो बाउले जस्तै सौता हाल्न लैजान खोजेको त हैन नि ।’ कोपिला झन् रुन्छिन्, गाग्री घोप्टिन्छ, पानी पोखिन्छ । तर कोपिलाको पोखिन लागेको खुसी रक्षाका लागि गाउँलेले पनि केही गर्न सक्दैनन् । फगत रमिता हेरिरहन्छन् । यसरी गाउँले निम्न वर्गीय समाजको यो कथाव्यथा छायांकन गर्दै थिए, रवि सायमी । ‘एक्सन कट’ भनिरहेका थिए- निर्देशक रवि डंगोल । गरिबी, अशिक्षा र अज्ञानताका कारण परिवारकै मिलेमतोमा गाउँबाट पलायन हुन बाध्य एक युवतीको कथामाथि निर्माण भइरहेको

फिल्म ‘ट्याम्पो ड्राइभर’ बिहीबार राजधानीसँगै सिमाना जोडिएको धादिङ मझुवामा सुटिङ भइरहेको थियो ।

अस्ट्रेलियाको नेपाली फिल्म ब्यानर चिनारी नेपालले निर्माण गरिरहेको यो फिल्मले तिनै विस्थापित युवतीको संघर्षको कथा पछ्याउने निर्माता गंगाबहादुर नेमकुलले बताए । यसअघि अस्ट्रेलियाकै सरकारी फन्डबाट नेवार समुदायको बिहे संस्कृतिमाथि ‘म्हसिका’ बनाएका गंगाले यसपटक मुलुक बाहिरको फिल्मी बजारलाई फोकस गरी नयाँ फिल्म निर्माण थालेका हुन्, बिहीबार युवती सहर पस्नुअघिको दृश्य छायांकन गरिएको फिल्मका ९० प्रतिशत काम सकिसकेको उनले जनाए । सामाजिक सद्भाव र प्रेम दर्साउन तामाङ समुदायको केटीलाई काठमाडौंको नेवार समुदायका केटोले बिहे गरेको देखाइने फिल्ममा मूलतः आफ्नै ट्याम्पो किन्ने सपना बोकेको एक ट्याम्पो चालिकाको संघर्ष-कथा रहने पटकथासमेत लेखेका निर्देशक रविले बताए । घरको हेलापछि सहर पसेकी तिनै कोपिला ट्याम्पो ड्राइभर बन्छिन् । कोपिलाको भूमिकामा साँच्चिकै ट्याम्पो ड्राइभरलाई खेलाइएको छ । ‘अभिनय त निकै गार्‍हो पो रहेछ,’ स्वयम्भू-सुन्धारा रुटमा ट्याम्पो चलाउने धादिङकी कोपिलाले भनिन्, ‘बरु ट्याम्पो चलाउन नै सजिलो ।’

‘या मिखा :’, ‘कुलंघार’, ‘ओ मिसां’, ‘ओला ओला फसिक्वा’ लगायत आधा दर्जन नेवार भाषाको फिल्म र ‘भुइँचालो’, ‘जय होस्’, ‘हाफ व्वायल’ जस्ता टेलिशृंखला निर्देशन गरिसकेका रविले यस फिल्ममा भाषिक रूपमा नयाँ प्रयोग गर्न लागिएको दाबी गरे । उनका अनुसार फिल्म तामाङ र नेवार चरित्र र परिवेशमा आधारित छ, सबै चरित्रले आ-आफ्नो समुदायले आफ्नै मातृभाषा बोल्छन् भने नेवार र तामाङ चरित्रले एकअर्कामा कम्युनिकेट गर्न चाहिँ नेपाली भाषा बोल्छन् । ‘फिल्मको अन्तर्राष्ट्रिय प्राक्टिसलाई प्रयोग गर्न खोजेको हुँ,’ हास्य टेलिशृंखलामा ‘का बेइमान’का रूपमा चिनिएका रविले भने । फिल्मका नेवार पाटो सकिसकेको र हाल तामाङ पाटोको छायांकन भइरहेको संयोजक रत्न महर्जनले जनाए । उनका अनुसार नेवारीमा पल्पसा डंगोल, सुशील राजोपाध्याय, गणेशराम लाक्षी, श्यामसुन्दर शिल्पकार लगायतले खेलेका छन् भने तामाङमा रञ्जिता लामा, सन्तोष तामाङ, उदय लामा, शान्ति वाइवा, वीरबहादुर तामाङ लगायतले खेलिरहेका छन् । आधा दर्जन तामाङ फिल्महरूमा मुख्य नायिका बनेकी रञ्जिता यसमा सौतेनी आमाको भूमिका छन् । केही वर्षअघि विवाह बन्धनमा बाँधिएकी उनी यही फिल्ममार्फत कमब्याक भएकी हुन् । फिल्म अस्ट्रेलियाबाट आउँदो चैतमा रिलिज हुने र त्यसलगत्तै नेपालमा रिलिज गर्ने गंगाले बताए ।

-सुटिङ रिर्पोट इकान्तिपुर डट कमबाट