बेसहारा गाईको लागि सुविधा सम्पन्न ‘बृद्धाश्रम’

844 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

 नौविसे-धादिङ, २,फागुन  ।अनाथ बालवालिकालाई लक्षित गरेर देशका विभिन्न स्थानमा बालगृह संचालन भएका छन । त्यसैगरी बुढेसकालमा छोराछोरी वा आफन्तको सहारा नपाएका वृद्धवृद्धाका लागि वृद्धाश्रमहरु खुल्ने गरेका छन । अनाथ बालवालिका र असहाय बृद्धबृद्धालाई जस्तै स्याहार गर्न धादिङको नौविसे गाविसको वडा नम्बर १ धार्के नजिकै बेसहारा गाईवस्तुका लागि गौधाम अर्थात गाई बृद्धाश्रम संचालनमा ल्याईएको छ ।

DSC_0205मारवाडी सेवा समितिबाट दुईवटा सुविधा सम्पन्न घर निर्माण गरी गौधाम संचालनमा ल्याएको हो । विसं २०६८ सालवाट निर्माण शुरु भएको १ सय ५० क्षमताको गौधाममा अहिले ६० वटा गाई राखिएको छ । गौधामका सुपरिटेन्डेट जयन्त सुब्बाका अनुसार पशुपती गौशालास्थित धर्मशालाबाट निकालिएका बृद्ध गाईको संरक्षणका लागि धार्केमा सुविधा सम्पन्न गौधाम संचालनमा ल्याईएको हो । गाई बृद्धाश्रम निर्माणका लागि राजेन्द्र खेतान, प्रदिप गोयल लगायतका मारवाडी समुदायका व्यवसायीहरुवाट पहल भएको हो ।

DSC_0219पृथ्वी राजमार्गबाट आधा किलोमिटर दक्षिणतर्फ भित्र रहेको सुविधा सम्पन्न धार्केको गौधाम ६३ रोपनी जमिनमा रहेको छ । गाईको स्याहारसंगै यस क्षेत्रमा गाई गोरुको उपचारका लागि सुविधा सम्पन्न भेटनरी अस्पताल, स्थानीयबासिन्दाको सेवाका लागि सामुदायिक अस्पताल, निम्न आयस्तर भएका अभिभावकका छोराछोरी पढ्ने बिद्यालयको समेत स्थापना गर्ने लक्ष्यका साथ मारवाडी सेवा समितिले योजना बनाईरहेको र अहिलेसम्म १३ करोडको लगानी गरिसकेको पनि सुब्बाले बताउनु भयो । गौधामको स्थापनाबाट काठमाडौंको सडकमा अलपत्र पर्दै आईरहेका गाईको संरक्षण हुनुका साथै जैविक विविधताको समेत सुरक्षा हुने संचालकहरुको भनाई छ ।

गौशाला क्षेत्रमा बुढा भएका गाई छाडा लगाउने प्रवृत्ति बढ्दै जांदा यसबाट सवारी दुर्घटना बढ्नुका साथै सडकमा छाडिएका गाईमा बिभिन्न किसिमका रोग देखा पर्न थालेपछि काठमाण्डू बाहिर गौधामको निर्माण गरी अलपत्र गाईको स्याहार गर्न थालिएको मारवाडी सेवा समितिले जनाएको छ ।

गौधाममा रहेका गाई स्याहारका लागि स्थानीय व्यक्तिहरुले रोजगारी  समेत पाएका छन । गाईको नियमित रुपमा स्वासथ्य जांच समेत हुने गरेको छ । गौधाममा रहेका गाईबाट उत्पादित मललाई गौधाम भित्र शुरु गरिएको अर्गानिक तरकारी खेतीका लागि प्रयोग गर्ने गरिएको र प्रयोग गरेर बढी भएको मल गौधामको आयआर्जका लागि किसानलाई बिक्री गर्दै जाने लक्ष्य रहेको पनि गौधामका कर्मचारी रामकृष्ण रेग्मीले जानकारी दिनु भयो । दुई तले भवनको दुवै तलामा गाईहरु राखिएका छन् ।