‘छोरो हरायो साउदीमा, लौ न खोजिदेउ’

659 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

लरक्क परेका थिए उनी । उमेरदार अनी हिस्सी परेको । मुम्वईया जागिर हुँदै उतैबाट साउदी उडेका कृष्णको काम र कमाईमा उती गुनासो पनि थिएन ।

अघिल्लो बर्षसम्म त बेलाबेलामा घरमा फोन आइरहन्थ्यो । तर १६ महिना भयो न गंगामायाले छोराको स्वर सुन्न पाएकी छन् न त उनको मनमा शान्ति नै छ ।

६ बर्ष अघि साउदी अरव पुगेका नवलपरासीको बर्दघाटका कृष्ण बिक १६ महिनायता साउदीमा बेपत्ता छन् । कुनै फर्निचर कम्पनीमा काम गर्न गएका उनी पहिले रियादमा थिए । पछि दमाममा सरेको छु भन्थे । जंगलको बीचमा छु आमा भनेको ताजै छ गंगामायालाई । त्यहि जंगलमा अलप भए उनी ।

अघिल्लो दशैं ताका । दशैंको त्यस्तै १०/१२ दिन जति अघिको कुरो हो । कृष्णले फोन गरे । आमासँग सञ्चो बिसञ्चो सोधेपछि आउने शुक्रवार ६० हजार पठाइदिन्छु भनेका थिए । तर शुक्रवार न पैसा आयो न फेरी उनको फोन नै ।

दिन बित्दै गए । छोराले चटक्कै फोन नगरेपछि गंगामाया र उनका श्रीमान्को मनमा चिसो पस्यो । ‘त्यै पैसा पठाउँछु है आमा भनेर फोनमा गरेको कुराकानी नै अन्तिम हो’ गंगामाया सम्झिन्छिन् ।

त्यसपछि कृष्ण काटिएको चंगा झैं हराए । न घरमा बसेकाले भेउ पाए सके न त साउदीमा भएका साथिभाइले नै फेला पारे ।

20150213-164852

कृष्णको फोन अहिले पनि चल्छ । त्यसैले हरदमजसो गंगामायाको हातैमा हुन्छ मोवाइल । कतै छोराको फोन आइहाल्छ की ? अनी दिनमै ४० पटकसम्म फोन गर्छिन् । ‘घण्टी गइरहन्छ तर मरेकाटे छोरो बोल्दैन’ बर्दघाटको राजमार्ग छेवैको एउटा गाउँमा उनी छोरो हराएको विरह पोख्दै थिइन् ।

यसबीचमा दुईपटक फोन उठ्यो पनि । ‘एकपटक कुनै केटी बोली तर के भनि बुझिएन । अर्को पटक त त्यो पनि बोलिन’ गंगामाया भन्छिन् ।
छोराको चिन्ताले उनलाई भित्रभित्रै खाइरहन्छ । ‘कोखमा घाउ लाग्यो, उसलाई नभेटि निको नहुने भो’ छिनमै हाँस्दै अनी छिनमै मलिन अनुहार बनाउँदै गरेकी गंगामाया एकोहोरो छोराका बारेमा बताइरहेकी थिइन् ।

कृष्ण पहिले मुम्वईमा काम गर्दथे । कुनै होटलमा । त्यहाँको कमाई भन्दा साउदीमा कमाई गतिलो हुन्छ भन्यो कसैले उनलाई । खाडी पठाइदिने दलाल पनि फेला पारे मुम्वईमा नै । कुनै महिला थिइन् । अनी कृष्णले घरमा बाबुआमालाई भने ‘धेरै कमाई हुने रै’छ, अव साउदी जान्छु ।’

भारतबाट जाँदा खर्च पनि थोरै लाग्ने आशमा उनीहरुले सुरुमा २० हजार बुझाए दलाललाई । जाने कागज मिलेपछि १ लाख १५ हजार अरु थप्नु पर्नेभयो । अर्थात भारतको बाटो भएर जाँदा नेपालबाट भन्दा धेरै खर्च लाग्ने भयो ।

आमा गंगामायाले त ‘भो नजा’ पनि भनिन् । तर ‘भिसा लागिसक्यो आमा, जान्छु भनेर हिंड्यो’ पैसा कमाउने सपना बोकेर छोरो साउदी अरेविया उड्नु अघिका कुरा सुस्तरी सुस्तरी सम्झिंदै गइन् गंगामाया ।

‘बम्वैमा साथिहरुलाई लौ म कमाउन जाने भएँ भनेर ५ हजारको भोज पनि खुवाएर उडेको रे’ उनले कृष्णका साथिभाइले भनेको कुरा सम्झिइन् ।

20150213_164805

छोरो उता पुगेपछि पनि बिश्वकर्मा परिवारका लागि उति दुःखमनाउ थिएन । काम राम्रै छ भन्थे अनी कमाई पनि ठिकैै थियो । पहिलो पटक गएको ४, ५ महिनामा दोश्रो खेप ८, ९ महिनामा अनी तेश्रो खेप डेढ बर्षमा गरेर तीन पटक गरी उनले घरमा अढाई लाख जति पैसा पठाए ।

बेलाबेला पैसा पठाइरहन्थे, फोनमा कुरा भइरहन्थ्यो । सुविस्तै थियो । उता उनी खुसी थिए यता परिवारमा पनि साह्रै बेखुसी थिएन । तर आमाको मनले भनें केहि अघिदेखि छोरो फर्कियोस् भन्दै थियो । घरजम पनि त गरिदिनु थियो उसको ।

‘यत्रो नेपाली आउजाउ गर्छन् न कसैले तलाई भेट्छन्, न फर्केरै आउँछस्’ पछिल्लो समयमा गंगामाया छोरोसँग फोनमा गनगन गर्न थालेकी थिइन् । उनी अरु केहि पैसा कमाएर फर्किने भन्दैै आमालाई फकाउँदै थिए । तर एक्कासी उनी बेपत्ता भए साउदीमा यता आमा बाबुलाई चिन्ताले जलाउन थाल्यो भित्रभित्रै ।

गंगामायाको छातिमा बेला–बेला एक्कासी ढुकढुकी बढ्छ । कोहि दुईचार जना मान्छे घरमा आए भनें पनि कुनै अनिष्टको खवर पो लिएर आएकी भनेर त्रासले छोप्छ उनलाई । ‘रोग लाग्यो बाबु रोग’ दाहिने हातले छाति थिच्दै उनले भनिन् ‘छाति पोल्छ । यत्तिकै त्यसलाई नदेखि मर्छु की क्या हो जस्तो मनमा कुरा खेलिरहन्छ ।’

तीनवटा छोरा मध्ये कान्छा कृष्णको मात्र हो विहे हुन बाँकी । आमाको मन न हो । कहिले उनलाई छोरो फर्केर टुप्लुक्क घरैमा आमा….. भन्दै आइपुग्ला की भने झै लाग्छ । घरी अव छोरो छैन भन्ने त्रासले घप्लक्कै छोप्छ । भन्छिन् ‘आत्माले पनि घरी त भन्छ, तेरो छोरो अव छैन, मरिसक्यो । तर बाँचेकै छ की जस्तो पनि लाग्छ । मर्नु अघि एक झल्को देख्न मात्रै पाए हुन्थ्यो ।’

छोरो खोजिदेउ भन्दै विश्वकर्मा परिवारले हारगुहार गरिरहेको छ । उनीहरु एकपटक काठमाडौं पनि आए सरकारलाई निवेदन हाल्न । ‘कागत हालेको पनि थुप्रै महिना भो, तर अहँ कुनै पत्तो लागेन ।’

साउदीमा हराएको मान्छे खोज्नु चानचुने कुरो होइन भन्ने पनि थाहा छ उनीहरुलाई । ‘यैं बरगड(बर्दघाट) मा त कोहि हरायो भनें ठाउँ ठेगान पत्तो लाउन मुस्किलै पर्छ, अव त्यो त काँ हो काँ’ गाउँले लवजमा उनी आफैं चित्त बुझाउँदै थिइन् । यो १६ महिनामा उनले चित्त बुझाउन पनि सिकिसकिन् ।

बैदेशिक रोजगारीमा धेरै नेपाली जाने जिल्ला मध्ये छैठौं नम्वरमा पर्ने नवलपरासी जिल्लामा विदेशमा वेपत्ता हुनेको संख्या पनि बढ्दैछ । सुरक्षित आप्रवासनका क्षेत्रमा काम गरिरहेका संघसंस्थाहरुसम्म आफन्त हराए, खोज्न सघाइदेउ भन्दै आउनेहरु थपिंदै छन् । हेल्भेटास स्वीस इण्टरकोअपरेशनको सुरक्षित आप्रवासन परियोजना, सामीको नवलपरासीमा रहेको सुचना केन्द्रमा निवेदन दिन आउनेको संख्या बढ्दो छ ।

परियोजना अन्तर्गत कार्यरत मनोपरामर्शदाताहरुले बैदेशिक रोजगारका क्रममा बेपत्ता भएकाहरुका परिवारका सदस्यलाई मनोपरामर्श सेवा दिन्छ । यस्तो सेवाले त्यस्ता व्यक्तिको तनाव, चिन्ता कम हुने सामीकी जिल्ला संयोजक उमा शर्मा बताउँछिन् ।

शर्मा भन्छिन् ‘गंगामाया र उनका श्रीमान्को अवस्था पनि चार महिना अघि हामीले भेट्दा र अहिले धेरै फरक भएको छ । पहिले श्रीमान् श्रीमति दुवैलाई निन्द्रा लाग्दैनथ्यो, अहिले निदाउँछन् । पहिले खान मन लाग्दैन भन्थे, अहिले खान्छन् । पहिले अनुहारमा हाँसो थिएन, अहिले मनमा पीर भएपनि, पीडा व्यक्त गरेपनि अनुहार धेरै उज्यालो भएको छ ।’

20150213_164852

छोराले साउदीबाट कमाएर पठाएको पैसाले बनाएको घरमा केहि समयअघि सेतो रंग लगाइएको छ । त्यसैले जस्ताले छाएको एकतले घर बाहिरबाट हेर्दा उज्यालो छ । तर त्यो घरमा बस्नेहरुको मन हराएको छोरो नभेटेसम्म अथवा उसको खुटखवर नपाएसम्म उज्यालो हुनेछैन ।
कुराकानी सकेर छ्ट्टीदै गर्दा ढोकैसम्म विदावारी गर्न आएकी गंगामायाले भनिन् ‘मेरो कान्छो भेटिएला त नि है ?’

सुनिल न्यौपाने, नवलपरासी

(उनको खोजिमा तपाईको सहयोग महत्वपूर्ण छ । तपाईले उनको खोजिका लागि आफ्ना साथिभाइहरुलाई यसको जानकारी दिएर मद्धत गर्नुहोला भन्ने आग्रह गर्दछौं ।)

-देश परदेश डट कमबाट