चितवनका होटल अनिश्चितकालीन बन्द

1334 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चितवन-प्रहरीले ‘यौनधन्दा’ रोक्ने नाममा पतिपत्नीलाई पनि पक्राउ गर्न थालेको भन्दै चितवनका व्यवसायी विरोधमा उत्रिएका छन्। होटल व्यवसायी संघ चितवनको आह्वानमा उनीहरूले सोमबारदेखि आफ्ना होटल तथा लज अनिश्चित कालका लागि बन्द घोषणा गरेका छन्। प्रहरी व्यवहारले टाढादेखि चितवन आएका पाहुना आतंकित भएको व्यवसायीको भनाइ छ नागरिक न्यूज डट कमले खबर लेखेको छ ।
प्रहरीले शनिबार दिउँसो नारायणगढ–भरतपुर क्षेत्रका सयभन्दा बढी लजमा छापा मारेर १० जना होटल व्यवसायीसहित पाँच दम्पती, १७ युवती र १२ जना पुरुषलाई गिरफ्तार गरेको थियो। प्रहरीले आचारसंहिता मिचेर मनलागी छापा मार्ने गरेको अनिश्चितकालीन बन्दबारे जानकारी दिन आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा संघ अध्यक्ष डासीराम ढकालले आरोप लगाए।
‘अनैतिक गतिविधि रोक्न व्यवसायी र प्रहरीको सहमतिमा आचारसंहिता नै जारी भएको छ। प्रहरीले छापा मार्न नपाउने होइन तर जसरी छापा मारियो त्यो गलत छ,’ उनले भने, ‘प्रहरीले लजहरूको इन्ट्री बुक हेरेर शंका लागेकालाई मात्र सोधपुछ गर्न सक्छ। त्यसमा हाम्रो कुनै विरोध हुँदैन।’
मुग्लिनदेखि भरतपुरसम्मका होटल तथा लजले सोमबारदेखि नयाँ ग्राहक नलिने निर्णय भएको संघका पूर्वअध्यक्ष इमान्दु बरालले जानकारी दिए। उनका अनुसार आइतबार साँझै होटलमा आएर बसेकाहरूलाई भने सेवा जारी रहनेछ। यसअघि भदौ २८ मा पनि प्रहरीले भरतपुर–नारायणगढ क्षेत्रका लजमा छापा मार्ने क्रममा अभद्र शैली देखाएको बरालको भनाइ छ। ‘त्यस बेला संघको नेतृत्वमाथि नै अभद्र व्यवहार देखाएको थियो। त्यस्तै व्यवहार लगातार दोहोर्याकएपछि बाध्य भएर व्यवसाय बन्द गरेका हौं,’ उनले भने।  प्रहरीको व्यवहारकै कारण टाढादेखि आएका चार दम्पती अब कहिल्यै चितवन नआउने भन्दै रुँदै हिँडेको बरालले जनाए।
बाँके, खजुराका विष्णु सुनार पत्नी लक्ष्मीलाई भरतपुरको क्यान्सर अस्पतालमा जँचाउने उद्देश्यले शनिबार नारायणगढ आएका थिए। आइतबार मात्रै अस्पताल खुल्ने भएकाले उनले स्थानीय मुनलाइट लजमा कोठा लिए। प्रहरीले त्यही रात सुनारदम्पतीलाई अनैतिक यौन क्रियाकलाप गरेको आरोपमा कोठाबाटै नियन्त्रणमा लियो।
‘बाहिरबाट ढोका खोल भन्दै कराए। ढोका खोलेपछि दिउँसै नचाहिँदो गर्ने भन्दै हपारे। अभद्र बोले। मैले उनीहरूलाई यसअघि भदौमा पनि श्रीमतीलाई क्यान्सर अस्पताल ल्याएको कागज देखाएँ। तैपनि मानेनन्। हामी दुवैलाई प्रहरी कार्यालय लिएर गए,’ विष्णुले भने। त्रासैत्रासका बीच उनीहरूलाई त्यहाँ दुई घन्टासम्म झुलाइयो। विष्णुका अनुसार प्रहरीले विभिन्न लजबाट ल्याएकामध्ये अरू चार जोडी पनि पतिपत्नी ठहरिएका थिए।
प्रहरीले भने होटलमा भनेकै आधारमा पतिपत्नी भए/नभएको छुट्याउन नसकिने भएकाले अनुसन्धानका लागि सबैलाई कार्यालय ल्याएको जनाएको छ। ‘होटल बस्ने सबै जोडीले पहिला श्रीमान्–श्रीमती नै हो भन्छन्। राम्रोसँग बु‰नका लागि कार्यालय ल्याएका हौं। तीमध्ये जोजो पतिपत्नी थिए, केही बेरमै छाडिसकेका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुगम कुँवरले भने। शनिबार समातिएका ४९ जनामध्ये चार युवती र एक युवकबाहेक सबैलाई सोमबार छाडिसकिएको उनले जानकारी दिए। बाँकी पाँचलाई भने प्रहरीले सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।