चट्याङ बुझौँ, चट्याङबाट बचौं

592 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

chatyangएकथरी मान्छेमा चट्याङ पर्दा हलोको फाली जस्तो फलामको वस्तु खस्छ भन्ने धारणा छ, त्यो सत्य होइन। अर्काथरी मान्छेमा ठूलो आवाज जहाँ खस्छ, त्यहीँ नै चटयाङ पर्छ भन्ने धारणा छ। यो कुरा केही मात्रामा ठिक हो तर भन्ने तरिका गलत हो। तथ्य के हो भने जब बादलबाट माइनस चार्जको विशाल लहरो पृथ्वीमा आउँछ, यो एउटा कुलो जस्तो बाटो बनाएर आउँछ। पृथ्वीमा झरेपछि सिद्धिन्छ।

आखिर आकासबाट आउने यस्तो विद्युत कुनै जलविद्युत केन्द्र वा आणविक भट्टीबाट जस्तै लगातार आइराख्ने त होइन। चार्ज भयो, आयो, सिद्धियो। तर जब यस्तो विद्युत जमिनमा जान्छ, त्यो विद्युत आएको कुलो रित्तो हुन्छ। अनि त्यो रित्तो कुलोको भाग ओगट्न दायाँबायाँका चार्ज बोकेका बादल त्यहाँ हाम्फाल्छन, एकापसमा ठूलो जोडले ठोक्किन्छन् र त्यस्तो ठुलो आवाज आउँछ। आवाज करेन्ट होइन। आवाजले प्राणी मर्दैन तर बहिरो हुन सक्छ, झ्यालढोकाका सिसा भने फुट्न सक्छन्।

चट्याङ बुझौँ, चट्याङबाट बचौं

-गौतम ‘उदय’-

यो ब्रह्माण्डमा भएका सम्पूर्ण वस्तु – ठोस, तरल, ग्यास- सबै एकदम सानासाना परमाणुका तत्वहरु (atoms) मिलेर बनेका हुन्छन्। हालसम्म ११७ प्रकारका तत्वहरु प्रमाणित भैसकेका छन्। चार वटा नयाँ पनि पत्ता लागेका छन् तर प्रमाणित हुन बाँकी छ।

संसारका सम्पूर्ण वस्तुहरु यिनै ११७ प्रकारका तत्वहरुको विभिन्न संयोजनबाट बनेका हुन्छन्। सबैभन्दा सानो अणु (molecule) मा पनि कम्तिमा २ वटा परमाणु हुन्छन् जस्तै हाइड्रोजन (H2) मात्र २ वटा उस्तै परमाणु मिलेर बनेको छ।

कार्बन डाइअक्साइड (CO2 ) नामक अणुमा एउटा कार्बनको परमाणु र दुई वटा अक्सिजनका परमाणु गरी ३ वटा परमाणु तत्वको मिलन छ।

यी सबै प्रकारका परमाणुहरुमा प्रोटन (protons), इलेक्ट्रन (electrons) र न्युटन (neutrons) नामका ३ प्रकारका विद्युतीय गुणहरु हुन्छन्। इलेक्ट्रन, प्रोटन र न्युटनको संख्या पनि धेरै हुन्छ अनि यिनीहरु धेरै प्रकारबाट एक-आपसमा फरक हुन्छन्।

उदाहरणको लागि प्रोटन धनात्मक हुन्छ, इलेक्ट्रन ऋणात्मक हुन्छन् भने न्युटनमा जिरो चार्ज हुन्छ। प्रोटन र न्युटन परमाणुको केन्द्रमा जोडिएर रहेका हुन्छन्, जसलाई परमाणुको केन्द्र भाग (nucleus) भनिन्छ। इलेक्ट्रनहरु यही केन्द्रभागको वरिपरी नक्षत्र (orbit) मा घुमिरहन्छन्।

वस्तु हलचल नगर्दा उक्त वस्तुमा हुने इलेक्ट्रन र प्रोटनको संख्या बराबर हुन्छ। तर जब वस्तु हलचल गर्दछ अथवा अर्को वस्तुसँग रगडिन्छ वा घोटिन्छ, त्यो वस्तुमा हुने विविध अणुका इलेक्ट्रन अर्को अणुमा सर्छन्।

यसरी थप इलेक्ट्रनहरु प्राप्त गर्ने अणुमा ऋणात्मक अथवा माइनस चार्ज बढी हुने भएकोले उक्त अणु ऋणात्मक हुन्छ भने जुन अणुबाट इलेक्ट्रनहरु अर्कोमा सर्छन, त्यस अणुमा प्रोटनको संख्या बढी हुने भएकोले उक्त अणुमा प्लस चार्ज बढी हुन्छ अथवा धनात्मक हुन्छ।

यसरी एउटा अणुबाट अर्को अणुमा इलेक्ट्रन सरेर यिनीहरुको गतिविधि बढ्ने र चार्ज हुने प्रक्रियालाइ स्ट्याटिक चार्ज भनिन्छ।

कपालमा काइँयो वा बेलुन घोटी केही साना चिजको नजिक लैजाँदा त्यस्ता चिज काइँयो वा बेलुनतर्फ चुम्बकमा फलाम टाँसिए जस्तै गरी आकर्षित हुनु, बेलुन भित्तामा टाँसिनुको कारण कपालका इलेक्ट्रोन यिनीहरुमा सर्नु हो।

जाडोमा स्वीटर खोल्दा वा दुई वटा फलाम तथा ढुंगा ठोकाउँदा झिल्का देखिनु, जाडोमा कारबाट ओर्लिन ढोका खोल्दा झट्का लाग्नुको कारण पनि त्यस्तै हो।

यो साना चिजहरुमा हुने थोरै इलेक्ट्रोनको थोरै समयको गतिविधि भएकोले स्ट्याटिक चार्जको सानो प्रभाव भयो, तर धेरै चिजको, लामो समयसम्मको र ठूलो शक्तिको यस्तो घोटिने ठोकिने प्रक्रिया भैरह्यो भने विशाल स्ट्याटिक चार्ज र विद्युत उत्पन्न हुन्छ।

अब यही कुरालाई चट्याङसँग जोडौं।

आँखाले नदेखिए पनि, गन्ध थाहा हुन नसके पनि हावामा विभिन्न ग्यासहरू, धुलो र पानीका असंख्य कणहरु हुन्छन्। हावाको पनि दायाँबायाँ, तलमाथि गरिरहने लहर अथवा छाल हुन्छ। गर्मीमा जमिन तातेपछि, जमिन नजिकको हावा पनि बिस्तारै तात्दै जान्छ।

हावाको विशेषता नै यस्तो हुन्छ कि तातेको हावा माथि-माथि आकासिंदै जान्छ अनि त्यसको ठाउँ चिसो हावाले लिन्छ। यसरी तातो हावा माथि जाँदै गर्दा हावामा हुने पानीका कणहरु चिसिएर बादलमा बदलिन्छन्। अनि बादल पनि जम्मा हुँदै बाक्लो हुँदै अझै आकासिंदै जान्छ।

चिसिनुको कारण के हो भने समुद्र सतहबाट जति-जति माथि गयो वातावरण पनि त्यति-त्यति चिसो हुँदै जान्छ र हावा पनि पातलो हुँदै जान्छ। हिमालमा हिउँ रहिरहनु, हिमाल चढ्दा सास फेर्न गाह्रो हुनु पनि यस्तै कारणहरु हुन। जेट प्लेन उड्ने उचाइमा त माइनस ६५ डिग्री सेल्सियससम्म चिसो हुन्छ।

सबैखाले बादलले पानी पर्दैन। कतिपय बादल आकासमै बिलाएर पनि जान्छ तर ठूलो पानी पार्ने, बिजुली चम्कने र चटयाङ पार्नेखाले बादल हजारौं किलोमिटरसम्म पनि फैलिन सक्छ, अनि कैयौं किलोमिटर बाक्लो हुन्छ। जब बाक्लो बादलको आकास पट्टीको भाग जिरो डिग्रीभन्दा चिसो हुने उचाइमा पुग्दछ, उक्त बादलमा भएका पानीका कणहरु जम्छन्। जमेपछि पनि त्यो हिउँ तथा बरफका कण भरिएको बादललाई हावाले उडाएकै हुन्छ, हुत्त्याएकै हुन्छ, कतिपय कण तल तल झारिरहेका हुन्छन, कतिपय माथि गैरहेका हुन्छन, ठोकिन्छन फुट्छन, फेरि जम्छन आदिआदि।

यस प्रक्रियालाई विज्ञानमा updraft र downdraft भनिन्छ।

आखिर यी हिउँ, बरफ, धुलो आदिका अणुहरु पनि परमाणुहरु मिलेर नै बनेका हुन्छन, यिनीहरुमा पनि इलेक्ट्रन, प्रोटन र न्युटन हुन्छन् नै।

जब यस्ता जमेका असंख्य कणहरु तथा यस्ता कणहरु बोकेका बादलहरु एकापसमा ठोकिन्छन, अथाह स्टाटिक चार्ज हुन्छ र विद्युत उत्पन्न हुन्छ।

यो ठोकिने क्रम कपालमा काइंयो घोटे जस्तै एक पटकमात्र हुने त होइन, हजारौं लाखौ पटकसम्म हुन्छ। जति धेरै पटक ठोकिन्छ, जति जोडले ठोकिन्छ विद्युत चार्ज बढ्दै-बढ्दै सम्पूर्ण बादलमा फैलिन्छ।

यसरी फैलिने क्रममा इलेक्ट्रनहरु पृथ्वीतर्फको बादलको भागमा जम्मा हुँदै जान्छन् भने प्रोटनहरु आकासतर्फको बादलको भागमा जम्मा हुँदै जान्छन्। विशाल मात्रामा इलेक्ट्रन र प्रोटन निश्चित बादलमा जम्मा भएपछि, तिनीहरुको बीचमा ठूलो विद्युत शक्ति उत्पन्न हुन्छ, जसलाई polarization भनिन्छ।

किन polarization हुन्छ भन्ने तथ्य अझै प्रमाणित भएको छैन। यस प्रकार पटक-पटक विद्युत चार्ज र उत्पन्न हुने प्रक्रियालाई नै हाम्रो भाषामा बिजुली चम्कने भनिएको हो।

वास्तवमा त्यो बिजुली चम्केको नभई बिजुली चार्ज र जम्मा भई लहराको रुपमा बहेको हो। यस्तो बेलामा आकासमा बादलको बिचमा हजारौं पटक हजारौं विद्युतका लहरा बन्दछन्।

चटयाङ धेरै प्रकारका हुन्छन र प्रायः बादलहरुको बीचमा हुन्छन, तर कहिलेकाहीँ जमिन र आकाशको बीचमा पनि हुन्छन्, जुन हाम्रो लागि खतरा हुन्छ।

विद्युत चार्जको विशेषता विपरीत चार्जमा आकर्षण हुने र उस्तै चार्जमा विकर्षण हुने हुन्छ। सरल अर्थमा भन्नु पर्दा माइनस-माइनस अथवा प्लस-प्लस विद्युतकका चार्जहरु एकापसबाट टाढा भाग्छन् भने माइनस र प्लस भएमा एकापसमा आकर्षित भई चार्ज हुन्छन्। तर यहाँ एउटा प्लस र एउटा माइनस अथवा केही जोडिएर विद्युत चार्ज हुने कुरा बुझ्नु हुँदैन। चार्ज हुनलाई त असंख्य प्लस र असंख्य माइनस कुनै एउटा माध्यममा जम्मा भै त्यसैको बाटो हुँदै हिंड्ने हो।

बिजुलीको तार पनि बिजुली हिंड्नलाई बनाइएको बाटो न हो। काठ, कागज, प्लास्टिक, सुख्खा हावामा विद्युत खासै बहन नसक्ने भएकोले यस्ता वस्तुलाई विद्युत कुचालक (insulator) भनिन्छ भने धातु, तरल पदार्थ, जीव, वनस्पति आदिमा विद्युत सजिलै बहन सक्ने भएकोले यिनीहरुलाई विद्युत सुचालाक (conductor) भनिन्छ। सुचालकको अर्थ यस्ता चिजहरु विद्युत सजिलै बहन सक्ने राजमार्ग भन्ने हो।

जमिमा पनि त विशाल प्लस, माइनस चार्जहरु हुन्छन। जब माथि भनिए जस्तो बादलको जमिनतर्फको भागमा अथाह माइनस कण जम्मा हुन्छन्, तिनको समूह जमिनका प्लस चार्जहरुतर्फको समूहसँग जोडिन जमिनतर्फ आकर्षित भैरहेका हुन्छन्।

जमिनका प्लस चार्जहरु पनि आकासका माइनसतर्फ आकर्षित भै बहन सजिलो हुने मानिस, रुख, भवन, पहाड आदिको वोरिपरी जम्मा भै यस्ता वस्तु हुँदै बादलका माइनससँग जोडिन जमिनभन्दा केही मिटर माथिसम्म पुगी तम्तयार भएर बसेका हुन्छन्।

अनि बादलबाट आउने माइनस चार्जको लहरो पहिले रुखमा जोडिए रुख भाँचिन्छ, प्राणीमा परे प्राणी खुस्किन्छ। त्यही हो चटयाङले हिर्काउने भनेको।

ठूल्ठूला चटयाङ पर्दा त सूर्यको सतहको भन्दा करिब ६ गुना बढी ताप अर्थात् ३०,००० डिग्री सेल्सियससम्मको ताप जम्मा भै बहन्छ।

एकथरी मान्छेमा चट्याङ पर्दा हलोको फाली जस्तो फलामको वस्तु खस्छ भन्ने धारणा छ, त्यो सत्य होइन। अर्काथरी मान्छेमा ठूलो आवाज जहाँ खस्छ, त्यहीँ नै चटयाङ पर्छ भन्ने धारणा छ।

यो कुरा केही मात्रामा ठिक हो तर भन्ने तरिका गलत हो। तथ्य के हो भने जब बादलबाट माइनस चार्जको विशाल लहरो पृथ्वीमा आउँछ, यो एउटा कुलो जस्तो बाटो बनाएर आउँछ। पृथ्वीमा झरेपछि सिद्धिन्छ।

आखिर आकासबाट आउने यस्तो विद्युत कुनै जलविद्युत केन्द्र वा आणविक भट्टीबाट जस्तै लगातार आइराख्ने त होइन। चार्ज भयो, आयो, सिद्धियो। तर जब यस्तो विद्युत जमिनमा जान्छ, त्यो विद्युत आएको कुलो रित्तो हुन्छ। अनि त्यो रित्तो कुलोको भाग ओगट्न दायाँबायाँका चार्ज बोकेका बादल त्यहाँ हाम्फाल्छन, एकापसमा ठूलो जोडले ठोक्किन्छन् र त्यस्तो ठुलो आवाज आउँछ।

आवाज करेन्ट होइन। आवाजले प्राणी मर्दैन तर बहिरो हुन सक्छ, झ्यालढोकाका सिसा भने फुट्न सक्छन।

बिजुली चम्केर झिल्लिक गरेको धेरै बेरपछि आवाज आउनुको कारण प्रकाश छिटो हिँड्ने र आवाज ढिलो हिँड्ने भएकोले हो। प्रकाश १ सेकेन्डमा ९,६०,००० किलोमिटर टाढा पुग्छ भने आवाज मात्र ३३० किलोमिटर।

कसरी सुरक्षित हुने ?

चटयाङबाट पूर्ण सुरक्षित त हुन सकिन्न, तर अलिकतिमात्र सावधानी अपनाए धेरै हदसम्म बच्न सकिन्छ। आफ्नै टाउकोमाथि काला-काला चुकजस्ता बादलले आकास ढाकी गड्यांगगुडुंग गर्दै बिजुली चम्केको बेला हातधुने, भाँडा माझ्ने, कपडा धुने, नुहाउने, पौडी खेल्ने, नदी तर्ने, फोन कम्प्युटर चलाउने, झ्यालढोकाको नजिक तथा छतमा बस्ने गर्नु हुँदैन।

घर बाहिर भएमा पनि तुरुन्त बलियो भवन, गाडी आदिभित्र गई झ्याल ढोका बन्द गर्नु सुरक्षित हुन्छ। खालि खुट्टाले जमिन, धातु आदिमा टेक्नु हुँदैन। फलामका कब्जा, चेन भएका ब्याग बोक्नु हुँदैन।

तारबार, पोखरी नजिक जानु हुँदैन। ठूलो रुख र अर्को मान्छेभन्दा कम्तिमा १५ फिट टाढा रहनु पर्छ।

अझ आङ जिरिङ भै रौँ ठडिने शरीरमा केही चिजले घोचे जस्तो महसुस भयो भने त अब छिट्टै चटयाङले हान्दैछ भन्ने बुझी तुरुन्तै टाउकोमाथि हात राखी कुइना र घुंडाले टेकी घोप्टो पर्नु पर्छ। लेट्नु भने हुँदैन, त्यसो गर्दा झन् सिधै आफैमाथि पर्न सक्छ।

-माईसंसार डट कमबाट