आमाले नै गरिन् छोराको ‘हत्या’

539 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कावासोती, १६ फागुन,  नवलपरासीको तम्सरीया–२ मा एक आमाले आफ्नै नौ वर्षीय छोराको हत्या गरेकी छिन् । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालका अनुसार तम्सरीया–२ वसन्तपुरकी ३० वर्षीया जमुना जिसीले आफ्नै नौ वर्षीय छोरा प्रदीप जिसीको आज बिहान घाँटीमा सलले बाँधेर हत्या गरेकी हुन् । छोराको हत्यापछि उनले आत्महत्या गर्ने प्रयास गरेको बताइएको छ ।

अचेत अवस्थामा छट्पटाएकी जमुना जिसीलाई मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा उपचारका लागि पठाइएको छ । गाउँलेको खबर पाएर घटनास्थल पुगेको प्रहरीले आमाले छोराको हत्या गरी आत्महत्या प्रयास गरेको जनाएको छ । जिसीको परिवारमा भारतीय सेनामा कार्यरत श्रीमान् एक छोरी र एक छोरा रहेको थिए । १३ वर्षीया छोरी ट्युसन पढ्न गएका बेला उनले छोराको हत्या गरी आत्महत्याको प्रयास गरेको प्रहरीको भनाइ छ ।