मागेको अढाइ वर्षमा नागरिकता

592 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, –जिल्ला प्रशासन कार्यालयले माग गरेको २ वर्ष ७ महिनापछि नौबिसे ७ की सरस्वती भुजेललाई नागरिकता प्रमाणपत्र दिएको छ । पतिको मृत्यु भएको र परिवारले सनाखत नगरेपछि सरस्वतीलाई प्रशासनले वंशजकै आधारमा नागरिकता दिएको हो । 

10388063_836558193095368_4047855420239782910_nपरिवारले सनाखत नगरेपछि आमा-बाबुको नाम राखी नागरिकता पाउन जिल्ला प्रशासनमा ०६९ साउन ३० गते उनले निवेदन दिएकी थिइन् । मजदुरीकै क्रममा विवाह भएकी सरस्वती तनहुँको घाँसीकुवा घर बताउने पति अमर थापाका घरमा जान पाएकी थिइनन् । एकपटक घर नआएकी बुहारीलाई परिवारले नागरिकता दिलाउन सनाखत गरेका थिएनन् ई कान्तिपुर डट कमले खबर लेखेको छ । 

धादिङका तत्कालीन प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले विवाह भएकी महिलालाई माइती पक्षका बाबु-आमाको सनाखतबाट वंशजका आधारमा नागरिकता दिन नमिल्ने बताएका थिए । सरस्वतीले ०६९ चैत १९ गते पुनरावेदन अदालत पाटनमा ‘नेपाली नागरिकता पाउन बाबु-आमा नै वंशज भएकाले दिलाइ पाउन’ रिट दायर गरेकी थिइन् । त्यसबारे लिखित जवाफ माग गर्दा पनि प्रशासनले दिएको थिएन । 

दुई सन्तानकी आमा सरस्वतीले उनीहरूको जन्मदर्ता गर्न नपाएर नेपाली हुनबाट वञ्चित भएको गुनासो गर्दै आएकी थिइन् । पुनरावेदन अदालत पाटनले उनलाई नागरिकता दिनेसम्बन्धी निर्णय छिटो गर्न ०७० कात्तिक २० गते आदेश दिएको थियो ।

गृह मन्त्रालयले ०६९ माघ ७ मा २ दिनअघिको निर्णय लागू गर्न ७५ वटै जिल्ला प्रशासन कार्यालयका नाममा गरेको ७ बुँदे परिपत्रमा विवाहित महिलालाई आफ्ना बाबु-आमाको नामबाट वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएको थियो । 

सोही आधारमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले मंगलबार नागरिकता दिएका हुन् । नौबिसेबाट सरस्वतीलाई नागरिकता दिलाउन सनाखतका लागि आएकी अप्सरा उप्रेतीले एक महिलाको अधिकार स्थापित भएको बताइन् ।