एटिएम चलाउँदा सावधान !

909 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

यादव हुमागाईं
ATM-security-by-image-processing12-445x300काठमाडौं–आफूले चाहेको समयमा र चाहेको रकम निकाल्न सकिने सुविधाका कारण एटीएम कार्ड उपभोक्तामाझ निकै लोकप्रिय छ । उपभोक्तको रोजाइकै कारण बैंक तथा वित्तीय संस्थाहरूले प्राथमिकताका साथ एटीएम सेवा विस्तार गरिरहेका छन् । यसका कारण उपभोक्तालाई कार्ड बोकेर आफूलाई आवश्यक परेको स्थानबाट तुरुन्तै पैसा झिक्न पाउने अवसर सिर्जना भएको छ ।
सेवा जति विस्तार भइरहेको छ, त्यससँगै समस्या पछि बढ्दै गएका छन् । एटीएमको प्राविधिक, सुरक्षाजस्ता विषयमा आधारभूत जानकारी नहुँदा एटीएम प्रयोग गर्ने उपभोक्ता अनावश्यक समस्या भोग्नुका साथै ठगिइरहेका छन् ।
एटीएमबाट रकम निकाल्न जति सजिलो छ, त्यति यसबाट उपभोक्ता सजिलैसँग ठगिएका पनि छन् । एटीएमबाट पैसा निकाल्दा खाताबाट निकालेको भन्दा धेरै रकम घट्ने, खाताबाट रकम घटे पनि एटीएमबाट पैसा नआउने, कार्ड मेसिनमै अड्किने, एटीएमबाट ग्राहकको रकम चोरी हुने गरेकासम्म समस्या भएको ग्राहक गुनासो गर्छन् ।

अहिले बैंक तथा वित्तीय संस्थाले विभिन्न नेटवर्कमार्फत सेवा लिएर ग्राहकलाई एटीएम सेवा प्रदान गर्दै आएका छन् । नेपालमा एससीटी नेटवर्क, भिजा, नेसनल पे, युनियन पेलगायत नेटवर्क प्रचलनमा छन् । बैंकहरूले आफ्नै एटीएम काउन्टरमा प्रयोग गर्दा निःशुल्क भए पनि अर्को बैंकमार्फत पैसा निकाल्दा भने शुल्क लिने गरेका छन् । यसबारे विषयमा थाहा नहुँदा पनि ग्राहक ठगिने गरेका छन् ।
“ग्राहकले एटीएम लिँदा नै प्रयोग गर्ने तरिका, सेवा सुविधा र सर्तबारे राम्रोसँग बुझ्नुपर्छ,” प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने, “यसले गर्दा ठगिने सम्भावना कम हुन्छ ।” अहिले एटीएम प्रयोग गर्दा पैसा नआउने तर खाताबाट घट्ने र त्यो रकम खातामै फिर्ता हुन समय लाग्ने गरेको धेरै उपभोक्ताको गुनासो आउने गरेको उनले बताए ।
पछिल्लो समय एटीएमबाट रकम चोरी हुने गरेका घटना पनि सार्वजनिक भइरहेका छन् । हालैमात्र प्रहरीले विदेशी नागरिक मेहमत गुलेनलाई विभिन्न बैंकका नक्कली एटीएम कार्डसहित पक्राउ गरेको थियो । एटीएमबाट उपभोक्ताको रकम सजिलै चोरी हुन सक्ने भन्दै त्यसमा सचेतना अपनाउन प्रहरीले आग्रह गरेको छ ।

४२ लाख प्रयोगकर्ता  
सहज सेवाका कारण एटीएमका प्रयोगकर्ता दिनदिनै थपिँदैछन् । बैंकिङ सेवाप्रति उपभोक्ताको पहुँच र आकर्षण बढ्दै जाँदा प्रयोगकर्ताको आकार पनि ह्वात्तै बढेको छ । ०६० सालमा करिब ४० हजार नेपालीसँगमात्र एटीएम कार्ड भएकोमा अहिले यो आकार ४२ लाख नाघिसकेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार ०६०÷०६१ सालतिर करिब २० हजार नेपालीसँग मात्रै एटीएम थियो । एटीएम काउन्टरको संख्या पनि २ सयको हाराहारीमा थियो । स्टान्डर्ड चार्टर्ड, नबिल र इन्भेस्टमेन्टजस्ता केही ठूला बैंकले मात्रै एटीएम सेवा दिन्थे । अहिले अवस्था फेरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूको संख्यात्मक वृद्धिसँगै बैंकिङ क्षेत्रको सेवामा पनि व्यापक विस्तार भएको छ । हाल सबै बैंक वित्तीय संस्थाहरूले एटीएम सेवा प्रदान गरिरहेका छन् ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार ४२ लाख नेपालीले एटीएम कार्ड चलाउँछन् । बैंक तथा वित्तीय संस्थाका गरी १६ सय ७२ वटा एटीएम काउन्टर छन् । एटीएमको बढ्दो प्रयोगसँगै बैंकिङ सेवा सुलभ भएको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार ३० वाणिज्य बैंक, ८१ विकास बैंक, ५२ वित्त कम्पनी र ३६ लघुवित्त विकास कम्पनी गरी १९९ वटा वित्तीय संस्था सञ्चालनमा छन् । यी संस्थाहरुले देशभर २७ सय ६ वटा शाखा सञ्जालमार्फत सेवा दिइरहेका छन् । वाणिज्य बैंकका १६ सय ३८ वटा, विकास बैंकका ८२९ वटा, वित्त कम्पनीका २३९ वटा, लघुवित्त विकास बैंकका ८५२ वटा शाखा छन् । यसअनुसार औसतमा १ शाखाले ८ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
ग्राहकलाई सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाबीचको प्रतिस्पर्धा हुँदा एटीएम प्रयोगकर्ताको संख्यामा चमत्कारिक रूपमा वृद्धि भएको राष्ट्र बैंकका प्रवक्ता डा. मीनकुमार श्रेष्ठले बताए । “पछिल्ला १० वर्षमा वित्तीय सेवाको पहुँच व्यापक विस्तार भएको छ । बैंकहरूबीच प्रतिस्पर्धा हुँदा ग्राहकले स्तरीय र सुलभ सेवा पाएका छन,” उनले भने, “एटीएम नभएको संस्थामा ग्राहकले खाता खोल्न हिचकिचाउन थालेपछि संस्थाहरु एटीएम सेवा विस्तार गर्न बाध्य भए ।”
राजधानीबाहिरका धेरै जिल्लामा एटीएम सेवा विस्तार भइसकेको छ । करिब ४० प्रतिशत अर्थात् सवा करोड सर्वसाधारण बैंकिङ पहुँचमा छन् । बैंकिङ पहुँचभित्र रहेका ३५ प्रतिशतले एटीएम सेवा प्रयोग गर्ने गरेको तथ्यांकले देखाउँछ ।
सन् १९३७ मा नेपाल बैंक स्थापना भएपछि नेपालमा बैंकिङ कारोबारको सुरुवात भएपनि निजी बैंकहरुले ५० को दशकपछि एटीएम सेवा सुरु गरेका हुन् । सेवाको विस्तारसँगै एटीएम सेवामा दिनहुँ नयाँ–नयाँ जोखिमसमेत बढिरहेको छ । त्यसैले उपभोक्ता एटीएम प्रयोगमा सचेत हुनुपर्ने आवश्यकता देखिएको छ ।

यसरी राखौं एटीएम सुरक्षित
आफ्नो क्रेडिट या डेबिट कार्ड सुरक्षित स्थानमा राख्नुहोस् । यसलाई नदोबार्नुहोस् र स्क्राच हुन नदिनुहोस् ।
कार्डको पिन नम्बर कतै लेख्नुभन्दा याद गर्नु सुरक्षित हुन्छ । यदि लेख्नै प¥र्यो भने पनि यसलाई आफ्नो पर्स, कार्डको साथमा नराख्नुहोस् ।
पिन नम्बर राख्दा अरुले सजिलै अनुमान लगाउन सक्ने आफ्नो जन्मदिन, फोन नम्बर, आपसमा जोडिएका नम्बर आदि प्रयोग नगर्नुहोस् ।
समय–समयमा पिन नम्बर परिवर्तन गरिरहनुहोस् ।
बैंकको इमर्जेन्सी नम्बर सधैं साथमा राख्नुहोस् । कार्ड हराउनेबित्तिकै जानकारी गराइहाल्नोस् ।
एटीएम प्रयोग गर्दा सम्भव भएसम्म आफूले कार्ड लिएकै बैंकको एटीएम काउन्टरमा गर्नुहोस् । अरु बैंकका एटीएममा प्रयोग गर्दा तपाईंले शुल्क तिर्नुपर्छ भने कुनै समस्या भयो भने पनि समाधान गर्न अप्ठ्यारो हुन्छ ।
एटीएम प्रयोग गर्नुअघि राम्रोसँग ढोका बन्द गर्नुहोस् ।
एटीएममा अध्यारो स्थानमा छ वा मेसिनमा पूर्ण प्रकाश आएको छैन भने प्रयोग नगर्नुहोस् ।
एटीएम प्रयोग गर्दा लाईनमा बसेको अर्को व्यक्तिले तपार्इंको पिन नम्बर याद गर्न सक्छ भन्नेमा सचेत रहनुहोस् ।
एटीएम प्रयोग गर्न थालेपछि मोबाइलमा नअल्मलिनुहोस् । यसले तपाईंको कार्ड वा पैसा लिन ढिला भई मेसिनमै फर्किन सक्छ ।
प्रयोग गरेपछि कार्ड, नगद र रसिद सुरक्षित राख्नुहोस् ।
रसिद आफैसँग सुरक्षित राखी मासिक स्टेटमेन्टसँग मिलान गर्नुहोस् । आफ्नो खाताबाट अनधिकृत व्यक्तिले कारोबार गरेको थाहा पाउने यो उपयुक्त तरिका हो ।
कार्ड या रकम एटीएममै फस्यो भने तुरुन्तै बैंकलाई जानकारी गराइहाल्नुहोस् ।

-कारोवार डेलि डट कमबाट