पूर्व पञ्चहरूको पार्टी एकीककरण होला ?

613 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 pashupati-samser-Rana1पूर्व पञ्चहरुको एकता र विभाजनको नयाँ श्रृखलाका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पुनः एकिकरण प्रयास सुरु भएको छ ।

संविधानसभाको चौथो दल राप्रपा नेपाल र उसको माउ पार्टी राप्रपाले गठन गरेको एकता कार्यदलको बुधबार सिंहदरवारमा बस्ने बैठकले एकिकरण प्रयासलाई औपचारिक रुपमा अघि बढाउने छ ।

तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा राप्रपाबाट टुक्रिएर बनेको राप्रपा नेपालले संविधानसभाको दोस्रो निर्वाचनमा समानुपातिक क्षेत्रबाट २५ सिट पाएको छ ।

तीन सिट प्रत्यक्ष जितेको राप्रपाले भने समानुपातिक तर्फ दश सिट मात्र पाएकोले संविधानसभामा १३ सभासद् छन् ।

दुई दलबीचको एकीकरण प्रयास सफल भएमा संविधानसभाको चौथो दलको सिट संख्या ३८ हुनेछ ।

राप्रपा प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा सहभागि छ भने प्रतिपक्षमा बसेको राप्रपा नेपाल एमाओवादी नेतृत्वको विपक्षी मोर्चा बाहिरको कान्तिपुर दैनिकले छापेको छ ।

राप्रपा संसदीय दलका नेता एवं पार्टी महामन्त्री दीपक बोहोराका अनुसार दुबै पक्षले बैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणको अपरिहार्यता महसुस गरेपछि एकता प्रक्रिया सुरु भएको हो ।

बोहोरा नेतृत्वको एकता कार्यदलमा वुद्धिमान तामाङ, ठाकुर प्रसाद शर्मा, किरण गिरी, हेमजंग गुरुङ, भूवन पाठक, रामकृष्ण भट्टराई सदस्य छन् ।

राप्रपा नेपालले भने समान विचार भएका ब्यक्ति र समुहसंग एकता गर्न सहअध्यक्ष केशरबहादुर बिष्टको संयोजकत्वमा चार महिना अघि गठित कार्यदलले माउ पार्टीसंगको एकिकरण प्रयासको अनौपचारिक प्रयास सुरु गरेको थियो ।

बिष्टले निरञ्जन थापा, धवलशमशेर राणा लगायतका नेताहरुलाई संवाद प्रक्रियामा सहभागि गराउँर्दै आएका छन् ।

शाहीकालिन गृहमन्त्री कमल थापा नेतृत्वको राप्रपा नेपालले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विपक्षमा छ ।

२०६२/६३ को दोस्रो जनआन्दोलन र परिवर्तनलाई आत्मसात गरेको राप्रपाले भने पहिलो संविधानसभामा गणतन्त्रका पक्षमा मतदान गरेको थियो ।

दुबै दल धर्मनिरपेक्षताका विपक्षमा छन् । ‘धर्मनिरपेक्षतालाई जनमतसंग्रहको विषय बनाउनुपर्छ भन्नेमा दुबै दलको समान धारणा छ’, राप्रपा नेता बोहोराले भने, ‘गणतन्त्र र संघीयता जस्ता विषयमा रहेका फरक दृष्टिकोणलाई ब्यवस्थापन गरेर कसरी पार्टी एकता गर्न सकिन्छ भन्नेमा छलफल सुरु गरेका छौ ।’

राप्रपा नेपालका बरिष्ठ नेता पद्मसुन्दर लावती नेतृत्वको असन्तुष्ट पक्षले घोषणा गरेको समानान्तर केन्द्रीय कार्यसमिति र राप्रपाका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले गरिरहेको समानान्तर गतिविधि बढाइरहेका बेला दुबै दलका संस्थापन पक्षले एकता प्रक्रिया सुरु गरेका हुन् ।

त्यसलाई संयोग मात्र परेको भन्दै राप्रपा नेपालका सहअध्यक्ष बिष्टले केही अघि देखिनै राप्रपासंगको एकता प्रयास भएको बताए । ‘हामीले पार्टी एकिरण, कार्यगत एकता वा कार्यक्रमिक समानता के गर्न सकिन्छ भनेर कुराकानी गरिरहेका थियौ’, बिष्टले भने,  ‘राप्रपाका तर्फबाट पनि एकता प्रयासलाई गम्भिररुपमा लिदै वार्ता टोलीनै बनाएकाले अहिले यो प्रक्रियाले गति लिएको हो ।’

२०४८ को आम निर्वाचन अघि पूर्वप्रधानमन्त्रीद्वय सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द नेतृत्वमा एकै दिनरएकै नाममा गठन भएको राप्रपामा शासन सत्तामा पुगेका बेला विभाजन र शक्तिमा नभएका बेला एकता प्रयास हुँदै आएको छ ।

यसअघि पशुपति शमशेर राणा नेतृत्वको राप्रपा र सूर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय जनशक्तिपार्टीको एकिकरणबाट पञ्चायती पृष्ठभूमिका अधिकांश नेताहरु एककृत भएपनि चुनावी दौडमा कमल थापाले बाजी मारेका थिए ।

उनले निर्वाचन पछि राजतन्त्रको पुर्नस्थापनलाई भन्दा हिन्दुत्वको मुद्दालाई प्राथमिकतामा राख्दैआएका छन् ।

दैनिक नेपाल डटकमबाट