कैदी ‘आफ्नै डेराबाट’ फरार, पैसाको लोभमा फसेका प्रहरीको बिजोग

603 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

लागु औषध मुद्दामा १५ वर्ष जेल सजाय पाएका कैदी आँखा अस्पतालबाट नभई बौद्धस्थित आफ्नो डेराबाट फरार भएको तथ्य फेला परेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले उपचारका लागि त्रिपुरेश्वरस्थित आँखा अस्पताल लगिएका शेर्पालाई अस्पताल पुर्यादएका प्रहरी हवल्दार र जवानकै सहयोगमा बौद्धस्थित उनको घरमा लगेको र त्यहाँबाट भागेको तथ्य फेला पारेको हो। डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका सिन्धुपाल्चोकका पासाङ शेर्पा मंगलबार प्रहरीकै हातबाट भागेका थिए।
प्रारम्भिक अनुसन्धान अनुसार कैदीले केही रकम उपलब्ध गराउने बताएपछि कारागारबाट आँखा अस्पताल लगेका हवलदार चिकन्दर यादव, प्रहरी जवानद्वय करण महरा र खोमराज पंगेनीले शेर्पालाई अस्पतालबाट सोझै शेर्पाको बौद्ध नयाँबस्तीस्थित घरमा लगेका थिए।

घरमा पुगेका शेर्पाले केही समय श्रीमतीसँग बिताएको र ती प्रहरीलाई खानासमेत खुवाएका थिए। तर, श्रीमतीसँग कोठामा बसेका शेर्पा प्रहरीलाई छक्याउँदै पछाडिको झ्यालबाट हामफालेर भागेका थिए। केही रकम उपलब्ध गराउँछु भनेका कैदी फरार भएपछि कारागारबाट गएका ती प्रहरीले कैदी अस्पतालबाट फरार भएको भन्दै माथिल्लो निकायलाई जानकारी गराएका थिए।

महानगरीय प्रहरी आयुक्त कार्यालयका एक प्रहरीका अनुसार बिहान साढे १० बजे अस्पतालमा शेर्पाको आँखाको सामान्य चेकजाँच गरिसकेपछि उनलाई ट्याक्सीमा राखेर नयाँबस्ती पुर्या एका थिए। ‘

अनुसन्धान क्रममा शर्पा आफ्नै घरबाट करिब १ बजेतिर भागेको देखिएको छ। शेर्पा भागेपछि प्रहरीले शेर्पाकी श्रीमतीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ। अस्पतालबाट घरसम्म पुर्याकउने तीनै जना प्रहरीलाई हनुमानढोका कारागारमा राखिएको छ।

‘केही शंकास्पद तथ्य फेला परेका छन्, तर पूरा अनुसन्धान नभई केही भन्न सकिने अवस्था छैन,’ घटनाको छानबिन समितिका संयोजक एसएसपी सुरेशविक्रम शाहले भने, ‘कैदीसँगै रहेका प्रहरीको केही कमजोरी देखिएकाले उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेका छौं।’

शेर्पालाई कारागारबाट मंगलबार बिहान ९ बजे आँखा अस्पताल लैजान स्वीकृति दिइएको थियो। कारागारको स्वीकृतिपश्चात तीन जना प्रहरीले उनलाई करिब १० बजेतिर आँखा अस्पतालमा चेकजाँचका लागि नाम दर्ता गराएका थिए। त्यहाँ सामान्य चेकजाँचपश्चात उनलाई अस्पतालबाट सोझै उनको घरमा लगिएको थियो। तर, ती प्रहरीले भने मास्क किन्न र ट्याक्सी बोलाउन गएको मौकामा कैदी भागेको बताएका थिए।

कारगारबाट गएका प्रहरीले दिएको सूचनामा शंका गर्दै र हतकडी लगाइएका कैदी प्रहरीको आँखाअगाडिबाटै भाग्नुमा प्रहरीको समेत संलग्नता रहेको आशंकामा आयुक्त कार्यालयले मंगलबार नै छानबिन समिति गठन गरेको थियो। कार्यालयका एसएसपी सुरेशविक्रम शाहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको थियो। समितिमा डिएसपी राजकुमार सिलवाल, डिएसपी मोहन परियार र इन्सपेक्टर अमर कार्की छन्।

फरार कैदी शेर्पा लागु औषध मुद्दामा ०६९ असोज २२ गते थुनामा लिइएको थियो। काठमाडौं जिल्ला अदालतले गरेको मुद्दाको फैसलाका आधारमा उनलाई कारागारमा राखिएको थियो। उक्त मुद्दामा उनले पाँच लाख जरिवाना तिरेका थिए भने १५ वर्षको कैद सजाय भोगिरहेका थिए। शेर्पाले अझै साढे १२ वर्षको कैद भुक्तान गर्न बाँकी छ।