धादिङमा समुदायमा आधारित मानसिक स्वास्थ्य कार्यक्रम शुरु

746 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ न्युज समाचारदाता index me
धादिङ/ आवश्यक परामर्श र समयमै उपचार नपाएकै कारण समाजमा मानसिक स्वास्थ्य सम्वन्धि समस्या भएका विरामीहरु बढ्दै गएको भन्दै धादिङ जिल्लाको तीन वटा स्वास्थ्य चौकीमा परीक्षणका रुपमा समुदायमा आधारित मानसिक स्वास्थ्य कार्यक्रम शुरु गरिएको छ ।
जिल्लाको मैदी,मुरलीभन्ज्याङ र त्रिपुरेश्वर गाविसमा शुरु भएको मानसिक स्वास्थ्य कार्यक्रम मार्फत विरामीलाई आवश्यक परामर्श तथा आवश्यकता अनुसार औषधि उपचारका लागि सिफारिश गर्ने कामहरु गरिने वताईएको छ । मानसिक स्वास्थ्य सेवा केन्द्र नेपालको प्राविधिक सहयोगमा शुरु भएको मानसिक स्वास्थ्य कार्यक्रम युनाईटेड मिशन टु नेपाल र  जगतज्योती सामुदायिक विकास समाजको सहयोगमा स्थानीय स्वास्थ्य चौकीहरुमा संचालन गरिएको मैदी स्वास्थ्य चौकीका सिअहेव सुजन श्रेष्ठले वताए ।
मुरलीभज्याङ स्वास्थ्य चौकीका हेल्थ असिष्सेन्ट कृष्णवहादुर पौडेलका अनुसार स्वास्थ्य संस्थामा जचाउंन आउने कुल विरामी मध्ये २० देखि २५ प्रतिशत विरामीमा कुनै न  कुनै मानसिक स्वास्थ्य समस्या देखिने गर्दछ । यसैगरी १० प्रतिशत विरामीमा चिन्तारोग,चार देखि ६ प्रतिशत विरामीमा डिप्रेशन,एक प्रतिशतमा छारेरोग र तीन देखि ४ प्रतिशतमा सुस्तमनष्थितीको समस्या देखिने गरेको छ भने अल्कोहल एक देखि ३ र लागू औषध दुव्यर्सन ०.५  प्रतिशत समस्या देखिने गरेको मानसिक अस्पतालले २०६० सालमा गरेको अध्ययनले देखाएको छ ।
धादिङ जिल्लामा पनि मानसिक रोगीका विरामीहरु बढ्दै जान थालेकाले समुदायमा आधारित मानसिक स्वास्थ्य कार्यक्रम मार्फत त्यस्ता विरामीको पहिचान र उपचारमा सहयोग गरिने स्वास्थ्यकर्मीहरुले वताए । कुनै पनि व्यक्ति मानसिक रोगी हुनलाई उस्को दिमागमा भएको तरल पदार्थ ( न्युरो केमिकल)मा गढबढी हुने गर्दछ । द्धन्द्ध, चरम गरीवी,अस्वथ्य प्रतिष्पर्धा, असफलता र उपलव्धिविहीन लगानीका कारण मानिसहरुमा मानसिक स्वास्थ्य समस्या आउने गरेको विभिन्न अध्ययनले देखाएको हेल्थ असिष्टेन्ट पौडेल वताउंछन । कार्यक्रम लागु भएका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई मानसिक स्वास्थ्यका विरामीहरुको उपचार र परामर्श तालिम दिईएकाले स्वास्थ्य चौकीमा आउने विरामीको स्वास्थ्य अवस्था परिक्षण पछि स्वास्थ्यकर्मीले मनोविमर्श सेवाका साथै उपचार  सेवा र आवश्यकता अनुसार मानसिक अस्पताल पाटनका लागि सिफारिश समेत गर्नेछन  ।