विकट गाउँमा गाँजाको विकल्पमा तरकारी खेती

922 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मकवानपुर, – मकवानपुरको विकट तीन गाविसमा जेटिए राखिएपछि किसानले तरकारी खेती गर्न सुरु गरेका छन् । यसअघि गाँजा र अफिमको खेती गर्ने किसानले जेटिए पाएपछि तरकारी खेती सुरु गरेका हुन् । पहिले तरकारी खेती गर्ने रहर भएपनि उपाय थाहा नहुँदा समस्या भएको बताउने कालिकाटार, भार्ता र नामटार गाविसका किसान अहिले गाउँमा नै खेती गर्न सहज भएपछि यसतर्फ आकर्षित भएका छन् उज्यालो अनलाईनमा खबर छापिएको छ ।

???????????????????????????????उनीहरु अहिले बन्दा, काउली, लसुन, प्याज, टमाटर, आलु लगायतका तरकारी खेती गर्न लागेको नामटार गाविस–२ कुवापानीका किसान भिमबहादुर थिङले बताउनुभयो । नारी सीप सिर्जना केन्द्र मकवानपुरले हरेक गाविसमा जेटिए राखिदिएको हो । तीन वटै गाविसका किसानले अहिले ६० वटा महिला कृषक समुह गठन गरेर तरकारी, फलफूल खेतीलाई जोड दिएका छन् ।

नामटार गाविस–२ कुवापानीका सबैजसो किसानले पहिले गाँजा खेती गर्दै आएका थिए । उनीहरुलाई तरकारी खेती गर्न पनि आउँदैनथ्यो । तर तरकारीमा कुनै रोग लागे, उपचार गर्न सजिलो होस भन्ने उदेश्यले जेटिए पार्बती गौतमलाई राखिदिएपछि खेती गर्न सजिलो भएको कुवापानीको नवबुद्ध महिला कृषक समुहकी ललीता पुतलीमायाँ थिङ बताउनुहुन्छ । उनीहरुले एक वर्षअघि यो समुह गठन गररेर गाँजाको विकल्पमा तरकारी र फलफुल खेती गर्न थालेका हुन् ।

नामटार गाविस–४ भदौरेका किसानले नमुना महिला कृषक समुह गठनपछि गाँजा खेती छाडेर तरकारी खेती सुरु गरेका हुन् । बिहानदेखि बेलुकासम्म यहाँका किसान तरकारी रोप्न र गोड्नमै व्यस्त हुने गरेको समुहकी अध्यक्ष पदमा पराजुलीले बताउनुभयो । नामटार गाविसकै सुकुभन्ज्याङमा रहेको सियोन कृषि समुहका किसान पनि अहिले परमपरागत खेती प्रणलीलाई छाडेर व्यवसायिक तरकारी र अन्न खेतीलाई अँगाल्दै आएको समुहकी कान्छीमाया पाख्रिनले बताउनुभयो ।

यस्तै कालीकाटार गाविस–२ टकुवामा रहेको बेथेल कृषक समुहमा आवद्ध किसानले पहिला तरकारी खेती गर्दा तरकारीमा धेरै रोग लागेपछि त्यसको उपचार थाहा नपाउँदा समस्या भोगेका थिए । तर अहिले  कालीकाटारमा नारी सिपले जेटिए प्रमिला कँडेललाई राखिदिएपछि सजिलो भएको समुहकी सदस्य मनिषा प्रजा बताउनुहुन्छ । जेटिए कँडेलले कुन रोग लाग्दा के गर्ने भन्ने गरेकाले सजिलो भएको उनीहरुको भनाई छ ।

नामटार र कालिकाटारका किसानले जस्तै भार्ता गाविसका किसानले पनि विभिन्न २० वटा कृषक समुह गठन गरेर आप्mना समस्या समुहमा छलफल गर्ने गरेका छन् । छलफलबाट समस्याको समाधान नभए भार्ताका जेटिए कुमार पौडेलसँग तरकारी र फलफूलमा परेका समस्याको समाधान खोज्ने गरेको भार्ता गाविस–२ का दिलमाया प्रजाले बताउनुभयो । पहिले तरकारी खेतीमा समस्या आएपनि अहिले आफुलाई खाने तरकारीसंगै बेच्न पनि थालिएको स्थानीय सुकुमाया प्रजा बताउनुहुन्छ ।

यी तीन गाविसमा तरकारी, फलफूल र अन्न खेती गर्न नारी सीप सृजना केन्द्र मकवानपुरले तरकारी फलफूलका बिउ उपलब्ध गराउँदै आएको छ । योसँगै विभिन्न रोगबाट तरकारीलाई बचाउन औषधि पनि सहयोग गर्दै आएको छ । जेटिएले किसानलाई परेका समस्या गाविसमै गएर समाधान गरिदिने भएपछि किसन उत्साहित भएका छन् ।