रोग पनि अनेक खालका बिर्सने रोगबाट ७८ हजार प्रभावित

868 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 d2काठमाडौँ, – नेपालमा पछिल्लो समय विस्मृतिको समस्या (बिर्सने रोग) बाट ७८ हजार मानिस प्रभावित भएको पाइएको छ ।

        अल्जाइमर विस्मृति समाज–नेपालले बुधवार काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले समयमै यसलाई रोकथाम तथा न्यूनीकरणका गर्न एकीकृत प्रयासको खाँचो रहेकामा जोड दिए  । बिर्सने रोग मस्तिष्कमा लाग्ने एउटा साझा रोग हो जसले गर्दा कतिपय उच्चस्तरीय मानसिक क्षमतामा समस्या आई व्यक्तिको स्मरण शक्ति, चिन्तन, वरिपरि भइरहेका गतिविधिप्रतिको जागरुकता कमी आउँछ  ।

        सो रोगका कारण बिरामीको स्मरणमा ह्रास आउने, स्वविवेक शक्ति क्षीण भई सिकिस्त पार्ने र परालम्बी बनाएर मृत्युसम्म पु¥याउने गर्छ । विशेष गरी ६० वर्षमाथिको मानिसमा यस्तो समस्या बढ्दै जाने गरेको बताइएको छ ।

        महिला, बालबालिका तथा समाजकल्याणमन्त्री नीलम केसीले सङ्गठित रुपमा रोगविरुद्ध समाजमा जनचेतना फैलाउन मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले नयाँ स्वास्थ्य नीतिमा बिरामीलाई रु एक लाख उपचार सहयोग उपलब्ध गराउनका लागि व्यवस्था गरिएको जानकारी दिनुभयो ।

        विश्व अल्जाइमर्स सङ्घका अध्यक्ष जाकोव रोयले  यसको रोकथामका लागि व्यक्ति चनाखो हुनुपर्ने बताउनुभयो । विज्ञ डा निदेश सापकोटाले मस्तिष्कको कोषिकामा जम्मा हुने खराब तत्वका कारण यस्तो रोग लाग्ने हुँदा खानपिन तथा आहारविहारमा सन्तुलन गर्न सकेमा रोगको न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो ।

        समाजका अध्यक्ष डा  गौरी शङ्करलाल दास तथा समाजसेवी श्रीधर लामिछाने, छत्र प्रधानलगायतले सो रोग एक मानिसबाट अर्कामा नसर्ने भए पनि त्यसले परिवारका अन्य सदस्यमा मानसिक रुपमा ठूलो समस्या उत्पन्न गराउने हुँदा मस्तिष्कका स्नायुलाई सक्रिय बनाउन सामाजिक गतिविधिमा व्यस्त रहन सुझाव दिनुभयो ।