अनसन नै समस्याको समाधान होइन -राजेन्द्र पाण्डे

1683 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

rajendra pandeनयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिन माग गर्दै एकातिर डा. गोविन्द केसी अनसनमा हुनुहुन्छ, अर्कातिर सम्बन्धन नदिए तपाई संसदमै अनसन बस्छु भन्नुहुन्छ, कस्तो लडाईं हो यो ?
पहिलो कुरा त मैले अनसन बस्छु भनेकै छैन । अनसन नै समस्याको समाधान होइन । प्रत्येकले प्रत्येक ठाउँमा अनसन बस्दै जाने र माग राख्दै जाने कुरा उचित होइन । माग राख्न पाइन्छ । समाधानका उपाय पनि हुन्छन् । म त तपाईंहरुलाई नै प्रश्न गर्छु, राज्यले बनाऊ भनेर मनसाय पत्र दियो । त्यो मनसाय पत्र पनि काठमाण्डुमै बनाऊ भनेर दियो ।

त्यही मनसाय पत्रको आधारमा अरबौं रुपैया लगानी गरियो । शिक्षा मन्त्रालय, मेडिकल काउन्सिल, त्रिभुवन विश्वविद्यालय सबैले ‘इन्स्पेक्सन’ गरेर सिध्याएर ओके भइसकेपछि सम्बन्धन दिनु हँुदैन भनेर डा गोविन्द केसी अनसन बस्दैछन । अब केसीजीलाई नै सोध्नुस् किन मनमोहनकै विरुद्धमा उभिनु परेको हो ?

तपाईंले भने अनुसार मनमोहनकै विरुद्ध उहाँ उभिनुको कारण के होला त ?
यही त आश्चर्य छ । यो के हो भने, श्रद्धेय नेता मनामोहनका नाममा हामीले खोलेको यो संस्था सहकारी हो । यो अज्ञानतावश उहाँले यो सबै गरिरहनु भएको जस्तो लाग्छ । यसमा २४ सय मान्छे संलग्न छन् । एक–डेढ लाखका दरले २४ सय मान्छेबाट पैसा संकलन गरेर, बैंकसँग २ अर्व जति ऋण लिएर गरेको काम हो यो ।

यो कुनै दुई–चार जना व्यक्तिले कमाई गर्ने र तिनैले खाने, तिनैले ढलिमली गर्ने विषय होइन । सहकारीको माध्यमबाट हाम्रो देशमा भएको सबैभन्दा ठूलो काम नै यही हो । यस्तो कामको बारेमा नबुझेर पनि विरोध गरेका हुनसक्छन् ।

त्यसो हो भने, बुझाउने काम त तपाईं हरुकै होइन र ?
हामीले भनि रहेका छौं । अरु मेडिकल कलेजले भन्दा झण्डै १० लाखभन्दा पनि कममा हामी पढाउँछौं । गरिब जनताका छोराछोरीका लागि र मध्यम वर्गलाई लक्षित गरेर हामीले शिक्षा दिन्छौं । प्रत्येक वर्ष गरिब नेपालीका पाँच जना छोराछोरीलाई डाक्टर बनाएर कर्णाली अञ्चलका पाँच जिल्लामा सेवा दिन पठाउँछौं । यस्तो ढंगले नेपालमा स्वास्थ र शिक्षाको क्षेत्रमा सेवा दिने कोसिस गरेका छौं । तर, यो कोसिसलाई बक्रदृष्टि राखेर हेर्ने कुरालाई के भन्ने ?

तपाईहरुसँग भौतिक पुर्वाधार भए पनि चिकित्सक छैनन् भनेर आइएमओले प्रतिवेदन बुझाएको रहेछ त ?
गजब कुुरा यही आयो । मेडिकल कलेजको सम्बन्धन नभइकन डाक्टरहरु टनाटन भरिन्छन त ? हामीले सम्बन्धन प्राप्त गरेको चिठी हाम्रो हातमा परेको सात दिनभित्र हामीलाई चाहिने सबै डाक्टर तयार हुन्छन् । पहिले, तयार हुने त पुर्वाधार नै त हो नि । दुई वर्षदेखि सम्बन्धनको पर्खाइमा छांै, सम्बन्धन पाइएको छैन । अनि डाक्टर कहाँ हुन्छन् त ? दुई–दुई वर्षदेखि महिनाको २–२ लाख तलब दिएर प्राध्यापक, डाक्टर हामी राखिरहन सक्छौं ?
स्वास्थजस्तो मानीवय संवेदनशिलतासँग जोडिएको विषयमा राजनीतिकरण चाँहि किन भएको नि ?
कुनै राजनीतिकरण भएको छैन । मनमोहनजीको नाम जोडिदैंमा राजनीतिकरण हुने भए धरानको विपी अध्ययन प्रतिष्ठान के काँग्रेसको भर्तीकेन्द्र हो ? पार्टी कार्यालय हो त्यो ? त्यसो भए, गणेशमानको नाममा, महेन्द्रनारायण निधिको नाममा, गिरिजाप्रसाद कोइरालाका नाममा बनेका सबैलाई हामीले राजनीतिक ढंगले हेरौं त ?

प्रधानमन्त्रीले नै एमालेको दबावको कारण सम्बन्धन खोल्नु परेको बताउनु भएको छ, राजनीतिककरण त देखिइगयो नि ?
त्यो कुरा उहाँसँगै सोध्नुस् । यही राज्यले, नेपाल सरकार शिक्षा मन्त्रालयले मनसाय पत्र दियो । त्यही मनसाय पत्रका आधारमा हामीले बैंकसँग २ अर्बभन्दा बढी ऋण लियौं । सारा पुर्वाधार तयार गर्यौं, झण्डै चार अर्बको ‘प्रोपर्टी’ तयार पारेर फाइनल काम टुंगो लाग्ने बेलामा स्वयं प्रधानमन्त्रीले गत कात्तिकमा उहाँको कार्यलयबाट चिठी लेखेर ‘हाल सम्बन्धन रोक्नु’ भन्नुभयो । देशको प्रधानमन्त्रीले लगानी संरक्षणको जिम्मा बोक्ने हो कि लगानीलाई ध्वस्त बनाउने काम गर्ने हो ? आमजनताले ‘डिपोजिट’ गरेको पैसा ध्वस्त बनाउन पाईन्छ ?

यही कुरा प्रधानमन्त्रीलाई कि नभन्नु भएको त ?
मैले यो कुरा उहाँलाई भनेको छु । मैले यो कुरा भन्दा १ सय ४६ जना सभासद्ले समर्थन जनाउनुभयो । त्यही १ सय ४६ जना सभासद्को हस्ताक्षर राखेको कुरालाई सायद उहाँले एमालेको दबाब भन्नुभएको होला ।

अहिले विभिन्न पार्टीका नेताले डा. केसीको अनसनप्रति ऐक्यबद्धता जनाउने क्रम बढेको छ, उनी गलत नै थिए भने किन यस्तो हुन्थ्यो ?
त्यो त ऐक्यबद्धता जनाउनेहरुको विचारको कुरा हो । त्यसो भए, हामीले खोलेको मेडिकल कलेजको विरुद्धमा हो उहाँहरु ? कि त यो मेडिकल कलेज खोल्नु हुँदैन भन्नुपर्यो । सरकारमा काँग्रेस र हामी सँगै छौं । मेरो पनि भोटले प्रधानमन्त्री बन्नुभएको हो सुशील कोइराला । आज भएका मन्त्रीहरु हाम्रा पनि भोटले बनेका हुन् । प्रधानमन्त्रीले एकपक्षीय भएर फलानोको मेडिकल कलेज खोल्नुहुन्छ, फलानोको चाहिँ हुँदैन भन्न पाइन्छ कि पाइँदैन ? हाम्रो भनाइ यत्ति हो ।

तपाईंहरुका कुरा नसुने यो सरकारै ढल्छ पनि भनिसक्नुभयो प्रधानमन्त्रीले, राजनीतिकरण त भइसक्यो नि ?
पर्यो भने हुन्छ । यत्रो लगानी गरेको चीजलाई बेवास्ता गरेर ‘चल्नै दिनुहुन्न’ भन्ने कुरा गरिन्छ भने हामीले पनि आफ्नो तागत देखाउनु परेन ? यसै वर्ष काठमाण्डु विश्वविद्यालय अन्र्तगत दुईवटा मेडिकल कलेजले सम्बन्धन प्राप्त गरे । काठमाण्डुका दुईवटा मेडिकल कलेजले ५५–५५ सीट थप्न पाए ।

त्यतिबेला गोविन्द केसीलाई अनशन बस्नु परेन । मनमोहन आउन आँट्ने बित्तिकै अनशन बस्नु पर्यो । के छ रहस्य ? मनमोहनप्रति किन यत्रो ईश्र्या ? इष्र्याको राजनीति एउटा तलब खाने डाक्टरले गर्न पाईदैन । उहाँले साँच्चिकै राजनीति गर्न खोजेको हो भने त्यो पद छाडेर बाहिर आउनुपर्छ । त्यहाँ तलब खाने, बिमारी सुत्ने ओछ्यानमा आफू सुत्ने, सारा गाऊँबाट आएका गरिब बिमारीको उपचारमा भाँडभैलो मच्चाउने, अनि म चाहिँ तीन करोड नेपालीको स्वास्थमा ध्यान दिन्छु भन्ने ? उहाँ यसअघि पटक–पटक गरेर ३४दिन अनशन बस्नुभयो, जसका कारण थुप्रै मरे, त्यसको जिम्मा कसले लिने ? त्यो बेला झण्डै ९ करोड अस्पताललाई घाटा भयो, त्यसको जिम्मा कसले लिने ?

कसले लिने त ?
डा गोविन्द केसीले लिनुपर्छ । अस्पतालभित्र अनशन बस्न पाईदैन । बस्ने भए, खुलामञ्चमा आएर बसे भयो नि । बिमारी उपचार गर्ने ठाऊँमा अनशन बसेर पुरै अस्पताल बन्द गराउन पाईन्छ ?

मर्न तयार छु तर माग सम्बोधन नभएसम्म अनशन छाड्दिन भन्नुभएको छ, उहाँ मर्नुभयो भने चाहिँ त्यसको जिम्मा कसले लिने त ?
त्यो उहाँकै कुरा हो । दौडेर आएको मोटरमा गएर म ड्याम्म ठोकिन्छु भने के हुन्छ ? मेरो ज्यान जान्छ । अहिले उहाँलाई अनशन बस्नु भनेर कसले भन्यो ? जसले अनशन बसाएका छन् उनीहरुले नै जिम्मा बोकुन् न । हामीहरुलाई के मतलब ?

कसले बसाएको हो र ?
कसैले बसाएका होलान् । कसैले बसाईरा’छन् ।

प्रस्ट भन्नुस् न, को हुन् ती बसाउने ?
चलिरहेका मेडिकल कलेजहरु र नेपालबाट मेडिकल शिक्षाका लागि विद्यार्थी विदेश पठाउने ब्रोकरहरुले बसाएका हुन् । उहाँ तिनीहरुबाट संचालित हुनुहुन्छ । म दावा गरेर भन्छु, उहाँले होईन भन्ने कुनै ठाऊँ नै छैन । नेपालबाट हरेक वर्ष ५ हजार युवाहरु मेडिकल शिक्षा पढ्न विदेश जान्छन् । दशौं अर्व रुपैया नेपालबाट बाहिर जान्छ । त्यहाँ पढेर आउनेलाई भोली गोविन्द केसीले ‘तँ डाक्टर होइनस्’ भन्न पाउनुहुन्छ ? त्यहाँ पढेको चाहिँ गुणस्तरीय हुने रे, अनि नेपालमा पढेको चाहिँ गुणस्तरको हुनै सक्तैन भन्ने पनि कुरा हुन्छ ? अहिले नयाँ कलेजलाई सम्वन्धन नदिनु भनेको पुरानालाई महँगोमा पढाउ भनेको हो । ४० लाख रसिद काटेर लिन्छन् भने अर्को २५ लाख ब्याकडोरबाट लिन्छन् ।

गोविन्द केसीसँग राज्य नै हल्लाउने तागत त रहेछ नि, हैन ?
गोविन्द केसीसँग तागत होइन, उनलार्ई अगाडि सार्छन् र पर्दाभित्र बसेर अरुले भूमिका खेल्छन् ।

ज्यानकै बाजी राखेर कोही अरु कसैको मोहरा किन बन्छ र ?
कहिलेकाहिँ त्यस्तै हुन्छ । कोही मान्छेलाई प्रशंसा गरिदियो भने कोही प्रशंसा रुचाउने मान्छे पनि हुन्छन् । त्यहि होला । उहाँ त्यहाँ अनशन बस्नु भएको छ, म के भन्छु भने, अन्तरिक्षमा जानेले प्रेसर कुकर, दाल, चामल सबै लिएर गएको हुन्छ र ? तर उनीहरु ६–७ महिनासम्म त्यहाँ अनुसन्धान गरेर बस्छन् । पेटभरि के खाएर बाँचे होलान् ती ? आजकाल धेरै खानेकुरा बोक्नु पर्दैन । थोरै एउटा पेस्ट मुखमा हाल्यो भने पनि बाँचिन्छ । त्यस्तै चीज उहाँले स्लाईनवाट लगाएर बस्नुभएको छ । के को अनशन ? वाहियात कुरा प्रचार गरेर हुन्छ ? त्यो अनशन नै होइन । गोविन्द केसी एकान्तमा बस्नुभएको छ, त्यत्ति हो । म दावा गरेर भन्छु, त्यहाँ उनी खाएर बसेका छन् । स्लाइनबाट शरीरलाई चाहिने तत्व हालेपछि त्यही खएको भएन र ? त्यस्तो अनशन त १३ वर्षसम्म पनि बस्न सकिन्छ ।
उहाँको त बोसो पग्लेरे मात्र काम गरेको छ भन्ने कुरा बाहिर आएको थियो त ?
उहाँको शरिरमा बोसो कति थियो ? यो वाहियात कुरा हो । नेपाली जनतालाई भ्रम छर्ने कुरा हो ।

पुर्वाधार बनाऊँ, गुणस्तर देऊ भन्ने डा.केसीका माग पनि नाजायज त कहाँ छन् र ?
गुणस्तर देऊ भन्ने कुरा सय प्रतिशत नै जायज हो । अनि के नयाँ आउने चाहिँ गुणस्तर दिनै नसक्ने कलेजहरु हुन् त ? जो आउँदै नआई थाहा हुनछ कि यीनले गुणस्तर दिन सक्दैनन् त्यसैले आउँदै नआऊ । आमा को पेटमा जन्मन ठिक्क परेको बच्चालाई ‘तँ योग्य बन्न सक्दैनस्, देशको प्रधानमन्त्री बन्न सक्दैनस्, राम्रो डाक्टर बन्न सक्दैनस्, त्यसैले त्यहि बसिराख्’ भन्न मिल्छ ?

समस्या त देखियो, अब यसको समाधान के त ?
सामाधान त के र ? गोविन्द केसीले मागेका धेरै कुरा राज्यले दिईसक्यो । उहाँले अघिल्लो वर्ष ‘सिनियर मान्छेलाई डिन बनाईयोस्’ भन्नुभयो, बनाईदियो सरकारले । योग्य भनेर होईन सिनियर भनेर बनाइदियो । उहाँले नै एउटा कमिटी बनाउनु पर्यो, चिकित्सा क्षेत्रमा नयाँ राष्ट्रिय नीति चाहियो भन्नुभयो, पुर्वशिक्षा सचिव जयराम गिरीको संयोजकत्वमा कमिटी पनि बन्यो । त्यो कमिटीले सुझाव पनि दियो ।

मैले त्यही सोध्न खोजेको, गोविन्द केसीले जे माग्यो, त्यो राज्यले दिने भनेपछि उहाँ चाहिं को हुनुहुँदोरहेछ ?

एउटा मान्छे जहिले पनि म मरिदिन्छु भनेर घुर्की लगाउँछ र मर्न आट्यो भनेर चिच्याउनेहरुको एउटा जमात तयार हुन्छ । त्यही जमातले राष्ट्रलाई अन्धकारमा लैजाने गर्छ, यत्ति हो । मैले शब्दमा भन्नुपर्दा, गोविन्द केसी बिकास विरोधी मान्छे हो । नेपालको प्रगति नचाहाने मान्छे हो । विदेशी मेडिकल कलेज र नेपालमा अहिले भएका मेडिकल कलेजको एजेन्टको भुमिका निभाउने मान्छे हो । म उनलाई सम्मान गर्थे तर उनका क्रियाकलापले त्यही देखाएको छ ।
-प्रस्तुति/उज्जल पहाडी

-काठमाण्डु टुडे डट कमवाट