अष्ट्रेलियाद्वारा पाँचौँ पटक विश्वकप उपाधि कब्जा

689 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

98d399f7b73c3d1155782d6def525e66_L
मेलबर्न – कप्तान माइकल क्लार्कले आफ्नो अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ७४ रन बनाएपछि आइतबार निरश फाइनलमा न्युजिल्यान्डमाथि सात विकेटको जित दर्ता गराउँदै अस्ट्रेलिया पाँचौं पटक विश्वकप च्याम्पियन बनेको छ नागरिक न्यूज डट कमले खबर लेखेको छ ।
९३ हजार १३ दर्शकले खचाखच मेलबर्न त्रिकेट मैदानमा अस्ट्रेलियाले छिमेकी न्युजिल्यान्डलाई १ सय ८३ रनमा सीमित गरेर ३४ औं ओभरमा लक्ष्य हासिल गरेको थियो। फाइनलको अघिल्लो दिनमात्र एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका क्लार्कले तेस्रो विकेटका लागि स्टिभ स्मिथसँग १ सय १२ रनको साझेदारी गरे। क्लार्कले सन्यास लिएपछि एकदिवसीय टोलीमा कप्तानको जिम्मेवारी पाउने सर्वाधिक सम्भावना बोकेका स्मिथ ५६ रनमा अविजित रहे।

अस्ट्रेलियाको प्रभावशाली जितको आधार वायाँहाते तीब्र गतिका बलरत्रय मिचेल स्टार्क, जेम्स फल्कनर र मिचेल जोन्सनले तयार गरेका थिए। टस जितेर राम्रो पिचमा ब्याटिङ रोजेको न्युजिल्यान्डको इनिङ सस्तैमा खुम्च्याउने क्रममा यी तीनले आठ विकेट लिएका थिए। अस्ट्रेलियाको खतरनाक बलिङ आक्रमणसामू निरिह हुँदा न्युजिल्यान्डको पहिलो फाइनल अनुभव स्मरणलायक बन्न सकेन।

प्रेरणादायी कप्तान ब्रेन्डन म्याककलम इनिङको पाँचौं बलमा एकै रन बनाउन नसकी आउट भए भने आशा गरिएका कोरे एन्डरसन र ल्युक रोन्चीले पनि खाता खोल्न सकेनन्।

दक्षिण अफ्रिकामा जन्मेका ग्रान्ट इलियोट (८३) न्युजिल्यान्डका लागि सर्बाधिक रन बनाउने खेलाडी थिए। १३ औं ओभरमा ३–३९ को दयनीय अवस्थामा पुगिसकेको बेला उनले चौथो विकेटका लागि रस टेलर (४०) सँग १ सय ११ रनको साझेदारी गरेर इनिङ उकास्ने प्रयास गरेका थिए। मेलबर्न क्रिकेट मैदानमा कीर्तिमानी दर्शक उपस्थित भएको दिन न्युजिल्यान्डले पछिल्ला सात विकेट ३३ रनका लागि गुमाएको थियो।

१४ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनलसम्म पुग्दा न्युजिल्यान्ड एकमात्र अपराजित टोली थियो। समूह चरणमा अस्ट्रेलियामाथि हासिल गरेको एक विकेटको सनसनीपूर्ण जितसहित टोलीले लगातार आठ जित दर्ता गराएको थियो ।

अस्ट्रेलियाले यसअघि १९८७, १९९९, २००३ र २००७ मा विश्वकप उपाधि उचालेको थियो । खेलाडीका रुपमा दुई पटक विश्वकप उपाधि जितिसकेका प्रशिक्षक डारेन लेहम्यानले मैदान बाहिरबाट पनि त्यो सफलता हासिल गरे।

दोस्रो ओभरमा आरोन फिन्चलाई डकमै पवेलियन फर्काएर न्युजिल्यान्डले समूह चरणकै जस्तो नतिजा दोहो¥याउने आशा जगाएको थियो । ब्याट्सम्यानको ब्याट र प्याड हुँदै फर्केको बललाई ट्रेन्ट बोल्टले सहज क्याच लिएर न्युजिल्यान्डलाई पहिलो सफलता दिलाएका थिए । तर वायाँ हाते डेविड वार्नरले ४६ बलमा सात चौकासहित ४५ रन बनाउँने क्रममा स्मिथसँग दोस्रो विकेटका लागि ६१ रन जोडेर अस्ट्रेलियाको इनिङ लिकमा फर्काए । वार्नरलाई सिमर माट हेनरीले डिप स्क्वायर लेगमा इलियोटको हातबाट क्याच गराए ।

सिड्नीमा बिहीबार भारतविरुद्धको सेमिफाइनलमा सतक प्रहार गरेका स्मिथले उच्च फर्मलाई निरन्तरता दिँदै क्लार्कसँग मिलेर इनिङ सम्हाले । जितलाई ९ रनमात्र बाँकी रहेको बेला क्लार्कलाई हेनरीले बोल्ड गरे । टिमको पक्षमा विश्वकप उपाधि पक्का जस्तै गरिसकेपछि अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियबाट क्रिज छोड्ने क्रममा भावुक बनेका क्लार्कले ब्याट उठाउँदै पवेलियनसम्मको दुरी तय गरे । त्यसक्रममा सबै टिम सहयात्री तथा समर्थकले उठेर ताली बजाउँदै उनीप्रति सम्मान अर्पेका थिए ।

स्मिथले हेनरीको बललाई चौकाका लागि पुल गर्दै विजयी रन बटुले । लगत्तै स्ट्यान्डबाट क्लार्कसहितका अस्ट्रेलियन खेलाडी दौडिँदै मैदान छिरेर स्मिथलाई अंकमाल गरेका थिए ।

दुई विकेट लिएका स्टार्कसमान २२ विकेटका साथ न्युजिल्यान्डका बोल्टसँगै प्रतियोगिताको सर्बाधिक विकेट लिनेमा संयुक्त रुपमा अग्रस्थानमा रहे । न्युजिल्यान्डका मार्टिन गुप्टिलले १० रन जोडेपछि सर्बाधिक रन बनाउँनेमा श्रीलंकाका कुमार सांगाकाराको ५ सय ४१ रनलाई उछिने । तर उनले त्यसपछि ५ रनमात्र थप्न सके । वेस्ट इन्डिजविरुद्धको क्वार्टरफाइनलमा विश्वकपको कीर्तिमानी अविजित २ सय ३७ रन बनाएका अग्ला ओपनर ग्लेन म्याक्सवेलको दोस्रो बललाई कट गर्ने प्रयासमा बोल्ड भएका थिए ।

टेलर र इलियोटले बलियो साझेदारीमार्फत ३५ औं ओभरमा ब्याटिङ पावरप्ले सुरु हुँदा १५०–३ को अवस्थामा पुर्यापएर न्युजिल्यान्डको ठूलो स्कोर बन्ने सम्भावना जोगाएका थिए। तर पावरप्लेको पहिलो बलमै टेलरलाई फल्कनरले ब्राड हाडिनबाट क्याच गराएपछि न्युजिल्यान्डको पतन सुरु भयो । टोलीले त्यसपछि एन्डरसन र रोन्चीलाई पनि तत्काल गुमाउँदा एक रनका लागि तीन विकेट खेर फालेको थियो ।

दुवैले सेमिफाइनलमा विजय पाउँदाको टिममा कुनै परिवर्तन गरेका थिएनन्। सेमिफाइनलमा अस्ट्रेलियाले भारत तथा न्युजल्यिान्डले दक्षिण अफ्रिकालाई हराएका थिए।