२० हजार ऋणबाट थालेको व्यवसायबाट ८ करोडको मालिक

819 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ/एसएलसी दिनु अघिका भन्नु पर्ने खासै कुरा छैनन् उनीसँग । एउटा निम्न मध्यम वर्गिय परिवारमा जन्मेका उनको कथा आम निम्न मध्यम वर्गिय परिवारको कथा भन्दा भिन्न छैन । अर्थात समग्रमा एउटा सामान्य जिन्दगी । तर अहिले उनको कथा फेरिएको छ । एउटा सम्पन्न र सफल व्यवसायी । जोसँग सुनाइरहने लोभलाग्दा प्रगतिका थुप्रै कुराहरु छन् ।

कुरो २०४३ सालबाट सुरुभयो । एसएससी दिएर कमाउन भारत जाने पदचापलाई पछ्याए उनले पनि । उनी अर्थात धादिंगको चैनपुर गाविस ५ का राजाराम सिलवाल । एसएलसी दिएर फुर्सदिला भएका राजाराम कमाउन पुगे भारतको दिल्लीमा ।

Rajaram-Main

काम थियो होटलको वेटर । तलव जम्मा ५ सय भारु थियो । त्यो थोरै भएपनि टिप्स धेरै पाइने भएकाले कमाई नराम्रो थिएन । अर्थात राजाराम खुसी नै थिए आफ्नो कामबाट । त्यो कामले उनलाई दुईचार पैसा मात्र दिएन एउटा ठूलो सपना पनि त देखायो ।

६ तले भवन थियो होटलको । उनी त्यहि होटलको छैंटौं तल्लाको छतमा गएर खुल्ला आकाश हेर्दै कल्पना गर्थे आफू पनि कुनै दिन यस्तै होटलको मालिक भएको । अनी मनमनै अठोट गर्थे पक्कै लक्ष्यमा पुग्छु भनेर । तर बीचमै झ्याउलो आइलाग्यो । एकबर्षमैै उनी नेपाल फर्किए ।

नेपाल फर्केपछि त्यो सपना कुन कुनातिर थक्कियो । क्याम्पसको पढाइ अघि बढ्यो अनी सुरु भयो जागिरे जीवन । उनी गाउँकै सालवास प्राविको शिक्षक भए २०४६ सालमा ।

Rajaram 1

२०५१ सालसम्म प्रावि शिक्षक भएरै समय विताए उनले । जागिर जान्नथ्यो भनें सायद उनी गाउँकै कुनै विद्यालयमा शिक्षक हुन्थे होला । तर जागिर गयो उनको । समस्या लमतन्न भएर सुत्यो राजारामको अघिल्तिर । उनी २० हजार बोकेर छिरे काठमाडौंमा भाग्य अजमाउन ।

एउटा साथि थिए काठमाडौंमा दुःख जिलो गरिबसेका । उनैको कोठामा भाडा आधाआधा सहमतिमा उनी बसे । अनी सुरु गरे काठमाडौंको सडकमा खासाको व्यापार । एउटा शिक्षक मोजा, गञ्जी बेच्न थाल्यो । कुरो २०५१ सालकै हो ।

नयाँ कामले कमाई फिटिक्कै भएन । उल्टो खानेबस्ने खर्च समेत जुटाउन मुस्किल पर्दै गयो राजारामलाई । ‘साह्रै दिक्दार लाग्थ्यो, केहि गर्न सकिन्न कि क्या हो भनेजस्तो भयो’ उनी त्यो बेलाको कठिनाई सम्झिंदै थिए । उनलाई काठमाडौंमा दिन काट्नै मुस्किल पर्न थाल्यो ।

Rajaram 2

खासा व्यापारमा उनको केहि सीप चलेन । ‘जानिएन छ अहिले सम्झिंदा’ उनलाई लाग्छ- ‘५ सयको सामानलाई म ६ सय ५० भन्थें, दलाली गर्नेहरु २ सयमा उत्रिन्थे । तर खप्पिसहरु ५ सयको सामानलाई १५ सय भनेर ८ सयमा बेच्थे, त्यो काइदा मैले जान्दै जानिन ।’ अर्थात उनको व्यापार उँधो लागिरह्यो । २० हजार बोकेर व्यापार गर्न गएका राजारामको खल्ति रित्तियो, अव जसरी काठमाडौं छिरेका थिए, उसैगरी फर्किए उनी धादिंग ।

तर जहाँ समस्या त्यहाँ उपाय । कुरो २०५२ फागुनको हो । अव उनी धादिंगमा एउटा भात बेच्ने होटल खोल्ने निश्कर्षमा पुगे । २० हजार ऋण लिएर थाले सामान्य होटल । ‘झाप्रे होटल भनौं न’ उनी भन्दै गए । शिक्षा कार्यालयको आडैमा खोलेका थिए होटल ।

६० सालसम्म त्यहि होटल चलाए । भात खानेलाई सित्तैंमा सुत्न दिनुपथ्र्यो । झण्डै ९ बर्ष यसरी नै चलाए उनले व्यवसाय । यसमा उनकी श्रीमति तेजकुमारीले सहयोग गर्थिन् उनलाई । बालबच्चा हुर्किंदै पनि गए ।

२०६१ सालमा आएपछि भनें उनले अलिक ठूलै आँट गरे । केहि पैसा जम्मा पनि हुँदै थियो । त्यसैले उनले योजना बनाए एउटा अलिक गतिलो रेष्टुरेण्ट खोल्ने ।

Tejkumari

तँ चिता म पुर्याउँछु भनेजस्तै भयो राजारामको जीवनमा । त्यसपछि उनले पछि फर्केर हेर्नु परेन । कमाई बढ्यो । त्यहि कमाईले उनले २०६५ सालमा जग्गा जोडे । अनी घरको जग हाले आफ्नै होटलका लागि । यो काम २०६८ सालमा पुरा भयो । धादिंगमा एउटा सुविधासम्पन्न होटल खोले उनले जनजीविका ।

कसरी भयो त यो प्रगति ? ‘खै यसलाई कायापलट नै भन्ने होला’ उनी भन्छन्- ‘म आफैंलाई पनि आफ्नो विगत सम्झँदा अचम्म लाग्छ । मेरो संघर्ष र सिक्दै गर्दै जाने कुराले सायद यहाँसम्म ल्याईपुर्यायो होला’ उनी भन्छन् ।

२०५१ सालसम्म मासिक १५ सय तलव खाने र जागिर खुस्किएपछि २०५२ सालमा २० हजार ऋण गरेर व्यापार थाल्ने राजाराम आफ्नो प्रगतिको कुरा सुनाउँदै गए ।

केहि बर्ष अघिको हजारपति राजाराम अहिले कहाँ पुग्यो त ? मुस्कुराउँदै राजाराम भन्छन् अव त धेरैकरोडपति भयो उ ।हाल रहेको होटलको जग्गा उनले २०६५ सालमा ४० लाखमा खरिद गरेका हुन् । २ करोड ८० लाखमा भवन बनाए ।

छेउछाउमा अरु जग्गा थप्दै गएका छन् । बैैंकको केहि ऋण बाँकी नै छ । तर पनि आम्दानी दैनिक ३० हजार भन्दा बढी छ । अर्थात ८ करोडको सम्पत्ती पुर्याएका राजाराम अवका केहि बर्षभित्रै अझ ठूलो आर्थिक प्रगतिको सपना देखिरहेछन् ।

यसमा उनकी श्रीमति तेजकुमारीले होस्टेमा हैंसे गरिरहेकै छिन् । ‘आफूले पढ्न नपाएका कारण छोराछोरीलाई राम्रो पढाउनुपर्छ भन्ने हुटहुटीले श्रीमानलाई व्यवसायमा सघाउन पनि सकिन्छ भनेर धादिंगबेसी झरेकी म अहिले पनि विहान ६ बजेदेखि राती १० बजेसम्म खटिरहेकै छु’ राजारामको आडैमा बसेर उनका कुरा सुनिरहेकी तेजकुमारीले थपिन् ।

राजारामले २०४३ सालमा भारतको नयाँ दिल्लीमा होटलमा वेटर भएर काम गर्दा देखेको सपना अहिले पुरा भएको छ । ठ्याक्कै उनले अहिले त्यस्तै घर बनाएका छन् धादिंगमा । र, उनी आफ्नै होटलको छतमा उभिएर आकाश हेर्न सक्छन्, जुन उनले देखेको सपना थियो ।

-सुनिल न्यौपाने/देशपरदेश डट कमबाट