पृथ्वीराजमार्गमा पर्ने धादिङको धार्के र मझिमटारस्थित सवारी कर सङ्कलन केन्द्रमा अख्तियारको छापा

561 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङन्युज समाचारदाता
धादिङ,  २० जेठ। सडकको मर्मत सुधारलाई व्यवस्थित र नियमित बनाउने उद्देश्यले सवारी कर सङ्कलन गर्दै आएको भएपनी लामो समयदेखी त्यही कर संकलन केन्द्र  अनियमितताको केन्द्र बन्न पुगेको  जनगुनासो बढेपछी  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आईतबार पृथ्वीराजमार्गमा पर्ने  धादिङका धार्के र मझिमटारस्थित  सवारी कर सङ्कलन केन्द्रमा छापा मारेको छ।
पृथ्वी राजमार्गमा गुड्ने सवारी साधनहरूबाट सवारी दस्तुर सङ्कलन गर्ने ती केन्द्रहरूमा अनियमतिता भएको गुनासोका आधारमा आयोगले जेठ १९ गते  छापा मारेर रु १० लाख २६ हजार बरामद गरेको छ ।

आयोगले जारी गरेको विज्ञप्तिअनुसार धार्केस्थित सवारी कर सङ्कलन केन्द्र र सोही केन्द्र नजिक अवस्थित कर्मचारी आवासबाट उक्त रकमका साथै रसिदको अर्धकट्टी, बैंक भौचरको छायाप्रति, सवारीसाधन दर्ता पुस्तिका नियन्त्रणमा लिइएको छ। आयोगले सो सम्बन्धमा छानबिन अघि बढाएको पनि जनाएको छ।

केन्द्रमार्फत सडक बोर्ड र सडक डिभिजन कार्यालयले सडकको मर्मत सुधारलाई व्यवस्थित र नियमित बनाउने उद्देश्यले सवारी कर सङ्कलन गर्दै आएका छन्। केन्द्र मार्फत स्थानिय मोटरसाइकल सँग समेत जबरजस्ती कर उठाउने गरिएपनी सबै रकम बैंकमा दाखिला नहुनेगरेको,बिलहरु फर्जी बनाउने गरेको जनगुनासो रहेको छ् ।