त्रिपाल मागिरहेको गाउँ पुगेर फर्कँदा

900 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सुदर्शन खतिवडा

Sudarshan Khatiwadaम जन्मिएको घर काँक्रोजस्तै चिरिएको छ । ठाउँ ठाउँमा भित्ताहरुमा भूँडी निस्किएको छ, असमयमै गर्भवती भएजस्तै नसुहाउनेगरी । जे भए पनि मेरो घर त छ, जुन अहिलेसम्म ढलिसकेको छैन । तर म जन्मिएको, हुर्किएको र मैले माया विनिमय गर्न सिकेको प्यारो घर लगभग एम्बुसजस्तै मुख बाएर बसेको छ, जुन जतिबेला पनि ढल्नसक्छ र निल्नसक्छ भ्यागूताले जिब्रो फ्याँकेर किराहरु निलेजस्तै ।

म भारी मन बोकेर मेरा पाइतालाहरु घरबाट टाढा हुत्याउन थालेँ बलात् । तर पैतालाहरु टाढिएपनि मन टाढा बनाउन कहाँ सजिलो हुनेरहेछर ? सबैभन्दा प्रिय चिज गुमाउँदाको पिडाले नमज्जासँग गाँज्यो । घाइते बाघजस्तै छिमेकी गाउँहरु चहारेँ । तर बन्न सकिन कालो अरिंगाल, जो आफ्नो गोलो भत्काउन खोज्नेमाथि जाइलाग्छ । कति निरिह हुनेरहेछ मान्छे प्राकृतिक विपत्तिको सामू !

घरबाट छिमेकी गाउँहरु चहारेँ । भग्नावशेष बनेको छ गाउँ । धन्न मेरो घर उभिनसम्म त उभिइरहेको छ । तर गाउँका ८० प्रतिशत घरहरु ध्वस्त छ । अन्नपात पुरिएका छन् । बिस्तारै दुर्घन्ध फैलँदैछ कतिपय भत्नावशेषबाट जहाँ पशुहरु पुरिएका छन् । ८८ वर्षीय छिमेकी हजुरबा सोमनाथ खतिवडा ९० सालको भुईंचालो जाँदा ६ वर्षका थिए । उक्त भुईंचालोको उनलाई मात्र धमिलो याद छ । तर यो भुईंचालो जसले उनलाई आफ्नो बासस्थानबाट च्यातिएको प्लास्टिकले बेरिएको नयाँ घरमा लखेटेको छ । मेरो ६५ वर्षीय बुवा नयाँ घरमा पनि छिमेकी नै भएका छन् ।

गाउँमा बिजुली छैन, मोबाइलको नेटवर्क थिएन । आकाश कालो बादलले घेरेको थियो । गाउँ बसेर मैले केही पनि गर्न सक्ने थिइन । म काठमाडौं फर्किनुथियो । तर कसरी फर्किनु ? ढल्नको लागि अन्तिम धक्का कुरेर बसेको जिर्ण घरको छायाँमा लुटुपुटिएका वृद्ध बाआमाहरुलाई छाडेर । मेरो छ वर्षीय भतिज मेरो हात समातेर लुटृुपुटु भयो । गाउँका सबै आफन्तजन आशाको नजरले मलाई हेरिरहेका थिए ।

भूकम्पले जिर्ण बनेको मेरो बस्ती जुन लगभग भग्नावशेष बनेको छ र ढल्नको लागि अन्तिम धक्का वा केहीक्षणको भारी वर्षा कुरिरहेका केही कमजोर घरहरु लाठी हराएको वृद्धजस्तै बेसहारा देखिन्थे । ८८ वर्षीय छिमेकी हजुरबा प्लास्टिकको ओतमा रात बिताउँदा फुलेको पेट छामेर मलाई हेरिहेका थिए । क्षणभरमै मुसलधारे पानी बर्सनथाल्यो । म लागेँ काठमाडौंतिर भिज्दै भिज्दै । आखिर बसे पनि भिजिनेनै हो, ओत दिने मेरो बस्तीमा कुनै पनि संग्ला घरहरु नभएपछि, म २ घन्टा भिज्दै भिज्दै काठमाडौं फर्किएँ । आँखाबाट बगेका आँसु फिका नुनिलो लागे किनकी आँसुमा मुसल्धारे पानी मिसिएको थियो ।
काठमाडौं पुगेँ । गाउँको लागि के गर्न सकिन्छ ? सोच्न थालेँ । पेसा यस्तो रोजियो कि घरकै लागि केही गर्न सक्ने अवस्था छैन । झण्डै आधा देश भत्किएको छ । मान्छेका मनहरु भत्किएका छन् । कहाँबाट सुरु गर्ने ? फेसबुकमा ‘कल्लेरी–कुम्पूर इक्यू भिक्टिम सपोर्ट क्याम्पेन’ गु्रप क्रियट गरे । गाउँको अवस्था पोस्ट गरेँ । देशविदेशमा रहेका साथीहरुलाई सहयोगको लागि अपिल गरेँ ।

एकहप्तासम्म गाउँमा सरकार पुगेको थिएन । सरकार नपुगे पनि राज्य पुग्नुपर्छ । राज्यको महत्वपूर्ण हिस्सा नागरिक हो । हरेक नागरिकले यस्तो बेला सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ । आपतमा परेको बेला दुर्गम गाउँमा अभावले सेकिएका मान्छेहरुलाई सरकार कहिले पो उपलब्ध हुन्छर सजिलै ? अहिले त देश नै चौतर्फी समस्यामा छ । यस्तो बेला सरकारलाई गाली गरेर चिया पसल, चौतारी र सामाजिक सञ्जालहरुमा समय कटाउनुको म कुनै तुक देख्दिन ।

यो भूकम्पले ठूला ठूला घर भत्कायो, पहाड भत्कायो, हिमाल भत्कायो तर दलहरुभित्र जरा गाडेको संकिर्णताको पर्खाल अझै भत्काउन सकेको रहेनछ, मलाई यतिबेला भने यो विनाशकारी भूकम्प पनि निकै कमजोर लाग्यो !

पोखरामा रहेका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा साझापोस्ट डटकमका कार्यकारी निर्देशक रुद्र भट्ट दाइलाई फोन गरेँ । अन्नपूर्ण एफएमका सिइओ तथा त्यहाँका लोकप्रिय पत्रकार दिपेन्द्र श्रेष्ठ दाइसँग टेलिफोन संवाद भयो । वहाँहरुको संयोजनमा भोलिपल्टै प्याब्सन कास्कीको टोली आइपुग्नुभयो । प्याब्सनका पूर्व केन्द्रिय सदस्यहरु बाबुराम पन्त, विरबहादुर बुढाथोकी र सदस्य कृष्ण केसी, प्याब्सन कास्कीका मथुरा पौडेल र मिन गुरुङ सरहरुसँग कुम्पुरको परेवाटारबाट गाउँ छिरियो । कुम्पूर, कल्लेरी, सुनौलाबजार हुँदै सदरमुकाम नीलकण्ठसम्म जनता बारीका पाटामा भेटिए ।

छाँगेटार, आमडाँडा हुँदै घर्तीगाउँ पुगियो सबैको अवस्था उस्तै । मुलाबारीलाई टाढैबाट हेरियो, उस्तै बिजोग छ । तर जब माननीय सभासद गंगालाल तुलाधरको गाउँ, पोखरीगाउँ पुगियो, त्यहाँ त झन विकराल अवस्था रहेछ । एउटै घर पनि ठाडो छैनन् । वस्तुभाउ पुरिएर मरेका छन् । ३ जना मानवीय क्षति भएछ । केही घाइते भएका रहेछन् । खण्डहरमा परिणत भएका बस्तीमा जनता पाँचदिनदेखि खुला आकाशमुनि रात काटिरहेका रहेछन् । के वृद्धवृद्धा के केटाकेटी सबै नांगो आकाशमुनि । अन्नपात पुरिएका । पानीको हाहाकार । भोक, प्यास, निन्द्रासँगै प्रकृतिले दिएको आघातले रन्थनिएका स्थानीय सुकेका ओठहरु कमाउँदै बोल्न थाले । छिमेकी गाउँ जल्किनीका मनकारी दाजु लिला गुरुङले ७० बोरा चामल बाँडिसकेका रहेछन् । केही चाउचाउ र बिस्कुट पुगेको रहेछ । तर एक घन्टा तल हिँडेर पानी ल्याउनुपर्ने अवस्था, फुक्का चाउचाउ र बिस्कुट कसरी खानु ?
rahat-biraran-1-pokharigauस्थानीयहरु प्रकृतिले दिएको चोटभन्दा धेरै गुणाबेसी सरकारले दिएको चोटसँग रन्थनिएका रहेछन् । पूर्वमन्त्री तथा माननीय सभासद गंगालाल तुलाधरकी आफन्त एक दिदीले गुनासो गरिन्, ‘उनी त आएनन् जसको हामीसँग प्रत्यक्ष नाता छ, सरकार के आउँथ्यो ?’

स्थानीयको अनुरोधमा हामीसँग भएको त्रिपाल बाँडियो । भनिन्छ, जहाँ अभाव, त्यहाँ तनाव ! त्यस्तै भयो त्यहाँ । हामी भूकम्प र असिना पानीले ध्वस्त बनाएको अप्ठेरो सडकमा घिस्रिँदै मध्यरातमा धादिङबेसी पुग्यौं । त्यहाँ हाम्रो क्षेत्रका सभासद गुरु बुर्लाकोटीसँग भेटघाट भयो अनि भलाकुसारी पनि । सदरमुकाममा राहतका सामग्री थुप्रिएका छन् । राजनीतिक असमझदारी छ । सहयोगीहरुलाई कहाँ लैजाने ? कस्कोमा लैजानै माथापच्ची छ ।

पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुलीसँग भेट भयो । राहत वितरण र हेलिकप्टर चढ्ने प्रतिस्पर्धामा राजनीतिक अगुवाहरुको होडबाजीले मन अमिलो बनायो ।

यो भूकम्पले ठूला ठूला घर भत्कायो, पहाड भत्कायो, हिमाल भत्कायो तर दलहरुभित्र जरा गाडेको संकिर्णताको पर्खाल अझै भत्काउन सकेको रहेनछ, मलाई यतिबेला भने यो विनाशकारी भूकम्प पनि निकै कमजोर लाग्यो !

Pokhari Gau

भोलिपल्ट प्याब्सन टोलीको राहत सामग्री आइपुग्यो तर ढिलो गरी । परेवाटारबाट तीनवटा ट्याक्टर र एउटा ट्रकमा राहत सामग्री बोकेर कच्ची बाटो हुँदै गाउँ पुग्दा साँझको ६ बजिसकेको थियो । हुरी चलिरहेको थियो । पानी दर्किरहेको थियो । तर विनाशकारी भुईंचालोले थापरेको क्षति व्यहोरेका स्थानीय हुरी र पानीसँग अत्तालिएनन् । रातको ८ बजेसम्म गाउँ पुगेका प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटसहित एक दर्जन अगुवाहरु, कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्य, अग्रज पत्रकार दिपेन्द्र श्रेष्ठ, रुद्र भट्ट, आदर्श समाज दैनिक पोखराका नविन सिग्देल लगायत पाहुनाहरु हुरी र पानीको सामना गर्दै स्थानीयलाई राहत बाँड्न र दुःखसुख साट्न तल्लीन रहनुभयो ।

म स्थानीय । आमडाँडाबाट केदार भट्ट दाइले फोन गर्नुभयो, ‘बाबु हामी घरमा चारै जना अपांगता भएका । बारीको पाटामा छौं । एकथान त्रिपाल अझै आइपुगेन ।’ चिनेजानेका सबैले भिडबाट तानेर आफूलाई एकथान त्रिपाल दिन अनुरोध गर्नुभयो । तर हामीसँग त्रिपाल पर्याप्त थिएन ।

rahat bitaranमुलाबारीका एकजना वृद्ध बुवाले भन्नुभयो, बाबु खान त मागेर नि खाइन्थ्यो, तर राती ओतलाग्न एक थान त्रिपाल व्यवस्था गरिदेउ । विदेशिएका साथीहरुले पैसा उठाएर केही थान त्रिपाल मुलाबारी पुर्याएका छन् । अलि अलि अन्तबाट पनि आएको छ, तर त्यो पर्याप्त छैन । सबैको घर भत्किएका छन् । वर्षा सुरु हुनलाग्यो । भदौ असोज नभइकन घर बनाउन सकिने अवस्था छैन । सबैतिरबाट एकोहोरो ‘त्रिपाल त्रिपाल’ भनेको सुन्दै हामी फर्कियौं ।
Rahat bitaran 2
राहत वितरणको बाँकी काम स्थानीय साथीहरुलाई छाडेर मलेखु आइपुग्दा रातको ११ बजेको थियो ।

भोलिपल्ट सुकेको स्वरमा रुद्र दाइ र दिपेन्द्र सरले पोखराबाट फोन गुर्नभयो, हामी रातको तीन बजे पोखरा पुग्यौं ।

भोलिपल्ट मलेसिया रहेका साथी श्रीकृष्णले फोन गर्नुभयो, कुम्पूर खर्कतिर पनि उस्तै छ । लगत्तै पोखरीगाउँ र हटियाबाट फोन आयो, ‘रातभरी हुरि चल्यो । केही थान पाएका त्रिपाल पनि च्यातिए । हामी बर्बाद भयौं । त्रिपाल भन्दा जस्ता पो ठिक हो कि बाबु !’

घर ढुंगा, माटो र काठबाट मिलाइएको भौतिक वस्तु मात्र होइन रहेछ, घरसँग माया र एकताको प्रतिक पनि रहेछ । सँगै हुँदा भन्दा गुम्दा पो बुझिनेरहेछ महत्व ।

भूकम्पले अझै हल्लाइरहेको छ । बारीको पाटामा नांगो आकाशमूनि भोक, अभाव, रोग, पानी, चिसो र किरा फट्यांग्रासँग जनता कुस्ती खेलिरहेका छन् । आफन्त, सम्पत्ति र बासस्थान गुमेको पिडा त छँदैछ, त्यो भन्दा पनि बढी पिडा एकप्रकारको सरकारविहिनताले पैदा गरेको छ । त्रिपाल मागिरहेका मेरा प्रियजनहरुबाट मलाई भय छ, चिसो, किरा फट्यांग्रा, रोग, भोकसँग लडिरहेका उनीहरु अभिभावकविहिनताको उत्कर्षमा पुगेर सरकारसँग लड्न आउन बाध्य भए भने के होला ?

म त्रिपाल बोकेर त्रिपाल कुरिरहेका प्रिय मानिसहरु भेट्न जान चाहन्छु ।

-साझा पोष्ट डट कमवाट