१५ गाविस जोड्ने बाटो पहिरोले अवरुद्ध

606 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गोरखा, वैशाख २७ – भूकम्पसँगै मनास्लु पदमार्गमा पर्ने आरुघाट–सिर्दिवास खण्डमा खसेको पहिरोले १५ गाविस जोड्ने सडक अवरुद्ध भएको छ ।

दुई सातासम्म पहिरो हटाउन नसक्दा आवतजावत र अत्यावश्यक सामग्री ढुवानी गर्न अप्ठ्यारो भएको छ । लापु लिदिङको हावाडाँडादेखि उहिया तातोपानीसम्म धेरै ठाउँमा पहिरो खसेर बाटो अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आरुघाटले जनाएको छ । ‘दर्जनौ ठाउँमा पहिरो खसेको छ’, केरौंजा गाविसका पूर्वअध्यक्ष सुकबहादुर गुरुङ भने, ‘बाटो भासिएर मान्छे पनि हिंड्न नमिल्ने भएको छ ।’ निरन्तर ढुंगा खसिरहेकाले झनै जोखिम बढेको उनले बताए ।

थुमीको आर्खेत, लापुबेसी, गुम्दाको खानीबेसी, माछीखोला र तातोपानी हुँदै सिर्दिवासको जगत पुग्ने छोटो बाटो अवरुद्ध भएको हो । यसले गर्दा स्थानीयबासी थुमीको सोतीबाट मान्वुको धुन्चेत, काशीगाउँको यार्सा, केरौंजाको रुन्चेत, हुल्चोक र यारुबगर हुँदै लामो बाटो जगत सिर्दिवास निस्कने गरेका छन् । ‘एक दिनको बाटोमा तीन दिन लगाएर घुमेर जानुपर्छ,’ गुरुङले भने । पहिरोका कारण उहिया, मान्वु, काशीगाउँ, केरौंजा, सिर्दिवास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामागाउँ जोड्ने बाटो अवरुद्ध भएको हो ।

व्यवस्थित सडक संजालमा नजोडिएका ती गाविसमा भूकम्पअघि पनि खच्चडबाट गाउँलेलाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु ढुवानी हुने गरेको थियो । पहिरोपछि आउजाउ हुन नसकेको आरुघाटका प्रहरी निरीक्षक रवीन्द्र खनालले बताए । ‘गाउँलेले जान आउन सक्ने बाटो नै छैन,’ उनले भने, ‘हामी पनि नयाँ बाटो खोज्दै उद्धारका लागि ती गाविसमा पुगेका हौं ।’ वैकल्पिक रुटबाट यात्रा निकै कष्टकर भएको उनले बताए ।

पहिरोमा पुरिएकाको पनि उद्धार हुन नसकेको केरौंजाका धनप्रसाद गुरुङले बताए । उनले भने ‘पहिरोमा शवहरू छरिएका संकेत मिल्छन् । कसले झिक्ने ?’ मान्छे पनि हिंड्न मुस्किल बाटोबाट खच्चडले खाद्यान्न ढुवानी गर्न नसक्ने उनले बताए । ‘हेलिकप्टरले लगेका राहत सबै घरमा पुग्दैन,’ उनले भने, ‘सबैलाई भाग नपुग्ने सामान बाँडे गाँउमा झगडा मात्रै हुन्छ । नबाँडी राखेका छौं ।’ ‘राहतको १० बोरा चामल आएको छ,’ स्थानीय धनप्रसादले भने, ‘दुई सय घरधुरीलाई कसरी बाँड्ने ? राहत आयो, पुग्ने आएन ।’ सबै गाउँलेलाई भाग नपुगेपछि बाँडेको त्रिपाल पनि फिर्ता गरेको उनले बताए । ती गाविसका अधिकांश घर भूकम्पले भत्किएका छन् । गाउँले त्रिपालमा बास बसेको उनले बताए । केरौंजा गाविसका ७ सय ८५ घरधुरीमध्ये ३ घर मात्रै बाँकी रहेको सुकबहादुर गुरुङले बताए । ‘जमिन भासिएको छ,’ उनले भने, ‘पहाड चर्किएर भ्वाङ परेको छ ।’

तत्काललाई अति आवश्यक त्रिपाल, चामल, नुन, दाल पनि बाटोकै असुविधाले पुर्‍याउन नसकिएको गुरुङले बताए । बिजुली र फोन नहुँदा ती गाविस सम्पर्कविहीन भएका छन् । स्थानीय लघु जलविद्युत्, स्वास्थ्य चौकी, टेलिफोन टावर, गाविस भवन, मन्दिर, गुम्बा चर्च र सामुदायिक भवनमा पनि क्षति पुगेको सुकबहादुरले बताए । जिल्ला सुरक्षा समितिले दुई सय सेना र सशस्त्र प्रहरी परिचालन गरेर अवरुद्ध बाटो खुलाउने निर्णय गरे पनि काम सुरु हुन सकेको छैन । अवरुद्ध सिम्जुङ बालुवा–बारपाक सडक खण्ड सेनाले हटाउन सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी उद्धव तिमेल्सेनाले छिट्टै नेपाली सेनाको एक सयजनाको टोलीले बाटो खुलाउन थाल्ने जानकारी दिए ।

इ कान्तिपुर डट कमवाट